Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

बन्द हड्तालले आजितहरु सन्तान पढाउन ताक्दै छन् भारत

मंगलबार, ३२ साउन २०७३

- सञ्जय पन्थी / नयाँ दिल्ली - राजनीतिक कारणबाट नेपालमा हुने शैक्षिक हड्ताल तथा बन्दले हैरान भएपछि आफ्ना सन्तानलाई भारतका विभिन्न विद्यालयमा पढाउन आउने अभिभवकको संख्या क्रमशः बढ्दै गएको छ । सिमा राज्यका शैक्षिक संस्था र राजधानी दिल्लीका विद्यालयहरुमा नेपाली अभिभावकहरु आफ्ना सन्तान पढाउन गराउन आउने गरेका हुन् ।

दुई दिने विद्यालय बन्दले संविधान बनेपनि नेपालको शैक्षिक अवस्थामा सुधार नआउने संकेत देखा परेको दिल्लीका नेपाल जानकारहरुको विश्लेषण छ ।  दिल्लीमा सिए अध्ययनरत बर्दियाका प्रकाश भटराई नेपालको शिक्षा व्यापार र राजनीति दुबैले ग्रसित बनाएको बताउँछन् । त्यसैले काठमाडौमा अध्ययनको अवसर हुँदा हुँदै पनि अध्ययनका लागि दिल्ली हानिएको उनको भनाई छ । नेपालमा बन्द हड्तालका कारण आजित भएका पहुँच वाला अभिभावकले आफ्ना सन्तान दिल्ली र देहरादुनका विद्यालयमा राखेर पढाईरहेको अनुभव उनले सुनाए ।

नेपालमा गरिने बन्द हड्ताल र जवरजस्ती लिईने शुल्क यसको मुख्य कारण भएको उनको बुझाई छ । त्यसले गर्दा यहाँ सम्पर्क सुत्र हुने अभिभावकले त्यही खर्चमा सन्तानलाई यताका शैक्षिक संस्थामा अध्ययन गराउन लालयित हुने गरेको उनी बताउँछन् । खास गरी विद्यालय तहको शिक्षाका लागि देहरादुन, नैनीताल, दार्जलिङ् र कालिङ्पोङ्मा पठाउने क्रम बढेको छ ।

परिवारबाट सानै उमेरमा अलग्गिएर बस्नु पर्दा विद्यार्थीको पीडा एकातिर छ भने अर्कातिर बाल मनोविज्ञानमा मातृभुमीको राष्ट्रियता र सांस्कृतिक रिती रिवाज प्रति नकारात्मक छाप समेत पर्ने गरेको छ । भारतकै राष्ट्रिय गान रमहात्मा गान्धी राष्ट्रपिता भन्दे हुने अध्ययन ले नेपाली विद्यार्थीमा पार्ने प्रभावका बारेमा कसले चासो राख्ने ? अन्य शैक्षिक सामाग्री पनि भारतीय अनुसार नै पढ्नु पर्ने हुन्छ । त्यसले बाल मस्तिष्कमा पर्ने असरको जिम्मेवारी कस्ले लिने ? खास गरी शैक्षिक बन्द हड्तालको दुरगामी असर बारे बन्द कर्ताले सोच्न नसक्दा यस्ता दिर्घकालिन असरबाट नेपाली विद्यार्थी मारमा परेका छन् ।

आफ्नै घरको मिठो मसिनो खुराक खुवाएर आफ्नो काखमा सन्तान पढाउने चाहना हुँदाहुदै अनावश्यक बन्द हड्तालका कारण भारतमा सम्पर्क हुने र पहुँच भएका अभिभावकले आफ्ना सन्तान अध्ययन अध्यापन गराउन यहाँका विद्यालय तथा क्याम्पसमा पढाउन बाध्य हुने गरेका छन् । राजधानीमा शैक्षिक संस्था संचालन गरेका अभिभावककका सन्तान पनि भारतमा बोडर्स राखेर पढाएको विमल घिमिरे बताउँछन् ।

नोएडाका शैक्षिक संस्थामा नेपाली विद्यार्थी उल्लेख्य मात्रमा रहेको घिमिरे बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा राजधानी काठमाडौंमा शैक्षिक संस्था सञ्चालन गर्ने एक अभिभावकले भने - 'म आफै स्कुल चलाउँछु तर यहाँ अन्योल बाताबरणका कारण मैले आफ्नो एक सन्तानलाई देहरादुनको स्कुलमा राखेर पढाईरहेको छु ।'

सल्लाह माग्नेलाई आफ्नो गच्छेले धान्ने भए र भारतका राम्रा शैक्षिक संस्थाामा सम्पर्क छ, भने उतै पढाउँदा केही नविग्रने सल्लाह दिने गरेको उनले बताए । उनले भने नेपालमा भुरे टाकुरे पार्टीको पहिलो निशाना नै शैक्षिक संस्था बन्ने गरेका छन् । अस्त व्यस्त अवस्थाले नेपालको शिक्षा र भबिष्य अन्योल ग्रस्त रहेको उनको भनाई छ ।

पछिल्लो समयमा दिल्ली र देहरादुनका विद्यालय तहमा नेपाली विद्यार्थिको चाप कम भएपनि नेपालमा शुरु भएको आकस्मिक बन्द संस्कृतिले फेरी चाप बढ्ने विद्यालय सञ्चालकको अनुमान छ । नेपालका आफन्तले आफ्ना सन्तान भर्ना गर्न बारम्बार फोन सम्पर्क र भेटमा आग्रह गर्ने गरेको नेपालकी चेली समेत रहेकी देहरादुनकी एक विद्यालय सञ्चालिका बताउँछिन् । उनी भन्छिन् - 'साना बालबालिकालाई आफ्ना अभिभावकसँग टाढा राख्नु राम्रो त हैन । तर पनि नेपालका अभिभावक बाध्य भएर यहाँ अध्ययनका लागि ल्याउने गर्छन् ।'

राजधानी कै रोजवर्ड स्कुलमा आफ्नो सन्तान अध्यापन गराईरहेकी एक अभिभावक पनि  बन्द हड्तालबाट आजित भएर भारतमै सन्तान पढाउने विचारमा पुगेको बताउँछिन् ।  त्यसैले कुनै राम्रो स्कुल सञ्चालकसँग सम्पर्क भए जानकारी पाउँ भन्दै दिल्लीका आफन्तलाई खबर गरेको कलावती बस्नेतले सुनाईन । नेपालको बन्द हड्तालले व्यवसायिक रुपमा भारतका निजी विद्यालयहरुको व्यापारमा बृद्धि हुने गरेको उनको अनुभव छ ।

भारत अध्ययन गराउने अभिभावकले सिबिआई बोर्ड अन्र्तगतका विद्यालय रोज्ने गरेको बस्नेत बताउँछिन् । साथै उनीहरुले आफ्ना सन्तानलाई वोर्डस राखेर अध्ययन गराउने गरेका उनले जानकारी गराईन् । उनले भनिन् यहाँ रहेका आफन्त चिनजानका आधारमा मात्र यहाँका विद्यालयहरुमा नेपाली विद्यार्थी तथा अभिभावकको पहुँच पुग्ने गरेको छ । सम्पर्क सुत्र नभएका अभिभावकका सन्तान यहाँ विद्यालयहरुले भर्ना नलिने गरेको उनी बताउँछिन् ।
काम विशेषले लखनउ आई पुगेका एन प्याब्सन कपिलवस्तुका पूर्व अध्यक्ष मनोज श्रीवास्तव आकस्मिक रुपमा विद्यालय बन्दले नेपाली शिक्षा क्षेत्र र आगामी पुस्ताको भविष्य माथि खेलवाड भएको बताउँछन् । राजनीतिक स्वार्थका लागि पटक पटक गरिने बन्दले गर्दा अभिभावकले भारतका शैक्षिक संस्थाामा आफ्ना सन्तान पढाउन बाध्य हुने गरेको उनले बताए । यो अवस्थाको अन्त नभएसम्म नेपालको शिक्षामा सुधार र गुणस्तर कायम हुन नसक्ने उनको ठोकुवा छ ।

यो पनि पढ्नुहोस्: आफ्नो स्कुल जान कहिले सम्म ताक्ने अर्काको मुख ?

जहाँ बन्दमा पनि खुल्छन् विद्यालय, कहाँबाट आउँछ हिम्मत ?

प्रकाशित मिति २०७३ साउन ३२ गते

प्रतिक्रिया