Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

प्रवेश परिक्षा बनेकाे छ आम्दानीको स्रोत, आईओएमले असुल्छ चर्को आवेदन शुल्क

आइतबार, ३० साउन २०७३

काठमाडौं ३० साउन / त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले विद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको स्रोत बनाउने गरेको छ । आईओएमले प्रवेश परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी तीन हजार पाँच सय रुपैयाँ तोकेको छ । यो रकम एउटा कार्यक्रमको मात्रै हो । एमबीबीएसमा आवेदन गर्ने विद्यार्थीले बीडीएसमा पनि फाराम भर्न चाहेमा थप तीन हजार पाँच सय तिर्नुपर्ने हुन्छ ।
आईओएमका आंगिक र सम्बन्धन प्राप्त कलेजहरूमा शैक्षिक वर्ष ०७३/७४ का लागि एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीएच, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बीफर्मा, बीएएस, बीएनएस कार्यक्रमको प्रवेश परीक्षाको फारम गत बिहीबारदेखि अनलाइनमार्फत भर्ने गरी खुल्ला गरिएको हो । फारम भर्ने म्याद भदौ १८ सम्म छ ।

शिक्षा मन्त्रालयले एक वर्षअघिसम्म छात्रवृत्तिको परीक्षा सञ्चालन गर्न एक हजार रुपैयाँ मात्रै लिने गरेको थियो । मन्त्रालयका अनुसार एक हजार लिँदा पनि खर्च कटाएर बचत हुन्थ्यो । आईओएमले आफूखुसी शुल्क लिँदा अभिभावक र विद्यार्थीमा आर्थिक भार थपिएको छ । ‘एक हजार लिँदा त मन्त्रालयको खर्चभन्दा बढी रकम उठ्थ्यो,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो कमाउने खेल हो ।’

प्रश्नपत्र तयारी, छपाइ, उत्तरपुस्तिका परीक्षण, परीक्षा सञ्चालन र नतिजा सार्वजनिकसमेत गरी प्रतिविद्यार्थी आठ सयदेखि साढे आठ सय भए पुग्छ । यो रकम १० हजार विद्यार्थीको परीक्षा सञ्चालन गर्दा लाग्ने खर्च हो । जतिसुकै विद्यार्थी भए पनि प्रश्नपत्र खर्च एक लाख रुपैयाँ भए पुग्छ । १० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिएमा खर्च अझ कम हुन्छ । आईओएम स्रोतले भन्यो, ‘यहाँ त विद्यार्थीसँग ब्रह्मलुट भइरहेको छ ।’

दुई घण्टे परीक्षा सञ्चालन गर्न यतिको रकम लिएर आर्थिक शोषण गरेको अभिभावक र विद्यार्थीको आरोप छ । ‘दुई घण्टाको प्रवेश परीक्षा दिन साढे तीन हजार लिँदा पनि यसलाई रोक्न कसैले चासो दिएको छैन,’ परीक्षाको तयारीमा रहेका सन्देश उप्रेतीले भने, ‘यदि मुलुकमा सरकार छ भने आवेदन शुल्क घटाएर देखाओस् ।’ मेडिकल शिक्षा अध्ययन गर्न चाहने न्यून आयका विद्यार्थीलाई फारामको चर्को शुल्क लिएर प्रवेश परीक्षाबाट समेत वञ्चित गराएको अभिभावकको गुनासो छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू छात्रवृत्तिमा अध्ययन गर्न प्रवेश परीक्षा दिने गर्छन् ।

आईओएमका प्राध्यापक भरतमणि पोखरेलका अनुसार सबै कार्यक्रममा गत वर्ष १६ हजारको हाराहारीले प्रवेश परीक्षा दिएका थिए । एमबीबीएसका लागि मात्रै साढे नौ हजार विद्यार्थी थिए ।

यस अनुसार आईओएमले गत वर्ष पाँच करोड ६० लाख रुपैयाँ रकम उठाएको थियो । ‘उठाएको रकमको एक तिहाई पनि खर्च हँुदैन ।’ आईओएम स्रोतले भन्यो, ‘सरकारले पनि बजेट दिएको हुन्छ । आम्दानीको अरू स्रोत छैन । यस्तै परीक्षाबाट उठाएको रकम नै डिन कार्यालयको आम्दानी हो ।’

परीक्षा बोर्डले निर्णय गरेर तोकिएको शुल्क लिने गरेको पोखरेलले बताए । ‘परीक्षा चलाउन निरीक्षक तथा सेन्टरलाई दिनुपर्ने हुन्छ,’ उनले भने, ‘देखिनेभन्दा नदेखिने खर्च धेरै हुन्छ ।’ उत्तरपुस्तिका पनि कम्प्युटर प्रणालीबाट परीक्षण गरिन्छ । यसबाट पनि खर्च कम हुन्छ  ।

आईओएमले तोकेको आवेदन दस्तुर साउन २७ देखि भदौ १७ सम्म हिमालयन बैंक लिमिटेडको खातामा जम्मा गरेर भौचर स्क्यान गरी पठाउनुपर्ने नियम छ । अनलाइनमार्फत फारम भरेपछि प्रवेशपत्र विद्यार्थी आफैंले प्रिन्ट गरेर लिनुपर्ने हुन्छ । आवेदकको नाम, फोटो, तथा भौचर नम्बर फरक परेर सच्याउनुपरे फेरि तीन हजार पाँच सय रुपैयाँ बैंकमा जम्मा गरेर नयाँ फारम भर्नुपर्नेछ । त्यसअघि बुझाएको रकम फिर्ता नहुने व्यवस्था छ । यसले पनि आईओएमले विद्यार्थीसँग जतिसक्दो धेरै रकम असुल्न चाहेको प्रस्ट हुन्छ ।

एमबीबीएस र बीपीएच शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा भदौ २५ मा र अन्य शैक्षिक कार्यक्रमको भदौ २६ मा तय गरिएको छ । प्लस टुमा न्यूनतम ५० प्रतिशत अंक ल्याएका विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् ।

कान्तिपृरमा मकर श्रेष्ठले लेखेको खबर ।

प्रतिक्रिया