Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

अझै पाएनन् विद्यार्थीले ग्रेडसिट

सोमबार, ३१ साउन २०७३

काठमाडौं ३१ साउन / त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागहरूमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीअनुसार कक्षा सुरु भएर चार सेमेस्टर पूरा भइसकेको छ । तर, अहिलेसम्म विद्यार्थीले ग्रेडसिट पाउन सकेका छैनन् । वार्षिक प्रणालीमा शैक्षिकस्तर कमजोर भएको भन्दै सुरु गरिएको सेमेस्टरमा समयमै परीक्षा नहुने र नतिजा पनि आउन सकेको छैन ।

मानविकी संकायका विद्यार्थी आक्रोशित
चार सेमेस्टर सकिादासम्म कुनै सर्टिफिकेट नपाउँदा मानविकी संकायका विद्यार्थी आक्रोशित भएका छन् । अंग्रेजी विषयमा स्नातकोत्तर सकेका पुष्पराज भारतीले प्रश्न गरे, ‘हामीले मास्टर्स डिग्रीको चार सेमेस्टर सकेका छौा, तर अहिलेसम्म कुनै सर्टिफिकेट पाएका छैनौा, यो कस्तो प्रणाली हो ?’

सेमेस्टर प्रणालीमा सञ्चालन भएका प्राय: सबै संकायको सबै विषयको नतिजा सार्वजनिक गर्न ढिलाइ हुने गरेको छ । एमए पत्रकारिता विषयको गत ४ वैशाखमा परीक्षा सकिएको थियो, तर झन्डै चार महिनामा २८ साउनमा नतिजा आयो । अरू विषयमा पनि यस्तै अवस्था छ ।

व्यवस्थित हुन सकेन सेमेस्टर प्रणाली
सेमेस्टर प्रणाली राम्रो भए पनि व्यवस्थित गर्न नसक्दा त्रिवि आलोचित बन्दै गएको छ । पूर्वाधार विकास नगरी सेमेस्टर प्रणाली सुरु गरिएका कारण समयमै नतिजा आउन ढिलाइ भएको हो । जसका कारण चार सेमेस्टर सकिादा पनि विद्यार्थीले सर्टिफिकेट देख्न नपाएका हुन् । विद्यार्थीले सबै विषयको एकमुष्ट नतिजा हेरेर चित्त बुझाउनुपरेको छ । सेमेस्टर प्रणलीको परीक्षादेखि नतिजासम्मको काम डिन कार्यालयले गर्ने गरेको छ । त्रिवि उपकुलपति प्रा.डा. तीर्थ खनियाँले विद्यार्थीले सर्टिफिकेट नपाएको कुरा आफूलाई नै थाहा नभएको बताए । कुन संकायको कुन विषयको विद्यार्थीले नपाएका हुन्, आफूले डिनसाग कुरा गरेर तत्काल सर्टिफिकेट दिलाउने उपकुलपति खनियााले बताए ।

सफ्टवेयरमा गडबडी भएको दाबी
त्रिवि मानविकी संकायका डिन प्रा.डा. चिन्तामणि पोखरेलले सफ्टवेयरमा गडबडी आएका कारण समस्या भएको बताए । उनले अब सबै सेमेस्टरको सर्टिफिकेट विद्यार्थीले पाउने जानकारी दिए । उनले पहिलो सेमेस्टरको प्रिन्ट गरेर विभागहरूमा पठाएको र अरू पनि छिटै पठाउने बताए । मानविकीमा अहिलेसम्म आठवटा विषयको मात्र चौथो सेमेस्टरको नतिजा सार्वजनिक भएको छ । बाँकी विषयको एक सातामा नतिजा सार्वजनिक गरिसक्ने उनको भनाइ छ । प्राध्यापकहरूले उत्तरपुस्तिका परीक्षणमा ढिलाइ गरेका कारण नतिजा ढिला हुने गरेको उनले बताए ।

शिक्षाशास्त्र संकायको डिन कार्यालयले भने सुरुदेखि पहिलो सेमेस्टरदेखि ग्रेडसिट उपलब्ध गराउन थालेको हो । शिक्षाशास्त्र संकायका निमित्त डिन नेत्रप्रसाद धितालले विद्यार्थीले ग्रेडसिट सुरुदेखि नै पाएको र अब ट्रान्सकिप्ट दिने तयारी भइरहेको बताए ।

पूर्वाधार तयार गर्न सुझाब
त्रिविले आगामी वर्षदेखि उपत्यकाका विभिन्न आंगिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्न खोजेको छ । त्यसका लागि भौतिक र शैक्षिक रूपमै पूर्वाधार विकास गर्नुपर्ने सुझाब दिइएको छ । त्रिवि मानविकी तथा सामाजिक संकायको डिन कार्यालयले स्नातकोत्तर तहमा उपत्यकामा आगामी शैक्षिक सत्रदेखि सेमेस्टर कार्यक्रम लागू गर्न गठन गरेको अध्ययन समितिले स्थलगत अध्ययन गरी भौतिक र जनशक्ति विकास गर्न सुझाब दिएको हो ।
त्रिविअन्तर्गत उपत्यकाका क्याम्पसहरूमा सेमेस्टर प्रणालीमा कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार नरहेको पाइएको छ । त्रिवि भाषा विज्ञान केन्द्रीय विभाग प्रमुख प्रा.डा. दानराज रेग्मीको संयोजकत्वमा त्रिविका सहप्राध्यापक ताराप्रसाद भुसाल र उपप्राध्यापक विष्णु केसी सदस्य रहेको कमिटीले सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्न जनशक्ति र भौतिक पूर्वाधारको उचित व्यवस्थापन गर्नुपर्ने सुझाब दिएको छ ।

सेमेस्टर प्रणालीको विरोधमा विद्यार्थी संगठन
अहिले त्रिविका केन्द्रीय विभागहरूमा सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन भइरहेको छ । तर, उपत्यकामा रहेका त्रिवि आंगिक क्याम्पसहरूमा सेमेस्टर प्रणाली लागू गर्न खोज्दा विद्यार्थी संगठनको विरोधपछि रोकिएको थियो । कसरी कार्यान्वयन गर्ने भन्ने अध्ययनका लागि गठन गरेको कमिटीले आंगिक क्याम्पसमा मात्र होइन, सम्बन्धनमा पनि एउटै प्रणालीको शिक्षा हुनुपर्ने सुझाब दिएको छ । कतिपय क्याम्पसले करार र आंशिक शिक्षकको भरमा कक्षा सञ्चालन गरेको र उनीहरूको भरमा सेमेस्टरमा जान हुने कमिटीको सुझाब छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर छ ।

प्रतिक्रिया