- डा. शुक्रराज अधिकारी / शिक्षा ज्ञानआर्जनको विषय मात्र भयो भने त्यो दीर्घकालीन हुँदैन, त्यो ढंगको शिक्षालाई मानिसले ग्रहण गर्दैन, यसैले ज्ञानसँगसँगै शिक्षालाई जिविकोपार्जनको विषय पनि बनाइनुपर्छ । शिक्षा, ज्ञान आर्जन र ज्ञानसँगै जिविकोपार्जन गर्ने विषय पनि हो । शिक्षा र ज्ञानलाई फरकफरक ढंगले लानुपर्छ । ज्ञान जिविकोपार्जनसँग मात्र सम्बन्धित भयो भने त्यसले ज्ञानको विस्तार गर्दैन । जिविकोपार्जनका लागि दिइने शिक्षा सीपमूलक हुनुपर्छ, व्यावसायिक हुनुपर्छ । नीति निर्माणको तहमा शिक्षा ज्ञानमूलक हुनुपर्छ ।
चार नं. प्रदेश र शैक्षिक सम्भावना
संघीय संरचनाअन्तर्गतको अहिलेको चार नं. प्रदेशको संरचनाले हिमालदेखि तराईसम्मलाई छोएको छ । यस हिसाबले यहाँ पर्यटनको प्रचुर सम्भावना छ । यही हिसाबबाट यहाँको मुख्य आधार नै पर्यटनलाई लिन सकिन्छ ।
शिक्षाले कुनै पनि क्षेत्रको भौगोलिक संरचना, समाज र संस्कृतिलाई बुझ्नेको हुनुपर्छ । शिक्षाको लागि पाठ्यक्रम बनाउने बेलामा कुनै प्रदेशभित्र कुन जातजातिका मान्छे बस्छन्, कस्तो खालको समाज व्यवस्था छ, सांस्कृतिक परम्परा कस्तो छ ? ती जातजातिहरुको आपसी सम्बन्ध के छ ? र त्यो भूगोलभित्र कस्तो खालको प्राकृतिक स्रोत साधनको उपलब्धता छ ? त्यहाँको प्राकृतिक स्रोत साधन के छ ? भौगर्भिक खनिजदेखि लिएर, वन जंगल, हिमाल जे जे छ स्रोत, साधनलाई परिचालन गर्न सक्ने सीपयुक्त जनशक्ति निर्माण गर्ने खालको शिक्षा हुनुपर्छ । ताकि, त्यहाँको प्राकृतिक स्रोत साधन उपयोगका लािग विदेशबाट जनशक्ति गुहार्न नपरोस्, यसैले मान्छेलाई सीपयुक्त बनाउने खालको शिक्षा अहिलेको आवश्यकता हो ।
चार नं. को प्रदेशमा पर्यटन छुटाउनै नहुने विषय हो । पर्यटनले यहाँको समृद्धिमा टेवा पु¥याउँछ नै । यसैले यो बारेमा ज्ञानको निर्माण गर्नुपर्छ । यहाँको प्राकृतिक छटा र सम्पदालार्ई कसरी व्यावसायिक बनाउने ?, कसरी उद्योगीकरण गर्ने, कसरी बजारीकरण गर्ने, त्यसको महत्व कति हो भन्ने बुझाउनलाई ज्ञान हस्तान्तरण गर्ने खालको शिक्षा नीति हुनुपर्छ । शिक्षा नीति निजीलाई दिएर चल्दैन । त्यसको लागि राज्यले शिक्षाको जिम्मा लिनुपर्छ , चाहे त्यो प्रादेशिक सरकारले होस् या केन्द्रीय सरकारले होस् ।
चार नं. प्रदेशको विकासको लागि कस्तो खालको पाठ्यक्रम निर्धारण गर्ने हो ? त्यो सम्बन्धमा निर्धारण गर्ने एक विश्वविद्यालय आवश्यक छ, त्यही विश्वविद्यालयले यहाँको शैक्षिक र प्राज्ञिक नेतृत्व लिन्छ र यहाँको सम्पूर्ण सम्भावनाको विषयमा अध्ययन, अनुसन्धान गर्छ । त्यसले प्रदेशको मौजुदा स्रोत साधनहरु जस्तै पर्यटन, खनिज, जलसम्पदा इत्यादिलाई प्राथमिकतामा रााख्छ । मेरो सुझाव के छ भने अबको पाठ्यक्रम पर्यटनसँग जोडिउको हुनुपर्छ । त्यो पाठ्यक्रमले स्थानीय स्रोत परिचालन गर्ने किसिमको हुनुपर्छ ।
हाम्रो स्रोत साधनलाई र हाम्रो परम्परागत ज्ञान सीपको बारेमा अनुसन्धान गर्ने अनुसन्धाताहरुको खाँचो छ । हामीकहाँ थुप्रै अनुसन्धाताहरु, प्राध्यापकहरु छन् तर हाम्रै स्रोत साधनलाई गहिरो विश्लेषण गर्ने अनुसन्धाताहरुको कमी भएको कारणले हामी विदेशीको मुख ताक्न बाध्य छौं । हामीकहाँ पनि केही त्यस्ता अध्येताहरु पनि छन्, अनुसन्धताहरु पनि छन्, जसले राज्यलाई ठूलो योगदान दिन सक्छ तर ती अध्येताहरुलाई अवसर छैन, उनीहरुको लागि राज्ले उचित वातवरण पनि बनाउन सकेको छैन । यसैले स्थानीय स्तरमै अनुसन्धान गर्ने र अनुसन्धाता बनाउने वातारण बनाउनुपर्यो । हामीलाई विदेशीको सहयोग नचाहिने भन्ने होइन तर हामी परनिर्भर हुनुभएन । विदेशीसँग ज्ञान लिने र त्यही ज्ञानलाई हाम्रो स्थानीय स्रोत र साधनसँग जोड्ने खालको शिक्षा आवश्यक छ । त्यसले हाम्रो देशलाई लाभ पुग्छ ।
शिक्षा राज्यको दायित्वभित्र हुनुपर्छ
शिक्षा र स्वास्थ्य राज्यले जिम्मा नलिएका कारणले अविकसित देशहरुका जनताको दुर्दशा भएको छ । शिक्षालाई जब महंगो बनाइयो, शिक्षालाई राज्यले जिम्मा लिएन, सर्वसुलभ र निः शुल्क बनाइएन, र सबैको तहमा पुग्ने बनाइएन तब भ्रष्टाचार बढ्यो । भ्रष्टाचार नियन्त्रणका लागि गरेको लगानी यदि शिक्षामा गरेको भए स्वभाविक रुपमा भ्रष्टाचार घट्ने थियो । तर त्यतातिर सरकारले ध्यान दिन सकेन । जुन जुन देशको सरकारले शिक्षा र स्वास्थ्यलाई सरकारको दायित्वमा समावेश गरेको छ, ती ती देशको मानव विकासको सूचकांकमा संसारमै उच्च छ, यसैले हाम्रो देशले पनि शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्वभित्र ल्याउनुपर्छ । शिक्षामा संस्कारको विकास गर्नु जरुरी छ । हामीसँग भएको परम्परागत सीप र स्रोतलाई प्रयोग गर्नुपर्छ ।
हामीकहाँ राज्यको नेतृत्वमा बौद्धिक गरिबी छ, सोही कारण यहाँ भएका विद्धानहरु पनि ओझेलमा छन् । व्यक्तिसँग यो ज्ञान, सीप र क्षमता छ, उसको ज्ञान मैले यो प्रयोजनका लागि उपयो गरेँ भने त्यसले देशलाई नै फाइदा पुग्छ भन्ने चेतना नेता र नीति निर्मातासँग हुनुपर्यो । साथै, शिक्षण शैलीमा आमूल परिवर्तन गन अब ढिलाइ गर्नुहुन्न । शिक्षकहरु कक्षाकोठामा ढोका लाएर, विद्यार्थी थुनेर पढाउँछन्, अनि कसरी विद्यार्थीको सर्वाङ्गीण विकास हुन्छ ? यसैले विद्यार्थीहरुलाई त फिल्डमा लगेर प्रयोगात्मक ज्ञान दिनुपर्छ । फिल्डमा लगेर पढाउने र सिकाउने शैक्षिक सस्कृति आवश्यक छ,अब ।
युनेस्कोको सहयोगमा एडुबर डटकमले बनाएको रेडियो कार्यक्रम संघीयतामा शिक्षाका लागि रेडियो तरंग पोखराका पत्रकार हिमनीधि लौडारीले उपप्राध्यापक अधिकारीसँग गरेको कुराकानीमा आधारित ।
प्रतिक्रिया