Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

किन नराख्ने पाठ्यक्रममै ट्राफिक शिक्षा ?

बुधबार, ०१ भदौ २०७३

भक्तपुर - भक्तपुरको जगातीस्थित वाइजल्याण्ड स्कुलकी कक्षा ९ की छात्रा लक्ष्मी बस्नेतले मोटरसाइकल दुर्घटना आफ्नै अगाडि देखिन् ।

च्याम्हासिँहबाट सूर्यविनायकतर्फ गइरहेको एक मोटर साइकलले सडकमा हिँडिरहेका एक बटुवालाई जगाती चोकमा दिउँसो सवा ४ बजे हानेको दृष्य देखेकी उनले उक्त घटना हुनुमा मोटरसाइकल चालक र बटुवा दुबैको दोष देखिन् ।

‘बाइकले मान्छे हानेपछि मलाई ज्यादै नराम्रो लाग्यो’, ट्राफिक चेतना सम्बन्धी भक्तपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी उनले भनिन्, ‘ट्राफिक नियम बारेमा थोरैमात्र जानकारी भएको भए त्यस्तो घटना नहुने थियो कि ?’

छात्रा बस्नेतको उक्त कुरामा कार्यक्रममा सहाभागी अन्य आफ्ना सहपाठी, अरु विद्यालयका विद्यार्थी, शिक्षक तथा ट्राफिक प्रहरीहरु समेत सहमत भए ।

त्यस्तै ट्राफिक नियम बारेमा अभिमुखीकरण हुने शिक्षकबाट थाहा भएपछि चाँगुनारायण नपा १३ दुवाकोटकी दीपना प्रधान पनि सहभागी भएको बताउँदै सडक दुर्घटना कम गर्न विद्यार्थीलाई जानकारी चाहिने बताइन् । ‘म अहिले एभरेष्ट स्कुलको कक्षा ८ मा पढ्छु, तर मलाई अहिलेसम्म ट्राफिक नियमबारेमा त्यति धेरै थाहा छैन ।’  आफूलाई जेब्रा क्रसिङ, ट्राफिक लाइट र स्काइब्रिजबारे थाहा भए पनि तिनीहरुको बारेमा धेरै थाहा नभएको उनको भनाइ छ ।

‘हामी जस्तो पढिरहेकालाई त ट्राफिक नियम बारेमा त्यति धेरै थाहा छैन, भने हाम्रो देशमा पढ्न नपाएका धेरै मानिसहरु छन्, उनीहरुलाई कसरी थाहा हुन्छ ?’ उनको प्रश्न छ ।
विद्यार्थी, ट्रक चालक, परिचालकलगायतलाई लक्षित गरी भक्तपुर ट्रक व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा ट्राफिक नियमबारेमा महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रकाश अर्यालले कक्षा लिँदै सडक दुर्घटना न्यूनीकरणकालागि विद्यालय तहबाटै ट्राफिक ज्ञान दिन पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।

‘सबै देशको पाठ्यक्रममा ट्राफिक नियमबारेमा पढाइन्छ, पाठ्यक्रममै समावेश गरिएको छ तर हामीकहाँ भने राखिएको छैन, यही कारण दैनिक सडक दुर्घटना भइरहेका छन् ।’ उनले भने ।

उनले सडक दुर्घटनाको कारण प्रत्येक वर्ष दुईहजार जनाको अकालमा ज्यान जाँदा पनि नयाँ पुस्ता र विद्यार्थीलाई जानकारी दिन पाठ्यक्रममा नराखेपछि ट्राफिक आफैले विद्यालय विद्यालयमा गएर सोबारेमा जानकारी दिने काम गरिरहेको पनि बताए । दैनिक रुपमा सडक दुर्घटनाबाट मानिसहरुले अकालमा ज्यान गुमाएको खबर सुन्नुपर्दा निक्कै दुःख लागेको बताउँदै पाठ्यक्रममा समावेश गर्नका लागि शिक्षा मन्त्रालय र सरकारले चासो नराखेको बताए ।

उनले मात्र नभएर डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख इञ्जिनियर देबेन्द्र शाहले पनि सिंगापुर सरकारले पनि ट्राफिक शिक्षालाई पाठ्यक्रममा राखेको उल्लेख गर्दै भने, ‘सिंगापुरका हरेक स्कुलहरुमा ट्राफिक शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको छ, हामीकहाँ पनि पाठ्यक्रममा राख्नु अनिवार्य भइसकेको छ ।’

कार्यक्रममा सांसद प्रेम सुवाल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण बज्राचार्य, आयोजक समितिका अध्यक्ष महेन्द्र खायमलीले पनि ट्राफिक शिक्षालाई पाठ्यक्रममा समावेश नभएसम्म सडक दुर्घटनामा न्यूनीकरण नहुने चर्चा गर्दै पाठ्यक्रममा समावेश गर्न माग गरेका थिए ।

प्रकाशित मिति २०७३ भदौ १ गते

प्रतिक्रिया