Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

सरकारी स्कुल जहाँ सेक्सन नभएको कुनै कक्षा नै छैन

आइतबार, ३० साउन २०७३

काठमाडौं ३० साउन / मुलुककै नमुनामध्येको एक कालिका माध्यमिक विद्यालय प्रगतिको यात्रामा लम्किरहेको छ ।  सरकारी लगानीका सामुदायिक विद्यालयमा प्रतिफल नआएको गुनासोकाबीच कालिका मावि अब्बल हुन सफल भएको छ ।

विद्यालयका प्राचार्य घनश्याम पाठकले २०६५ सालमा जिम्मेवारी सम्हाल्दा ७०० विद्यार्थी रहेकोमा हाल पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म गरी कुल तीन हजार ९०० विद्यार्थी पुगेका बताउनुभयो ।  सम्भवतः यति धेरै विद्यार्थी भएको विद्यालय यही हो ।  अङ्ग्रेजी र नेपाली दुवै विषयमा विद्यार्थीको रुचिअनुसार उचित शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा दिएकाले कालिका मावि आकर्षणको केन्द्र बनेको छ ।

गत वर्षको एसएलसी परीक्षामा १८१ सहभागी भएकामा सात जना ‘ए’ प्लस, ४७ जना ‘ए’, ६६ ‘बी’ प्लस, ४८ ‘बी’, ‘सी’ प्लसमा २० र प्राविधिकमा ४६ जना सफल भएका छन् ।  २०७१ सालमा १५१ सहभागी भएकामा विशिष्ट श्रेणीमा ३९, प्रथम श्रेणीमा ७३ र द्वितीय श्रेणीमा ३९ जना उत्तीर्ण भएका थिए ।  प्राविधिकतर्फ ४५ विद्यार्थी सफल भएका थिए ।  त्यसो त रुपन्देहीमा कान्ति मावि, शान्ति र तेनुहवा मावि पनि सामुदायिक तर्फको नमुना मानिन्छन् । 
निजी क्षेत्रका ‘न्यु होराइजन’, तिलोत्तमा जस्ता विद्यालय चर्चित छन् ।  यी विद्यालयका कारण बुटवल नयाँ शैक्षिक केन्द्र बन्दैछ ।  बुटवल १२ कालिकानगरस्थित दुई बिगाहा छ कठ्ठा जमिनमा छवटा भवन रहेको विद्यालयमा ७७ कोठा छन् ।  सेक्सन नभएको कुनै कक्षा नै छैन ।   कक्षा ९ देखि प्राविधिक धारमा कम्युटर र इन्जिनियरिङको पनि पढाइ हुन्छ ।  यति धेरै विद्यार्थी भएकाले विद्यार्थी पढाउन सरकारले दिएको दरबन्दीले पुग्दैन, त्यसैले विद्यालयले अभिभावकबाट सहयोग शुल्क लिएर निजी स्रोतमा शिक्षक राखेको छ ।  विद्यालयले क्षमता कम भएकाले भर्ना हुन आउने सबैलाई राख्न सकेको छैन ।

प्रवेश परीक्षा लिएर निश्चित विद्यार्थी मात्र राख्दा पनि तीन हजार ९०० पुगेका छन् ।  यसै वर्ष मात्र एक हजार ५०९ जनाले नयाँ भर्नाका लागि प्रवेश परीक्षा दिएकोमा ५०० मात्रले भर्ना पाएका छन् ।  सरकारी दरबन्दीमा ३८ शिक्षक रहेको विद्यालयमा कुल १३४ शिक्षक छन् ।  लेखापाल पनि आफ्नै स्रोतमा दुई जना राखिएको छ ।  शिक्षकले बिहानी र दिवा सत्रमा पढाउँछन् ।

विद्यालयको प्रगतिमा व्यवस्थान समिति उत्तिकै चिन्तित देखिन्छ ।  समितिका अध्यक्ष होमबहादुर गलामीले हालै आफ्नो छोराको विवाहका खर्चबापतको रु. एघार लाख विद्यालयको अक्षय कोषमा हस्तान्तरण गरेर नयाँ उत्साह थप्नुभएको छ ।  अभिभावकसँग रकम लिएको वा एउटै परिसरमा क्याम्पस पनि चलाएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि पर्न थालेका छन् ।  अनिवार्य कम्युटर, ल्याब, जेनेरेटर, अतिरिक्त कक्षाका लागि अभिभावकको सहयोग शुल्क लिनु आवश्यक रहेको विद्यालयको भनाइ छ ।

विद्यालयले कक्षागत र विषयगत संयोजक तोकेको छ ।  प्रधानाध्यापकले आफ्नो कार्यकक्षमा राखिएको सिसी क्यामेराबाट अनुगमन गर्छन् ।

विद्यार्थीलाई प्रश्न सोध्न प्रोत्साहन गरिन्छ, शिक्षकले उत्तर दिनुभन्दा पहिला विद्यार्थीले प्रश्न सोधेकामा स्याबास भनिन्छ ।  विद्यार्थी प्रश्न गर्न हिक्चिचाउँदैनन्, शिक्षकले बिनातयारी कक्षामा जाँदैनन् ।  हरेक शिक्षकले ल्यापटप र प्रोजेक्टर चलाउन जानेकै हुनुपर्छ ।  अतिरिक्त कक्षा पढाउने र संयोजक हुने शिक्षकलाई थप सुविधा (खाजा खर्च) दिइन्छ । विद्यालय सप्रिएपछि कतिपयको व्यवसाय चौपट भएको छ तर हामी हतोत्साहित हुदैन ।

धनुषाको एक निजी विद्यालयबाट यस वर्ष स्थानान्तरण भई आएका कक्षा ६ का आयुषकुमार झा कालिका माविमा पहिलाको विद्यालयमा भन्दा राम्रो पढाइ रहेको बताउँछन् ।

शिक्षक विष्णुहरि ज्ञवाली आफूहरू सन्तुष्ट रहेको बताउहुन्छ ।  “विद्यार्थी भर्नाका लागि आउने आग्रह पूरा गरिदिन नसक्नुबाहेक अरु कुनै असन्तुष्टि छैन । ” ज्ञवाली भन्नुहुन्छ ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया