Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

नेविसङ्घको चुनाव बुधबार

मंगलबार, ३२ साउन २०७३

काठमाडौं ३२ साउन/नेपाल विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुने भएको छ ।

मङ्गलबार हुने भनिएको निर्वाचन प्रक्रिया प्राविधिक कारणले बुधबार गरिनेभएको हो ।  महाधिवेशन प्रतिनिधि थपघट विवादका कारण अवरुद्ध हँुदै आएको निर्वाचन प्रक्रिया नेपाली काँग्रेसका  सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीचको सहमतिअनुसार एक दिनपछि सारिएको हो ।

जारी ११ औँ महाधिवेशनमा सभापति देउवा र नेता सिटौला पक्षबीच औपचारिक रूपमा नै सहकार्य गरिएको छ ।  सोअनुसार सङ्घको अध्यक्षका लागि नैनसिंह महर र महामन्त्रीमा कुन्दनराज काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।  त्यसैगरी, शुभराम बस्नेत र सरोज थापाले अध्यक्ष र महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  यी उम्मेदवार सभापति देउवासँग निकट छन् ।

वरिष्ठ नेता पौडेल पक्षधर विद्यार्थीहरूबीच अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने विषयमा सहमति हुन सकेको छैन ।  विद्यार्थी नेता दीपक भट्टराई र मनोजमणि आचार्यमध्येबाट एक जनाले अध्यक्षमा उम्मेदवारी दिने सम्भावना रहेको नेताहरूले जनाएका छन् ।  सहमतिमा सम्भवतः एक जनाले अध्यक्ष र अर्कोले महामन्त्रीमा उम्मेदवारी दिन सक्ने नेविसङ्घका प्रवक्ता युपी लामिछानेले बताउनुभयो ।  उम्मेदवार दर्ता बिहान १० बजेसम्म गरिसक्नुपर्नेछ । 
पौडेल पक्षधर विद्यार्थीले थपघट गरिएका प्रतिनिधिहरूका विषयमा विवाद देखिएका कारण सोमबार उम्मेदवारी दर्ता नगरेको बताएका छन् ।  उनीहरूले भागबन्डामा परेका प्रतिनिधिहरूको प्रतिनिधित्व विवादरहित ढङ्गले हुनुपर्ने बताएका छन् ।  सभापतिका प्रत्याशी विद्यार्थी नेता दीपक भट्टराईले आफूहरू विधिवत् महाधिवेशनको पक्षमा रहेको उल्लेख गर्नुभयो ।  निर्वाचनबाटै नेतृत्वको चयन गरिनुपर्ने उहाँको भनाइ छ ।

अर्का विद्यार्थी नेता लेखनाथ पोखरेलले नेताहरूबीचको सहमतिअनुसार नै बुधबारका लागि निर्वाचन मिति तय गरिएको बताउनुभयो ।  उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको सङ्ख्या तीन हजार ७९० प्रतिनिधि टुङ्गो लागेको छ ।  विवादको अन्तिम किनारा लगाउन अझै प्रतिनिधि थपिन सक्ने उहाँले बताउनुभयो ।  नेताहरूले नेविसङ्घको निर्वाचनलाई आफ्नो प्रतिष्ठाको लडाइँ बनाएको आरोप विद्यार्थी नेताले लगाएका छन् ।  महाधिवेशनलाई कब्जा गर्ने कुराको आफूहरू विपक्षमा रहेको पोखरेल भनाइ छ ।  महामन्त्रीका उम्मेदवार कुन्दन काफ्लेले विद्यार्थीहरू विवादले अधिवेशनको निर्वाचन लम्बिएको आरोप लगाउनुभयो ।

गोरखापत्रमा खबर छ । 

प्रतिक्रिया