Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

पुस्तकालयका बहुमूल्य पुस्तक जोखिममा

बुधबार, ०१ भदौ २०७३

काठमाडौं १ भदौ / घामपानीले झुत्रो बनाइसकेको नाम मात्रको त्रिपाल । त्रिपालमुनि राखिएका डेस्क र बेञ्चमा पत्रपत्रिका र एकाध पुस्तक अध्ययन गरिररहेका छन् केही पाठक ।

सको बाँयातर्फ रंग फिक्का भइसकेको फ्लेक्सको सानो पर्दामा लेखिएको छ– केशर पुस्तकालय, केशरमहल । यसलाई नाघेर भवनभित्र पस्न खोज्दा कार्यालय सहयोगी ‘भित्र केही छैन, बाहिरै बसेर पढ्नुस्’ भन्दै अनुरोध गर्छन् ।
पुस्तकालय बन्द भए पनि पत्रपत्रिका अध्ययन गर्नेहरू दिनहुँजसो जान्छन् । पुस्तकालयको बाहिरी वातावरण एउटा सरकारी कार्यालय हो भन्ने जस्तो छँदैछैन ।

झाडी र अन्य सरसफाइ नगर्नाले पुस्तकालय वातावरणसमेत बसाइँ हिँडेपछिको घरजस्तै देखिन्छ । विद्वत् वर्गहरूका लागि तीर्थस्थल मानिने यो पुस्तकालयको दुर्दशा देखेर जो कोहीलाई पनि दुःख लाग्दछ ।

ऐतिहासिक, पुरातात्विक, राजनीतिक, धार्मिकलगायत करिब ६० हजार पुस्तक भएको ‘आफैंमा ऐतिहासिक’ केशर पुस्तकालयको गत वर्षको भूकम्पले क्षति पुगे पनि अझैसम्म पुनर्निर्माण सुरु नहुँदा पुस्तक संरक्षणको जोखिम बढेको छ  ।

जसको असर दैनिक रूपमा पुस्तकालयमा गएर पढ्ने पाठकलाई त परेको छ नै, वर्षौं पुराना पुस्तकको संरक्षण हुन नसक्दा भावी पुस्ताले अध्ययन गर्न पाउँलान् कि नपाउँलान् भन्ने चिन्ता पनि उत्तिकै छ ।

पुस्तकालयको भुइँतलामा सेता बोराभित्र कोचेर राखिएका पुस्तकहरू जीर्ण बनेका छन् । पहिलो र दोस्रो तलाको र्‌याकमा व्यवस्थित तबरले राखिएका पुस्तक भूकम्पपछि बोरामा राख्दा ओसिएकोले जीर्ण भएका हुन् । भवनमा पानी चुहिँदा बोरासमेत भिजेका छन् । कुनैको पाना, कुनै गातासमेत च्यातिएको पुस्तकालयकी प्रशासन अधिकृत सावित्रीकुमारी हाडा बताउँछिन् । विश्वमा कतै नभएको पुस्तकसमेत ‘बन्द’ बोरामा राख्नुपर्दा मन अमिलो भएको उनले बताइन् ।

‘युनेस्कोको मेमोरीे अफ द वल्र्ड रजिष्टर’मा सूचीकृत दुईमध्ये एक पुस्तक केशर पुस्तकालयमा रहेको पुस्तकालयकी पूर्वप्रमुख जानकी कर्माचार्य बताउँछिन् ।

युनेस्कोले सन् २०१३ मा केशर पुस्तकालयको ‘सुश्रुतासंहिता’ र राष्ट्रिय अभिलेखालयमा रहेको  ‘निश्वासतत्वसंहिता’ लाई सूचीकृत गरेको कर्माचार्य बताउँछिन् । दुवै पुस्तक ९ औं शताब्दीका हुन् । “त्यस्तो अमूल्य निधि अहिले कुन बोरामा छ थाहा छैन,” हाडाले भनिन्, “बोरामा पोको पार्दा पुस्तकको आयु घटेको छ ।” पाठकहरू पुस्तकालय कहिले खुल्छ भनी सोध्छन् ? तर, पुस्तकालय अनुत्तरित छ ।

१५ जना कर्मचारीले रुँघेर बसेको भीमकाय केशर पुस्तकालय १५ महिनायता भूतबंगला जस्तै बने पनि सरकारले समयमा पुनर्निर्माण गर्न चासो नदिएको पुस्तकालयमा भेटिएकी नयाँबजारकी विमला बानियाँले बताइन् ।
देशभरका पुस्तकालयहरूको संरक्षण, संर्वद्धन गर्ने जिम्मेवारी पाएको शिक्षा मन्त्रालयको पुस्तकालय समन्वय शाखा भने केशर पुस्तकालय भूकम्पपछि ‘समन्वय गर्न नआएको’ बताउँछ ।

भूकम्पपछि केशरले समन्वय नगरेको आरोप शाखा प्रमुख उपसचिव उपेन्द्रप्रसाद मैनालीले लगाए । “मैले पनि भर्खरै अुनगमन गरें,” उनले भने, “खुला गरेर राख्नु पर्ने चिजलाई बन्द गर्दा सबै सड्ने खतरा छ ।” शाखाबाट फाइल सम्बन्धित फाँट तथा निकायमा पठाउनु पर्नेमा आपूmहरूसम्म नआएको मैनाली बताउँछन् ।

“हामीकहाँ नआए पनि शायद उहाँहरूले कामअघि बढाउनु भएको छ कि !” उनले भने । मन्त्रालयले केशरलगायत राष्ट्रिय र कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालय पुनर्निर्माणको लागि युनेस्कोसँग लबिङ गरिसकेको छ । युनेस्कोले बजेटसमेत विनियोजन गरेको भन्ने जानकारी आइसकेको शाखाले जानकारी दियो । नेपालमा अहिलेसम्म पुस्तकालय ऐन तथा नियमावली बन्न नसक्दा देशभरका पुस्तकालयको उचित संरक्षण हुन नसकेको मैनाली बताउँछन् । “अहिलेसम्म ऐन छैन, पुस्तकालयहरू फुटबल बनेका छन्, जसले मन लाग्यो उसले हान्ने भएको छ” उनी आक्रोश पोख्छन् । भर्खरै आएको नयाँ शिक्षा ऐनले पनि पुस्तकालयसम्बन्धी उच्चारणसमेत गरेको देखिदैन ।

उता, प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सय वर्ष पुराना भौतिक सम्पत्ति पुरातात्विक महत्वको हुने भएकाले तिनको पुनर्निर्माण गर्दा पुरातत्व विभागको स्वीकृति तथा समन्वय चाहिने विभाग पुरातत्वविद् प्रकाश खड्का बताउँछन् ।

केशर पुस्तकालय पनि यही ऐनअनुसार विभागले संरक्षण र संर्वद्धन गर्ने खड्काले बताए । शिक्षा मन्त्रालयको ध्यान विद्यालयहरू पुनर्निर्माणमा र पुरातत्व विभागको ध्यान मन्दिरहरू पुनर्निर्माणमा जाँदा केशर पुस्तकालय दुवैतिरको चेपुवामा परेको छ । प्रशस्तै जग्गा हुँदासमेत यो बीचमा अस्थायी भवन बनाएर पुस्तकालय सुचारु गर्न  सरकारले ध्यान नदिनु विडम्बना हो ।

३४ रोपनी क्षेत्रफलसहितको पुस्तकालयमा अन्डरग्राउन्ड, भुइँसमेत दुई तला रहेको छ । यो भवन आफैंमा राष्ट्रको अमूल्य निधि रहेको पुरातत्वविद् रोहित रञ्जित बताउँछन् ।

“यो महत्वपूर्ण सम्पत्ति हो,” रञ्जित भन्छन्, “यसको स्ट्रक्चरल ड्यामेज (संरचनागत क्षति) भएको हो ।” सन् १८९५ मा चन्द्र शमशेरले छोरा केशर शमशेरलाई युरोपियन शैलीमा बनाइदिएको इँटा र मोर्टारले बनेको ३९ इञ्च पर्खालको पुरानो र बलियो भवन भूकम्पले नढाले पनि भुइँतलाबाहेक कुनै पनि तला काम नलाग्ने बनाएको हाडाले बताइन् ।

यही भवनमा रहेको सम्पत्ति शुद्धीकरण जोखिमका कारण अन्यत्र गएपछि त्यस स्थानमा पुस्तकालयको कार्यालय जसोतसो चलेको उनले बताइन् । सहरी विकास विभागले गत वर्ष असुरक्षित पहिचान गरेको  केशर पुस्तकालय पुनर्निर्माण गर्दा नयाँ बन्ला कि रेट्रोफिट मात्रै होला भन्ने चासोको विषय बनेको छ ।

कारोबारमा भगवान खनालले लेखेको खबर ।

प्रतिक्रिया