Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

जहाँ बन्दमा पनि खुल्छन् विद्यालय, कहाँबाट आउँछ हिम्मत ?

सोमबार, ३१ साउन २०७३

- हरिसुन्दर छुकां / भक्तपुर– रश्मिला तामाङ अहिले भक्तपुरको विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्छिन् । उनले यहाँ पढ्न थालेको दुई वर्ष भयो । यस भन्दा अघि उनी आफ्नो जन्मघर काभ्रेको बनेपामा पढ्थिन् । दैनिक ज्याला गरेर गुजारा गर्ने उनका आमाबुवा कामको सिलसिलामा भक्तपुर आएपछि उनी पनि भक्तपुर आइन र विद्यार्थी निकेतनमा भर्ना भइन् ।

‘हाम्रो उता कहिले के कहिले के बिदा र बन्द भइरहन्थ्यो, यता बिदा र बन्द नै हुँदैन’ उनले भनिन्, ‘यता पढ्न पाउँदा खुसी लागेको छ ।’ उनलाई सोमबार विप्लव माओवादी निकट विद्यार्थीले गरेको बन्दका बारेमा थाहै छैन ।

‘उता भए सरहरुले नै भोलि फलानोले बन्द गरेको स्कुल आउनु पर्दैन भन्नुहुन्थ्यो, यता भने बन्दमा पनि विद्यालय खुल्छ, स्कुल आउनुपर्छ भनेर सर मिसहरु भन्नुहुन्छ ।’ उनले थपिन् ।
उनले उता कक्षा ७ सम्म पढ्दा आफ्नो पढाइ त्यति नराम्रो भएको र यता भक्तपुरमा पढ्न थालेपछि भने सुधार हुँदै आइरहेको पनि बताइन् ।

उनले विद्यालय शान्ति क्षेत्र भन्ने गरेको सुन्ने गरे पनि कसरी शान्ति क्षेत्र हुने भन्ने बारेमा थाहा नभएको जनाउँदै विद्यार्थी पढ्ने स्कुल कुनै पनि कारणले बन्द हुन नहुने बताइन् ।

भक्तपुरका जिशिअ अर्जुनबहादुर रायमाझी पनि बन्दको बेलामा पनि विद्यालय निर्बाध चल्ने गरेकोबाट छक्क परेको बताउँछन् । भक्तपुर आउनु अघि ‘जस्तोसुकै बन्दमा पनि भक्तपुरमा विद्यालय खुल्छन्’ भन्ने सुनेको र अहिले भने अनुभवै गर्न पाउँदा यो अभ्यास सबैले अनुकरण गर्न सके राम्रो हुने उनले बताए ।

‘भक्तपुरको यो प्रयास दमदार लाग्यो, विद्यालय बन्द गर्ने कुप्रथाका व्यक्तिहरुलाई भक्तपुर राम्रो उदाहरण हो, भक्तपुरबाट धेरैले सिक्नुपर्छ ।’ उनले भने ।

विद्यार्थी तामाङ र जिशिअ रायमाझीले भनेजस्तै सोमबार विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले गरेको शैक्षिक हड्तालको असर राजधानी काठमाडौं, ललितपुरमा उल्लेख्य मात्रामा परे पनि भक्तपुरमा भने त्यसको असर नै परेन ।

‘निजी स्कुल, निजी कलेज, मेडिकल र इञ्जिनियरिङ कलेजहरुले वृद्धि गरेको चर्को शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य र मनोरञ्जन लगायतमा ५० प्रतिशत विद्यार्थी छुट र सहुलियत लागू गराउन, शिक्षामा निजीकरण,व्यापारिकरण, दलालीकरण, माफियाकरणको अन्त्य गराउन र २० प्रतिशत छात्रवृत्ति सुनिश्चित गराउन’ लगायतका माग राखी शैक्षिक हड्ताल गरिएके हो ।

जसका कारण विद्यार्थी पढाईबाट बञ्चित हुनु परेको भन्दै आलोचना समेत हुँदै आएको छ ।

पढ्नुहोस् : आफ्नो स्कुल जान कहिले सम्म ताक्ने अर्काको मुख ?

बन्दमा पनि भक्तपुरमा निर्बाध पठनपाठन भएको यो पहिलो पटक भने होइन । भक्तपुरमा जुनसुकै हड्तालमा पनि विद्यालय बन्द हुँदैनन् ।

‘जुनसुकै कारण र जस्तासुकै ‘क्रान्तिकारी’ भन्ने पार्टी र संगठनले बन्द गरे पनि हामी कहिल्यै पनि स्कुल बन्द गर्दैनौं ।’ भक्तपुरको व्यासीस्थित होली गार्डेन सेकेण्डरी स्कुलका प्रिन्सिपल प्रेमजन थापाले भने । संस्थागत विद्यालय संघ नेपाल (इसान)का अध्यक्ष समेत रहेका उनले इसानमा रहेका सबै विद्यालय सञ्चालनमा रहेको बताए । इशानमा अहिले ३० वटा स्कुल सदस्यका रुपमा रहेका छन् ।

इशान अन्तर्गतको विद्यालय मात्र नभएर भक्तपुरमै रहेको संयुक्त परीक्षा समितिका १५, प्रावि तथा निमावि समितिका १५, प्याव्सन तथा एन प्याव्सनअन्तर्गतका करिब दुई दर्जन स्कुल, सामुहिक परीक्षा समितिका १२ स्कुलहरु निर्बाध तवरले सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय भक्तपुरको भनाइ छ ।

कहाँबाट आउँछ बन्दमा विद्यालय खुलाउने हिम्मत ?

हड्ताल आह्वान गर्ने विद्यार्थी संगठनको माउ पार्टि देखि संगठनका जिल्ला संरचना भक्तपुरमा पनि छ । तर उनीहरुले आह्वान गरेको शैक्षिक हड्तालको प्रभाव विद्यालयमा परेको छैन । विद्यार्थी नेता एकराज डाँगी नेमकिपा समर्थित विद्यालयहरु मात्र खुलेको दावी गर्छन् । तर, पछिल्लो समयमा जुनसुकै उद्देश्य र प्रयोजनमा हुने नेपाल बन्द, उपत्यका बन्द, शैक्षिक संस्था बन्दमा पनि भक्तपुरमा भने विद्यालय खुल्ने संस्कृतिको विकास भएको छ । यही संस्कृतिले गर्दा बन्दमा पनि विद्यालय खुल्ने गरेको शिक्षक र अभिभावकहरु बताउँछन् ।

‘पहिला–पहिला नेपाल मजदुर किसान पार्टी निकटका व्यक्तिहरुले सञ्चालन गरेका स्कूलहरु मात्र खुल्ने गरेकोमा अहिले भने अन्य पार्टी र विचार निकटका व्यक्तिहरुले सञ्चालन गरेका स्कुलहरु पनि धमाधम खुल्न थालेका छ्न् ।’ अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष मनिरत्न बज्रााचार्यले भने ।

विद्यार्थीको अधिकारलाई सम्मान गर्नुपर्छ भन्ने धारणाले नै बन्दमा पनि विद्यालय खोल्नुपर्छ भन्ने भावनाको विकास भएको वागीश्वरी उमाविका सहप्राचार्य ज्ञानसागर प्रजापति बताउँछन् । नयाँ पुस्तालाई विद्यालय नियमित सञ्चालन गरेर नयाँ संस्कार सिकाउनु जरुरी भएको उनी ठान्छन् । ‘भक्तपुरमा बन्दमा पनि विद्यालय खुल्ने संस्कृति विकास भएको छ। शैक्षिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा अगाडि बढेका देशमा विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको छ । जस्तोसुकै गृहयुद्धको अवस्था आए पनि ती देशमा विद्यालय बन्द हुन्न । हामीले मात्र किन बन्द गर्ने ? उनको प्रतिप्रश्न छ ।

बन्दका बेला विद्यालय खुल्नुमा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको समन्वय मुख्य कारण भएको बताउँछन् निजी विद्यालय सञ्चालकहरु । प्याव्सन भक्तपुर अध्यक्ष राजकुमार महर्जन र एनप्याव्सनका जिबी खड्का दुवैको एक मत छ ‘अभिभावकले साथ दिएको खण्डमा बन्दमा पनि विद्यालय खोल्न सकिन्छ, पढाउन सकिन्छ ।’ 

बासु उमाविकी प्राचार्य अम्बिका न्याइच्याईंले आफ्नो हक र अधिकारको नाममा गर्ने शैक्षिक क्षेत्र बन्दबाट बाल अधिकारको हनन् भएको बताउँछिन् । विद्यालय बन्द गराउँदा शिक्षा आर्जन गर्ने अधिकारबाट विद्यार्थी बञ्चित हुने हुँदा बन्दमा पनि विद्यालय सञ्चालन गरेको उनी बताउँछिन् । पञ्चकन्या मावि सुडालका प्रअ सन्तराम दुलालले बालबालिकालाई देवता र शिक्षकलाई पुजारीको संज्ञा दिँदै जोखिम मोलेरै भए पनि विद्यालय नियमित रुपले सञ्चालन गरिरहेको बताए ।

प्रकाशित मिति २०७३ साउन ३१

प्रतिक्रिया