Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

विनि नै चिन्दैनन् शिक्षक : विनि देखाउँछन् शिक्षक, शिक्षक भन्छन् विनिको दोष

बुधबार, ०१ भदौ २०७३

- हरिसुन्दर छुकां / काठमाडौं–जिल्ला शिक्षा कार्यालय भक्तपुरको प्रशासन फाँटको एक कोठामा बसेर अवकासका लागि आवश्यक कागजात मिलाउँदै गरेकी शिक्षक सुशिलादेवी साखले ‘विनि भनेको के हो ?’ भनेर सोध्दा प्रशासन फाँटका फणिन्द्र दाहाल अवाक भए, र एक छिन पछि सोधे, ‘तपाइँलाई साँच्चै विनि भनेको पनि थाहा छैन ? जवाफमा उनले नचिनेको भावमा टाउको हल्लाइन् !

‘शिक्षकको पेशागत विकासको मेरुदण्ड’ नै मानिन्छ विनिलाई  । विनिविना कुनै पनि शिक्षकको पेशागत विकास सम्भव छैन । तर, केही दिन पछि नै अवकास पाउने ‘लिष्ट’ मा रहेकी शिक्षक साखले भने विनि नचिन्दै अवकास पाउने भएकी छिन् । जबकि उनले पढाउँदै आएको श्रीपद्म उच्च माध्यमिक विद्यालय र जिल्ला शिक्षा कार्यालयको दूरी पैदलै हिँड्ने हो भने पनि ५ मिनेटमा पुगिन्छ । अझ उनकै विद्यालय स्रोत केन्द्र पनि हो ।

‘माथिको यो घटनाले देशभरका विद्यालय निरीक्षक अर्थात् विनि काम गर्दैनन्, अनुगमन गर्दैनन् भन्ने अर्थ लाग्छ’, विनि भनेको के हो ? भन्ने प्रश्न गर्नुको अर्थबारे प्रष्ट्याउँदै भक्तपुर जिशिकाका विनि विमल निरौलाले भने । उनले प्रत्येक शिक्षकले विनिलाई अनिवार्य रुपमा चिन्नुपर्नेमा नचिन्नुमा शिक्षककै दोष रहेको आरोप लगाए ।

देशको राजधानी भित्र त यस्तो अवस्था छ भने दूर दराजका जिल्लाहरुको अवस्था कस्तो होला ? भन्ने सहजै अनुमान गर्न कुनै गा¥हो छैन । राजधानीसँगै जोडिएको काभ्रेको अवस्था पनि अछुतो नरहेको शिक्षकहरु बताउँछन् ।
काभ्रेको आदर्श उमावि स्रोतकेन्द्र अन्तर्गत रहेको गंगादेवी मावि, रविओपीका शिक्षक रामशरण देउजा पनि विद्यालय निरीक्षक नचिनेको बताउँछन् । विद्यालय निरीक्षकहरु विद्यालय आउने क्रम निकै कम भएकोले हातमा गन्न सक्ने शिक्षकहरुले मात्र विनि चिन्ने गरेकोे बताए ।

‘वर्षमा मुस्किलले एक पटक आउँछन् विनि, अनि कसरी चिन्नु ?, त्यसमाथि हामी शिक्षकसँग भन्दा पनि प्रअसँग बढी भेटघाट गर्छन् ।’ प्रति प्रश्न सँगै उनको पनि गुनासो छ ।

काठमाडौं जिल्ला शिक्षा कार्यालयका विनि सुदर्शन रिजालले भने विनिहरुले आफूले गर्नुपर्ने काम गरिरहेको तर पनि कामलाई ‘जस’ नदिने प्रवृत्तिका कारण शिक्षकहरुले त्यस किसिमको धारणा राखेको बताउँछन् । ‘भन्नेले त भन्छन् नै तर हामी विनिहरुको पनि बाध्यता के छ भने एउटै व्यक्तिले ५०/५५ वटा स्कुल हेर्नुपर्छ, सँधै एउटै स्कुलमा गइरहन मिल्दैन र सकिँदैन पनि, त्यही कारणले गुनासो आएको हो ।’ उनले थपे ।

एक विनिले शिक्षकले कक्षा कोठामा गरेको शिक्षण क्रियाकलापको निरीक्षण, शिक्षकको कार्य सम्पादन र उसको वृत्ति विकासका लागि आवश्यक सुझाव दिने मात्र नभएर शिक्षक तथा विद्यालयको अनुगमन र निरीक्षणको काम गर्नुपर्छ तर अधिकांश विद्यालय निरीक्षकहरु भने विद्यालयको अनुगमनको सट्टा विभिन्न खालका कार्यक्रम र गोष्ठीहरुमा मात्र सहभागी हुने चलन बढेको शिक्षकहरु बताउँछन् ।

विनिको यस्तो जिम्मेवारी रहे पनि अधिकांश विनिहरु भने विद्यालयको सट्टा प्रशासनिक काम भन्दै शिक्षा कार्यालयहरुमै झुम्मिने स्वभावका रहेको प्रअहरुको भनाइ छ । ‘विनि आउने भनेको विद्यालयको कुनै विशेष कार्यक्रमहरुमा मात्र हो, अरु बेला विनि हामीकहाँ होइन, हामी चाहिँ विनिको मा जानुपर्ने बाध्यता छ ।’ काभ्रे सांगाको महेन्द्र उमाविका प्राचार्य नरेन्द्र पाठकले भने ।

यस सम्बन्धमा भक्तपुरका विनि निरौलाले शिक्षक आफैंले पनि विनि को हो भन्ने चिन्नु जरुरी रहेकोमा जोड दिए । ‘तर हामीकहाँ भने विनिदेखि शिक्षकहरु टाढा–टाढा भाग्ने प्रवृत्ति छ ।’ शिक्षकप्रति उनको गुनासो छ ।
‘विनि नै नचिन्ने शिक्षकले के गरी अध्यापन गराइरहे होला ? शिक्षक प्रति शंका गर्नुपर्ने अवस्था आएको छ ।’ उनले थपे ।

प्रकाशित मिति २०७३ भदौ १ गते

प्रतिक्रिया