काठमाडौं - सरकारले शिक्षा मन्त्रालयका सहसचिब खगराज बराललाई सचिबमा बढुवा गरेको छ । साउन २७ गतेको मन्त्रीपरिषद् बैठकले गरेको बढुवाको निर्णय आईतबार मात्रै सार्वजनिक भएको हो । बढुवा संगै सरकारले उनलाई क्षेत्रीय प्रशासक बनाएर सुर्खेत खटाएको छ ।
२०२६ सालमा कास्कीको पुम्दी भुम्दीमा जन्मेका बराल २०५१ सालमा विद्यालय निरिक्षकका रुपमा सेवा प्रबेश गरेका थिए । रुपन्देहीबाट सेवा प्रबेश गरेका बरालले कास्कि, बझाङ्, तनहुँमा रहेर काम गरे । २०६५ साल चैत ६ गते सहसचिवमा बढुवा भए पछि उनी मन्त्रालय, क्षेसीनी मध्यमाञ्चल, विभाग, पाठ्यक्रम, परीक्षा, शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक हुँदै गत मंसिर देखि हाल सम्म शिक्षा विभागको महानिर्देशक थिए ।
यो पनि पढ्नुहोस् : 'हेडमाष्टर'ले नटेर्नेलाई शिक्षा विभागको महानिर्देशक !
बराललाई विभागका कर्मचारीले आईतबार नै विदाई गरेका छन् । उनको विदाई संगै निर्देशक देवकुमारी हुमागाई विभागको निमित्त महानिर्देशक भएकी छन् ।
एक हप्तामै शिक्षामा २ जना सचिव, मन्त्रालयमा भने निमित्त
एक हप्तामा शिक्षा मन्त्रालयका २ जना सहसचिवको सचिवमा बढुवा भएको छ । गत २१ गते अर्का सहसचिव डा. लबदेव अवस्थीको पनि बढुवा भएको थियो । उनलाई पनि क्षेत्रीय प्रशाशक बनाएर हेटौंडा खटाएको छ ।
पढ्नुहोस् : शिक्षा मन्त्रालयका सहसचिव अवस्थीको बढुवा, अवधि २ महिना बाँकी
उनको बढुवा पछि नयाँ शिक्षा ऐन संगै गठन भएको राष्ट्रिय परीक्षा बोर्ड नै खाली भएको छ ।
पढ्नुहोस् : गठन भएको ३९ औं दिनमै खाली भयो परीक्षा बोर्ड, नतिजा प्रकाशनको काम प्रभावित
मन्त्रालयमा लामो समय काम गरेका र शिक्षाका मुद्धामा अनुभवी अवस्थी र बराल सचिब भएपनि सरकारले शिक्षा मन्त्रालयमा सचिबको नियुक्ति गर्न सकेको छैन । तत्कालिन शिक्षा सचिव विश्वप्रकाश पण्डितको अवकास पछि मन्त्रालय निभित्तको भरमा चलेको छ । सचिव हुनुअघि सम्म अवस्थी निमित्त रहेकामा त्यस यता सहसचिव डिल्लिराम रिमाल मन्त्रालयको निमित्त सचिबको जिम्मेवारीमा छन् ।
अवस्थी र बराल दुवै जना शिक्षा मन्त्रालयमा सचिवका रुपमा आउन ईच्छुक छन् । बरिष्ठ र योग्य हुँदा हुँदै पनि अवस्थीलाई सचिव बनाउनु भनेको चाँडैनै मन्त्रालयको जिम्मा फेरी पनि निमित्त सचिवलाई नै दिन बाटो तय गर्नु भएको भन्दै उनलाई बनाउन नहुने बारे मन्त्रालयमै चर्को आवाज उठ्दै आएको छ । किन भने अवस्थीको जागिर खाने समय नै आउँदो असोज २९ गते सकिँदै छ ।
शिक्षा ऐन कार्यान्वयन देखि संघीयतामा शिक्षाका संरचनाका बारेमा काम गर्नु पर्ने भएकोले यो अवधिमा पटक पटक सचिव फेर्न नहुने भन्दै मन्त्रालयमा छलफल जारी रहेको श्रोतले जनाएको छ ।
'मन्त्रालयका सचिव भएको गौरव गर्न बाहेक उहाँलाई काम गरेर देखाउने समय पनि हुँदैन, यही विचमा दशैं विदा पर्छ बेकारमा उहाँकै प्रतिष्ठाका लागि पनि मन्त्रालयमा नआए हुन्छ भन्ने लागेको छ' एक जना सहसचिवले भने, 'सेवा अवधि चाँडै सकिदैं छ भनेर थाह हुँदा हुँदै उहाँलाई मन्त्रालयमा ल्याउनु भनेको उहाँको छवीलाई नै धमिल्याउनु हो जस्तो लागेकोले हामीले त्यसो भनेका हौं ।'
यदी यस्तै भयो भने अवस्थीको तुलनामा जागिर खाने समय लामो भएकोले बराललाई मन्त्रालयकै सचिव हुने बाटो सहज हुने छ । 'संघीयताका बारेमा अध्ययन भएको ब्यक्ति पनि भएकोले यतिखेर मन्त्रालय हाँक्न सक्ने सचिव उहाँ नै हुन सक्ने मन्त्रालयको कोर टिमको धारणा छ' उक्त श्रोतले दावी गर्यो ।
तर भने जस्तो सजिलो भने पक्कै छैन ।
सरकारले तत्काल दुवै जनालाई क्षेत्रीय प्रशाशक बनाएर 'थन्क्याउनुको' पछाडी सत्ता गठबन्धनमा शिक्षा मन्त्रालय कसको भागमा पर्छ भन्ने तय नहुनु मुख्य कारण हो । नयाँ सरकार गठन सँगै पेचिलो हुँदै गएको शिक्षा मन्त्री चयनको गाँठो राजनीतिक रुपमा जति सहज हुन्छ, शिक्षा सचिव को हुने ? भन्ने कुरा त्यसैले निर्धारण गर्नेमा भने दुई मत छैन ।
प्रकाशित मिति २०७३ साउन ३० गते
प्रतिक्रिया