Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

प्रहरी र विद्यार्थीबीच झडप,नेविसंघ महाधिवेशन तनावपूर्ण

सोमबार, ३१ साउन २०७३

काठमाडौं ३१ साउन / एक साताअघि उद्घाटन भए पनि बन्दसत्र सुरु हुन नसकेको नेविसंघको ११औँ महाधिवेशन चुनावी प्रक्रियाको विवादले थप संकटमा परेको छ । महाधिवेशन प्रतिनिधि नक्कली ल्याइएको भन्दै एउटा पक्षले धर्ना सुरु गरेपछि कांग्रेस पार्टी कार्यालय सानेपामा दिनभर झडप भयो ।

पार्टी नेता रामचन्द्र पौडेलनिकट विद्यार्थी र प्रहरीबीच झडप हुँदा दर्जनौँ विद्यार्थी र केही प्रहरीसमेत घाइते भएका छन् । विद्यार्थीले पार्टी कार्यालयनजिकै सानेपास्थित चक्रपथ सडकमा धर्ना दिन खोज्दा पटक–पटक झडप भएको हो । विद्यार्थीलाई सडकबाट हटाएर बाटो खुलाउन प्रहरीले बल प्रयोग गरेको थियो । त्यसपछि पौडल पक्षधर विद्यार्थीले आफ्नै पार्टीका गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग्दै नाराबाजीसमेत गरे ।

४३ विद्यार्थी घाइते

दिनभर पटक–पटक भएको झडपमा ४३ जना घाइते भएको धर्ना दिने पक्षका नेता भट्टराईले बताएका छन् । केही सामान्य र केही गम्भीर घाइते भएको उनको भनाइ छ । प्रहरीको कुटाइबाट राकेश श्रेष्ठ, रमेश तिमिल्सना, रूपेश खड्का, सीता मिजार, सुधा कट्टेल, ललिता सुनार, अनिल शाही, नारायण भारती, कृष्णबहादुर कुँवरलगायत ४३ जना घाइते भएका छन् ।

यस्तो छ विवादको कारण
महाधिवेशन सुरु हुने दिनसम्म पनि ११ जिल्लामा प्रतिनिधि विवाद रहेको थियो । विधिवत् र तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी नेता कृष्णप्रसाद सिटौला पक्षधर अध्यक्षका दाबेदार कुन्दन काफ्लेको समूहले पार्टी कार्यालयमा आमरण अनशन सुरु गरेको थियो ।

प्रतिनिधिहरूको भागबन्डा मिलेपछि अनशन तोडियो । तर, आमरण अनशन बसेका आधारमा तीन सय ५० प्रतिनिधि थपिएको भन्दै पौडेल पक्ष विरोधमा देखियो । ‘विधिवत् हुने हो भने २३ सय ८० प्रतिनिधि हुन्छन्, यसअघि महाधिवेशन निर्देशन समितिका संयोजकले ३४ सय ६० प्रतिनिधि भएको बताएका थिए, तर रातारात ३७ सय ६० प्रतिनिधिको सूची आयो,’ पौडेल पक्षधर भट्टराईले भने, ‘पार्टी अफिस कब्जा गरेर निर्देशक समितिका संयोजक प्रकाशशरण महतले विवाद मिलेको ६४ जिल्लामा पनि प्रतिनिधि थपेका छन्, यो हामीलाई मान्य छैन ।’ फर्जी प्रतिनिधि नहटाए महाधिवेशनमा सहभागी नहुने उनीहरूको भनाइ छ ।

चुनावको नयाँ कार्यतालिका
यसैबीच, नेविसंघको केन्द्रीय निर्वाचन समितिले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार सोमबार उम्मेदवारी दर्ता गर्ने रहेको छ भने मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ ।

महाधिवेशन रोकिँदैन : महत
नेविसंघ महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतले महाधिवेशन कुनै हालतमा नरोकिने बताएका छन् । आइतबार निर्देशक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा महतले अहिले आरोप–प्रत्यारोपमा उत्रिने समय नभएको भन्दै महाधिवेशन सफल पार्ने अभियानमा लाग्न आग्रह गरे । महतले फर्जी प्रतिनिधि छनोट गरिएको भनेर हल्ला चलाइए पनि त्यसमा कुनै सत्यता नभएको दाबी गरे ।
पौडेल पक्षधर अध्यक्षका प्रत्याशीहरूले आइतबार प्रेस विज्ञप्ति जारी गरी वास्तविक प्रतिनिधिहरूको नामावली तयार गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । नेविसंघको विधानले परिकल्पना गरेको दुई हजार तीन यी ३८ प्रतिनिधि संख्यालाई वृद्धि गरी तीन हजार सात सय ६० बनाइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

पौडेल पक्षका अध्यक्षका प्रत्याशीहरू मनोजमणि आचार्य, दीपक भट्टराई, पदमराज पन्त, नीलकण्ठ रिजाल, आनन्द त्रिपाठी, बिनिता अधिकारी र क्षितिज भण्डारीले संयुक्त विज्ञप्ति निकालेर वास्तविक प्रतिनिधिबाट मात्र महाधिवेशन गर्न माग गर्दै आफ्ना माग पूरा नगरे पार्टी स्वयंले दिएको लोकतन्त्रको पाठ अवलम्बन गर्दै थप आन्दोलनसहित अघि बढ्ने चेतावनी दिएका छन् ।

यसरी सुरु भयो झडप
केन्द्रीय निर्वाचन समितिले शनिबार बेलुकी मतदाताको सूची सार्वजनिक गरेपछि पौडेलनिकट विद्यार्थीले सूचीमा सयौा फर्जी प्रतिनिधि रहेको भन्दै विरोध जनाएका थिए । त्यसक्रममा अध्यक्षका दाबेदार दीपक भट्टराईले पार्टी अफिस कब्जा गरेर निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतले आफूखुसी गरेको आरोप लगाए ।

पौडेल पक्षधर विद्यार्थी आफ्ना कुरा राख्न भन्दै आइतबार दिउासो पार्टी कार्यालय जाँदा प्रहरीले बाटोमै रोक्यो । त्यसपछि दिउँसो साढे दुई बजेतिर उनीहरूले सानेपास्थित सडकमै धर्ना दिए । धर्ना दिएको १५ मिनेटपछि प्रहरीले बल प्रयोग गरेर हटाउन खोजेपछि झडप भयो ।

विवादको शृंखला
नेविसंघ कांग्रेसको सबैभन्दा ठूलो र प्रभावशाली भ्रातृ संगठन हो । झन्डै १० वर्षदेखि महाधिवेशन हुन नसकेपछि यसपटक सभापतिमा निर्वाचित भएलगत्तै सभापति शेरबहादुर देउवाले ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय लिए । २३ साउनमा ११औा महाधिवेशन सुरु पनि भयो । तर, २४ साउनमा सुरु हुनुपर्ने बन्दसत्र महाधिवेशन प्रतिनिधिको विवादले हुन सकेन ।

यसअघि ६४ जिल्ला र अधिकांश क्याम्पसमा अधिवेशन भए पनि ११ जिल्ला र काठमाडौंका केही सरकारी क्याम्पसमा अधिवेशन हुन सकेको थिएन । तर, रञ्जित कर्ण पक्ष र देउवातिरका ऋषिकेशजंग शाहबीच अधिवेशन नगरी यी विवाद भएका ११ जिल्लामा प्रतिनिधि भागबन्डा गरेपछि कृष्णप्रसाद सिटौला समूहबाट कुन्दन काफ्ले समूहले विरोध गर्‍यो । उनीहरू आमरण अनशनसम्म बसे । निर्देशक समितिले अनशन तोडाउन अर्याल समूहलाई दुई सय १५ महाधिवेशन प्रतिनिधि र महेन्द्र शर्मा समूहलाई एक सय १० प्रतिनिधि दिएपछि बुधबार प्रतिनिधिको विवाद लगभग मिलेको थियो । त्यसक्रममा संस्थापन पक्ष, रामचन्द्र पौडेल र सिटौला पक्षसमेतको सहमति थियो । तर, नाम, ठेगाना, क्षेत्रजस्ता प्राविधिक काम मात्र मिलाएर प्रतिनिधिको सूची मात्र टाँस्ने काम बाँकी थियो । तर, उपत्यकाका क्याम्पसको विवाद मिलाउने नाममा झन्डै दुई सय प्रतिनिधि थपियो । नेविसंघ अध्यक्ष कर्ण र देउवा पक्षका शाहले मिलेर एक सय ६९ मत भाग लगाएपछि महाधिवेशन प्रतिनिधिको संख्या तीन हजार सात सय ६० पुग्यो ।

निर्देशन समिति विभाजित
महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न पार्टी सभापति देउवाले डा. प्रकाशशरण महतको नेतृत्वमा किशोरसिंह राठौर, गुरु घिमिरे, प्रदीप पौडेल, गोविन्द भट्टराई रहेको निर्देशन समिति गठन गरेका थिए । विवादित जिल्ला र क्याम्पसको विवाद मिलाउने जिम्मा सोही समितिले पाएको थियो । तर, बारम्बार प्रतिनिधिको संख्या बढाइएपछि निर्देशन समिति नै विभाजित देखिएको छ । पौडेल पक्षका दुई सदस्य गुरु घिमिरे र गोविन्द्र भट्टराईले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै थपिएका प्रतिनिधि हटाएपछि मात्र निर्वाचन प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन् ।

‘करिब दुई वर्षअघि तत्कालीन निर्देशन समितिले निर्णय गरेका ६४ जिल्लाको मतदाता सूची यथावत् कायम राखी विवादित बाँकी ११ जिल्ला र केही क्याम्पसको मतदाता सूचीलाई अन्तिम रूप दिई प्रकाशित गर्ने निर्णय वर्तमान समितिले गरेको हो,’ घिमिरे र भट्टराईको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘निर्देशन समितिमा भएको सहमति र निर्णयअनुरूप विवादित नामावली सच्याएर मात्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्दछ भन्ने दृढ मान्यता सार्वजनिक गर्दछौा ।’ तर, अनशनकारीलाई सहमतिमा ल्याउन संख्या थप गर्नमा घिमिरे र भट्टराईले पनि हस्ताक्षर गरेका छन् ।

निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतले भने नेविसंघका आधा दर्जन पूर्वअध्यक्षहरूलाई साथ राखेर पत्रकार सम्मेलन गर्दै महाधिवेशन नरोकिने स्पष्ट पारेका छन् ।

‘सहमतिमै प्रतिनिधि चयन भएको हो, यसमा कुनै विवाद छैन्,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा महतले भने, ‘हाम्रो चाहना भनेको टीका लगाएर नेतृत्वमा आउने परम्परा तोड्नु हो ।’ महाधिवेशन स्थगन हुने कुरा कसैले सोच्न नहुने उनको भनाइ थियो । ‘टीका लगाउनुपर्ने अवस्था दोहोर्‍याउनु नपरोस्, यस्तै अवस्था रहिरहे सभापतिजी चुप लागेर बस्नुहुन्न,’ अर्को पक्षलाई चेतावनीको भाषामा महतले भने, ‘आशा गरौा त्यस्तो अवस्था नआओस् ।’
नेविसंघका पूर्वअध्यक्ष पौडेलले पनि संख्या बढी भयो भन्ने नाममा महाधिवेशन रोक्न नहुने बताए । ‘थप्नेहरूले नै बढी भयो भनेपछि घटाउन सकिन्छ । उपत्यकामा बढी भएको छ भने घटाउन सकिन्छ । घटाउन समस्या छैन, बढाउनेले घटाउन चाहे घट्छ,’ पौडेलले नयाँ पत्रिकासित भने, ‘यो कांग्रेसको प्रतिष्ठाका विषय हो । प्रतिष्ठा आर्जनका लागि केन्द्रीय नेतृत्व र सबै नेता जिम्मेवार हुनुपर्छ । आपसमा छलफल गरेर मिलाउनुपर्छ । सामान्य संख्याका आधारमा मात्र अधिवेशन रोकिनुहुादैन ।’

पौडेललाई टिमको सकस
१३औा महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिए पनि दोस्रो चरणको निर्वाचनमा सभापतिमा देउवालाई भोट हाले । नेविसंघको जारी विवादमा पनि सिटौला पक्षले आफूले सम्मानजनक भागबन्डा पाएपछि सभापति देउवा पक्षसँग मिलेर चुनाव लड्ने तयारी गरेको छ । यसले पौडेल पक्ष सशंकित हुन पुगेको छ । त्यस्तै, पौडेल पक्षमा टिम मिलाउन पनि निकै कठिन देखिएको छ । पौडेलसहितका नेताहरूको रोजाइमा अध्यक्षका लागि मनोजमणि आचार्य परेका छन् भने महाधिवेशन प्रतिनिधिबीच दीपक भट्टराईको माहोल छ ।

देउवा टिमलाई पनि सजिलो छैन
देउवातिर पनि जितजंग बस्नेत र नैनसिंह महरमध्ये को अध्यक्षको उम्मेदवार बन्ने भन्ने टुंगो छैन । दुवैले अध्यक्षका लागि दाबी गर्दै सभापति देउवालाई निरन्तर दबाब दिएका छन् । तर, देउवाले मुख खोलिसकेका छैनन् । निर्वाचन नै हुने अवस्था आए अन्तिममा कुनै एकलाई पार्टीमा जिम्मेवारी दिने प्रतिबद्धता जनाउने र अर्कोलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी देउवाको देखिन्छ । एक कोषाध्यक्षबाहेक उपाध्याक्ष, महामन्त्री, समहामन्त्रीजस्ता पदमा उम्मेदवार मिलाउन पनि दुवै पक्षलाई हम्मेहम्मे देखिएको छ ।

गृहमन्त्रीको आदेशमा कुटेको आरोप
विद्यार्थीहरूले गृहमन्त्री निधिको आदेशमा प्रहरीले आफूहरूलाई घेरेर कुटेको आरोप लगाएका छन् । आफूहरू पौडेल पक्षका विद्यार्थी भएका कारण देउवा पक्षका गृहमन्त्रीले प्रहरीलाई कुट्न आदेश दिएको उनीहरूको आरोप छ । प्रहरीले समाचार संकलन गर्न गएका पत्रकारलाई समेत अन्धाधुन्ध लाठी बर्साएको थियो । प्रहरीले एभिन्युज टेलिभिजनको क्यामरा फुटाइदिएको छ भने रिपोर्टरलाई समेत लाठी बर्साएर घाइते बनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले भने प्रहरीले बल प्रयोग नगरेको बताए । ‘ढुंगा प्रहार भएपछि धकेलाधकेल भयो, सामान्य बल प्रयोग भएको हो,’ उनले भने, ‘हामीले बल धेरै बल प्रयोग गरेका छैनौा । झडपमा एसपीसहितका प्रहरीको टाउको तथा हातखुट्टामा चोट लागेको उनले बताए ।

नयाँ पत्रिकामा  खबर छ ।

प्रतिक्रिया