Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

नेविसङ्घको नेतृत्व चयन आज

बुधबार, ०१ भदौ २०७३

काठमाडौं १ भदौ / नेपाल विद्यार्थी सङ्घको अध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन्  ।

बुधबार बिहान ७ बजेबाट मतदान सुरु गर्ने कार्यक्रम छ ।  निर्वाचन काँग्रेस पार्टी कार्यालय सानेपामा हुनेछ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा नैनसिंह महर, शुभराम बस्नेत, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, पदमराज पन्त, नगेन्द्रसिंह ठकुरी र वचन कार्कीले उम्मेदवारी दिएका छन् । 
त्यस्तै महमन्त्रीमा कुन्दन काफ्ले, सरोज थापा, दीपक भट्टराई, हिमाल श्रेष्ठलगायत पाँचजनाको उम्मेदवारी परेको छ ।

महाधिवेशन लम्बिएका कारण खर्च घटाउन तथा नतिजा छिटोछरितो बनाउन सङ्घको निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ ।  निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले मतदानमा ४० वटा विद्युतीय मेसिन प्रयोग हुने जानकारी दिनुभयो ।  निर्वाचन समितिले बुधबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा मतदान कार्यक्रम राखेको छ ।  महाधिवेशनमा मतदानका लागि तीन हजार सात सय ६० प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ ।

सङ्घको अध्यक्ष एक, उपाध्यक्ष ११, महामन्त्री दुई, सहमहामन्त्री १३, कोषाध्यक्ष एक र १०१ जना केन्द्रीय सदस्यको चयन निर्वाचनबाट हुनेछ ।  १५१ सदस्यीय कार्यसमितिमध्ये १२९ जना मतदानबाट र बाँकी मनोनीत हुनेछन् ।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा मतदानबाट चुनिने १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको छ ।  कोषाध्यक्षमा शिव रिमाल, रमिता गिरीलगायत चारजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका उम्मेदवार महर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला निकटका साझा उम्मेदवार हुन् भने आचार्य र त्रिपाठी वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन् ।  अर्का उम्मेदवार बस्नेतले आफू खुमबहादुर खड्का निकट भएको दाबी गरेका छन् ।

दुई महामन्त्री पदका लागि पाँचजना र एक कोषाध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिका संयोजक खरेलले जानकारी दिनुभएको हो  ।

प्रतिनिधि छनोटको विवादका कारण महाधिवेशन उद्घाटन भएको नवौँ दिनपछि बन्दसत्र कार्यक्रम सञ्चालन नै नगरी उम्मेदवारी दर्ता भएको हो ।  नौ वर्षपछि आयोजित नेविसङ्घको महाधिवेशन काँग्रेस सभापति शेरबहादुर देउवाले २३ गते भृकुटीमण्डपमा उद्घाटन गर्नुभएको थियो ।

गोरखापत्रमा खबर छ । 

प्रतिक्रिया