Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

जाजरकोटमा नमूना विद्यालय भौतिक निर्माण अभियान सुरु

शनिबार, २९ साउन २०७३

–हरिसुन्दर छुकां/ काठमाडौं – देशभरका विद्यालयको भौतिक निर्माण गुणस्तरीहीन भएको गुनासो आइरहेको बेला जाजरकोटमा भने विद्यालयको भौतिक निर्माण कार्यलाई ‘नमूना’ बनाउने अभियान सुरु भएको छ ।

विद्यालय भौतिक निर्माण कार्यक्रमतर्फ आर्थिक वर्ष २०७२÷७३ का लागि ४३ वटा विद्यालय भवन निर्माण योजनामध्ये ८ वटा विद्यालय भवन निर्माणलाई ‘नमूना’ बनाउने अभियान सुरु गरिएको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।

नमूना विद्यालय भौतिक निर्माण कार्यक्रममध्ये सरस्वती प्राथमिक विद्यालय, रामजानकी प्राथमिक विद्यालय, दुर्गा प्राथमिक विद्यालय, विश्व प्राथमिक विद्यालय, मालिका प्राथमिक विद्यालय, मष्टा प्राविले नमूना रुपमा निर्माण सम्पन्न गरेको शिक्षा कार्यालयको भनाइ छ ।

‘विद्यालयहरुमा बनेका २ कोठे, ३ कोठे भवनहरु भूकम्पप्रतिरोधी मात्र भएर विद्यार्थीमैत्री र छात्रामैत्री शौचालय पनि नमूना रुपमा सम्पन्न गरेका छन् ।’ जिशिअ ललितविक्रम सिंहले भने । उनका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ६ कोठे भवन, दिपेन्द्र माविको ६ कोठे भवन, सरस्वती प्राथमिक विद्यालयको २ कोठे भवन, रामजानकी प्राथमिक विद्यालय, दुर्गा प्राथमिक विद्यालय, विश्व प्राथमिक विद्यालय, मालिका प्राथमिक विद्यालय, मष्टा प्राविलगायतमा बनेको शौचालय नमूना छन् ।

सोही सन्दर्भमा रामजानकी प्राथमिक विद्यालय इउरीका अध्यक्ष दिपेन्द्रप्रसाद शर्माले नमूना भौतिक पूर्वाधार निर्माणको घोषणाले विद्यालय भौतिक पूर्वाधार निर्माण प्राप्त गरेका विद्यालयहरुबीच आआफ्नो विद्यालयमा राम्रो विद्यालय भवन निर्माणका लागि सकारात्मक प्रतिष्पर्धा हुने गरेको बताए ।

उनी मात्र नभएरु दुर्गा प्राथमिक विद्यालय नुवागाउँ भुरका प्रधानाध्यापक माधवप्रसाद शर्माले पनि विद्यालय भौतिक निर्माण कार्यक्रमलाई विशेष अभियानको रुपमा संचालन गरेकै कारण निर्माण कार्य दु्रत गतिमा हुन सकेको बताए । ‘यदि विगतकै गतिमा निर्माण कार्य आरम्भ हुन्थ्यो भने निर्माण कार्य यति चाँडो सम्पन्न गर्न गाह्रो हुन्थ्यो ।’ प्रअ शर्माले भने ।

जिल्ला शिक्षा अधिकारी सिंहले राजधानीका विद्यालय र दूर दराजमा रहेका विद्यालयको लागत, इष्टिमेट र मापदण्ड समान रहनु नै विद्यालय निर्माणमा मुख्य जटिलता रहेको बताउँदै त्यस्तो जटिलता न्यूनीकरणका लागि सो प्रयास गरिएको बताए । उनले भने, ‘काठमाडौं र जाजरकोटको विद्यालय भवन निर्माणका लागि उत्तिकै लागत र उही मापदण्ड अवलम्वन गरिनु दुर्भाग्य हो । जिल्ला शिक्षा कार्यालय जाजरकोटका योजना अधिकृत यज्ञश्वर खत्रीले भने, ‘नमूना पूर्वाधार निर्माण घोषणा गर्दा निर्माण कार्यमा संलग्न विद्यालयहरु निर्माण कार्यको लागत, समय, गुणस्तरप्रति सचेत बन्ने र यसको प्रभाव अन्य विद्यालयहरुमा समेत सकारात्मक रुपमा पर्ने देखिन्छ ।’

प्रकाशित मिति २०७३ साउन २९ ।

प्रतिक्रिया