Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

गुनासा सुन्न फोकल पर्सन

शनिबार, २९ साउन २०७३

काठमाडौं २९ साउन / शिक्षामा बालिकाको पहुँच स्थापित गर्न र उनीहरूले भोग्दै आएका समस्या समाधानका लागि अब विद्यालयमा गुनासो सुन्ने अधिकारी (फोकल पर्सन) राखिने भएको छ ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतले जिल्लाका हरेक विद्यालयमा फोकल पर्सन राख्ने भएको हो । बालिकाहरू शिक्षाबाट वञ्चित भइरहेको र विद्यालयमा विभिन्न हिंसा भोग्न बाध्य भएको भन्दै कार्यालयले नयाँ उपाय अपनाउन लागेको हो ।

शिक्षामा बालिकाको पहुँच बढाउन गठित जिल्लास्तरीय बालिका शिक्षा सञ्जालको आग्रहमा यस्तो व्यवस्था गर्न लागिएको हो । जिल्ला शिक्षा अधिकारी दीपा हमालले अब जिल्लाका हरेक विद्यालयमा बालिकाहरूका गुनासा सुन्न र तिनको समाधान गर्न फोकल पर्सनको व्यवस्था गर्न लागिएको बताइन् । विद्यालयलाई बालिकामैत्री बनाउन कार्यालय प्रयासरत रहेको भन्दै उनले सम्भव भएसम्म महिला शिक्षकलाई नै फोकल पर्सनको जिम्मेवारी दिइने जानकारी दिइन् ।

‘जिल्ला शिक्षा अधिकारी म पनि महिला नै छु, विद्यालयमा बालिकाले भोग्नु परेका पीडा मलाई राम्रोसँग थाहा छ', जिशिअ हमालले भनिन्, ‘अब हरेक विद्यालयमा बालिकाका गुनासो सुन्न फोकल पर्सन हुनेछन्, त्यसको व्यवस्थापका लागि हामी जुटेका छौं । महिनावारीको समयमा बालिकाहरूको अवस्था गम्भीर हुने गरेको छ, छात्रा शुलभ शौचालयमा जोड दिनेछौं ।'

विद्यालयको अनुगमनमा जाँदा अब सबैभन्दा पहिला शौचालयको अनुगमन गरिने र बालिकामैत्री भए नभएको अध्ययन हुने उनको भनाइ छ । बालिकाले विद्यालयमा अनेकौं समस्या र पीडा भोग्दै आएको तर गुनासो सुनाउन नपाएको हमालले उल्लेख गरिन् । त्यसका लागि नै फोकल पर्सनको व्यवस्था गर्न लागिएको भन्दै उनले अब फोकल पर्सनले नै बालिकाका गुनासा सुन्ने, समाधानका लागि पहल गर्ने र सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिइन् । विद्यालयको वातावरण र शिक्षकको व्यवहार बालिकामैत्री हुँदासम्म शिक्षामा बालिकाको पहुँच स्थापित गर्न मुश्किल भएको उनको भनाइ छ ।

गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकारी हरेक विद्यालयमा फोकल पर्सन राख्ने तयारी नमुना हुने बताउँछन् । ठूलो संख्यामा विद्यार्थी रहेका विद्यालयमा गुनासो सुन्ने अधिकारी नहुँदा समस्या भएको भन्दै उनले फोकल पर्सनको व्यवस्था भएमा बालिकाले सहज रूपमा शिक्षा आर्जन गर्ने वातावरण हुने दाबी गरे । बालिकाले भोग्नु परेका यौनजन्य हिंसा रोक्न र जिल्लाको शैक्षिक नतिजा उकास्न पनि फोकल पर्सन आवश्यक रहेको उनको भनाइ छ ।

यस्तै शिक्षिका भूमिसरा चपार्इंले बालविवाहका कारण बालिका शिक्षाबाट वञ्चित भइरहेको बताउँछिन् । अब बालविवाह न्यूनीकरण गर्नेतर्फ पनि सोच्नु अभिभावक सचेत हुनुपर्ने उनको भनाइ छ । बालिका शिक्षाको क्षेत्रमा काम गर्दै आएको ग्लोबल एक्सनका जिल्ला कार्यक्रम संयोजक यादव भुसाल अब आफूहरूले विद्यालय तहमा नै बालिका शिक्षा सञ्जाल बिस्तार गर्ने बताए ।

जिल्लास्तरीय बालिका शिक्षा सञ्जालले बालिकालाई विद्यालय जान उत्प्रेरित गर्ने, विद्यालयमा उनीहरूलाई टिकाउन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने, विद्यालयलाई बालिकामैत्री बनाउन पहल गर्ने, छात्रा शुलभ शौचालयको व्यवस्था गर्न जोड दिने र बालिकामैत्री भाषा र व्यवहारलाई बढवा दिन विभिन्न क्रियाकलाप गर्ने बताइएको छ ।

अधिकांश विद्यालय अहिले पनि बालिकामैत्री नभएको, शिक्षकबाटै विभिन्न हिंसा भोग्न बाध्य भएको र छात्रा शुलभ शौचालय नहुँदा बालिकाको शिक्षा प्राप्तीमा समस्या उत्पन्न भएको उनीहरूको भनाइ छ ।

ललितबहादुर बुढाले अन्नपूर्ण पोष्टमा लेखेको खबर

प्रतिक्रिया