Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

अत्तो पत्तो छैन ६७ हजार शिक्षकको !

सोमबार, ३१ साउन २०७३

काठमाडौं - हरेक आर्थिक बर्षमा आफ्नो सम्पत्ति बिवरण नबुझाउने शिक्षकको बानीमा यस बर्ष पनि परिवर्तन आउने छाँट देखिएको छैन । आर्थिक बर्ष शुरु भएको मितिले ६० दिन भित्र शिक्षक किताबखानामा अनिवार्य रुपमा सम्पत्ति बिवरण बुझाउनु पर्ने ब्यवस्था छ । तर साउन महिना सकिन एक दिन बाँकी रहँदा सम्म २ हजार ८ सय ६३ जना शिक्षकले मात्रै आफ्नो विवरण बुझाएको किताबखानाले जनाएको छ ।

सामुदायिक विद्यालयमा पढाउने शिक्षकको दरबन्दी एक लाख सात हजार आठ सय ६० भए पनि किताव खानामा ७० हजार शिक्षकको मात्रै अभिलेख छ । कतिपय शिक्षक अवकास भएका र कतिपय शिक्षकको निधन भएका कारण यो संख्यामा तलमाथी भैरहने किताबखानाले जनाएको छ ।

जतिनै तलमाथि भएपनि यो संख्याले समाजका गन्यमान्य र अगुवा भनेर चिनिएका शिक्षकनै कानून पालनामा कमजोर भएको पुष्टि गरेको छ ।

सम्पत्ति बिवरण बुझाउने म्याद भदौ २८ सम्म भए पनि अहिले सम्मको संख्या हेर्दा उत्सहमी हुनु पर्ने अवस्था नभएको किताबखानामा महानिर्देशक शेरबहादुर ढुङ्गााले बताए ।

बिवरण बुझाउन आलटाल गर्ने शिक्षकको संख्या बर्षेनी बढ्दो छ । आर्थिक बर्ष २०६८/६९ मा ८ हजार १ सय शिक्षकले बिबरण बुझाएका थिएनन् भने गत आर्थिक बर्षमा यो संख्या बढेर ९ हजार ४ सय ८७ पुगेको थियो ।
शिक्षकले आफैं आएर वा आफन्त मार्फत् समेत उक्त बिवरण बुझाउन सक्ने भए पनि शिक्षकले मन्त्रालयकै संरचना अनुसार विद्यालय, विद्यालय निरिक्षक, जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय हुँदै केन्द्रमा पठाउने गर्दा यस्तो भएको हुन सक्ने उनको अड्कल छ ।

भ्रष्टाचार निबारण ऐन २०५९ ले विबरण नबुझाउने शिक्षकले प्रतिबर्ष ५ हजार रुपैंया जरिवाना तिर्नु पर्ने ब्यवस्था गरेको छ । ऐन लागू भए देखि अर्थात् १४ बर्ष देखिनै बिवरण नबुझाउने शिक्षकलाई प्रतिबर्षका दरले लाग्ने जरिवाना रकम कसरी असुल उपर गर्ने भन्ने बारेमा निर्देशन माग गर्दै किताब खानाले मन्त्रालय र राष्ट्रिय सर्तकता केन्द्रमा पत्राचार गरेको ढुङ्गानाले बताए ।

यस अघि सिटरोल नै नभरेका शिक्षकको बिवरण राख्न नसकिने भएकाले सबै शिक्षकलाई सिटरोल अनिवार्य भर्न उनको आग्रह छ ।

शिक्षक किताबखानामा स्थायी शिक्षकको मात्रै विवरण संकलन हुन्छ । अस्थायी तथा करार र अन्य पदका शिक्षकको बिवरण भने सम्बन्धित जिल्ला शिक्षा कार्यालय मार्फत् मन्त्रालयमा पठाईने ब्यवस्था छ ।
सार्वजनिक पदमा बहाल हुने ब्यक्तिले आफ्नो आर्थिक पारदर्शिता तथा पेशागत शुसासनका लागि आफूसंग भएको सम्पत्तिको विवरण बुझाउने ब्यवस्था गरिएको हो । कितावखानाले तोकेको ढाँचामा खामको बाहिर पट्टी नाम, थर, पद र संकेत नम्बर लेखेर खामबन्दी गरेर बुझाउनु पर्ने हुन्छ ।

यो पनि पढ्नुहोस् :  शिक्षकलाई ६० दिने मौका, बिवरण बुझाउने की जरिवाना तिर्ने ?

प्रकाशित मिति २०७३ साउन ३१ गते

प्रतिक्रिया