Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

अब पढ्ने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण

शनिबार, २९ साउन २०७३

काठमाडौं २९ साउन / एनएमबी बैंकले हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलबीच शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न पाउने सुनिश्चित भएको हो ।

आर्थिक अभावले इन्जिनियरिङ पढ्न नसकेका ग्रामीण क्षेत्रका जेहेन्दार विद्यार्थीहरूले यो सुविधा लिन सक्ने कलेजका निर्देशक रामेश्वर अर्यालले बताए । 'इन्जिनियरिङ पढ्ने सहरका पैसावालका छोराछोरी धेरै छन् । आर्थिक अवस्था कमजोर भएका गाउँका प्रतिभावान विद्यार्थीहरू पैसा नभएर पढ्न सकेका छैनन् । पिछडिएका समुदायका विद्यार्थी पनि इन्जिनियरिङ पढ्नबाट वञ्चित हुन परेको छ,' उनले भने, 'यो समस्या हटाउन शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गर्न लागिएको हो ।' कलेजका अनुसार सीमित विद्यार्थीलाई मात्र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराइनेछ । अचल सम्पत्ति धितो राखेर सहुलियत दरमा ऋण लिएर पढ्न चाहने विद्यार्थीका लागि शैक्षिक कर्जाको व्यवस्था मिलाउने कलेजले जनाएको छ ।

शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशतसम्म यो योजनाअनुरूप सहुलियत ऋण लिन सकिनेछ । सामान्यतः ऋणको अवधि ४ वर्षको हुनेछ । अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वसनीयताका आधारमा बैंकले अर्को ४ वर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्न सक्ने सम्झौता भएको कलेजले जनाएको छ । '४ वर्षपछिको किस्ताबन्दीसम्बन्धी सुविधा लिन बैंक र विद्यार्थीबीच अलग्गै सम्झौता गर्नुपर्नेछ,' कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'ब्याजदर विद्यार्थीको अवस्था हेरी ५ देखि ८ प्रतिशत हुनेछ ।'

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया