Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

नेविसंघ महाधिवेशन बन्दसत्र नै नगरी निर्वाचन प्रकृया

शनिबार, २९ साउन २०७३

काठमाडौं २९ साउन / साताअघि उद्घाटन भएर रोकिएको नेविसंघको ११ औं महाधिवेशनको बन्दसत्र सुरु नै नगरी निर्वाचन प्रकृया अघि शुरु हुने भएको छ । महाधिवेशनमा भाग लिने प्रतिनिधि विवादले बन्दसत्र रोकिएको ६ दिनपछि शुक्रबारबाट निर्वाचन प्रकृया अघि बढ्ने भएको हो । शुक्रबार राति निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेपछि निर्वाचन प्रकृया अघि बढ्ने पक्कापक्की भएको हो ।

आईतवार उद्घाटन लगत्तै अधिवेशन नगरीकनै भागबण्डाका आधारमा प्रतिनिधि बनाईएका ११ जिल्लाको विवाद उल्भिmएपछि बन्द सत्र सुचारु हुन सकेको थिएन । भागबण्डाको विरोधमा  कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्मा पक्षीय विद्यार्थीहरु आमरण अनशनमा बसेका थिए । आमरण अनशनको मागलाई सम्वोधन गर्न प्रकाशशरण महत नेतृत्वको पार्टीको निर्देशन समितिले सिटौला पक्षलाई २ सय १५ र शर्मा पक्षलाई १ सय १० प्रतिनिधि दिने समझदारी गरेपछि महाधिवेशन अघि बढ्ने ढोका खुलेको थियो । तीन दिनपछि ढोका खुले पनि सिटौला र शर्मा पक्षीय विद्यार्थी समूहले थप गरिने प्रतिनिधि सूची बुझाउन ढिलाई गरेपछि बिहीबारदेखि हुने भनिएको बन्दसत्र स्थगित भएको थियो । उनीहरुलाई आफ्नो पक्षका उम्मेदवारलाई मत हाल्ने विश्वासिलो प्रतिनिधि जुटाउन धौधौ परेको थियो ।

बुधबार विहान १ बजे प्रतिनिधि विवाद हल भए पनि सिटौला र शर्मा समूहले शुक्रबार मात्रै प्रतिनिधिको सूची निर्वाचन आयोगमा बुझाएका हुन् । सिटौला समूहले विहानै बुझाएको थियो भने शर्मा समूहले राति ७ बजे बुझाएको थियो । निर्देशन समितिका संयोजक महतले प्रतिनिधिको सूची निर्वाचन समितिलाई दिन ढिलाई भएका कारण बन्द सत्र सुरु हुन नसकेको बताए । 'शनिबार मतदाताको अन्तिम नामावली प्रकाशन र मनोनयन गर्ने, आईतबार मतदान गर्नेगरी निर्वाचन कार्यक्रम अघि बढ्नेछ,' महतले भने । महाधिवेशन सुरु भएको ४ दिन बित्दा पनि बन्द सत्र सुरु नभएपछि देभरबाट आएका प्रतिनिधिहरु आक्रोशित भएका थिए । उनीहरुले निर्वाचनको माग राख्दै पार्टी नेतृत्वबिरुद्ध नाराबाजी समेत गरेका थिए ।

उम्मेदवार तय गर्न पनि नेताहरुलाई हम्मे
निर्वाचनका लागि आ-आफ्ना उम्मेदवारको प्यानल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई हम्मे/हम्मे परेको छ । सिटौला देउवा पक्षसँगै मिलेर प्यानल बनाउने कसरतमा जुटेका छन् । देउवा र पौडेल पक्षका नेताहरु प्यानल बनाउने प्रयास गरे पनि सकेका छैनन् । नेतृत्वका लागि आकांक्षीहरुको संख्या धेरै भएकाले प्यानल खडा गर्न समस्या भएको हो ।

अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित सदस्यहरुकै प्यानल बनाउनका लागि शुक्रबार रातिसम्म दुवै पक्षका बैठक र भेलाहरु भएका थिए । सभापति देउवाले आफ्नो पक्षको प्यानल बनाउन निकट केन्द्रीय सदस्यहरुलाई जिम्मा दिएका छन् । दुवै समूहबीच प्रदेश/प्रदेशबीच छुट्टाछुट्टै भेला समेत भएको थियो । संघीय संरचनाअनुसार नेतृत्वको निर्वाचन हुन लागेकाले दुवै पक्षबाट प्यानल बनाउन सम्वन्धित प्रदेशका केन्द्रीय सदस्यहरु निरन्तर जुटेका थिए ।

देउवा पक्षबाट अध्यक्षका लागि नैनसिंह महर, जितजंग बस्नेत, शुभराम बस्नेतले प्रचारप्रसारमा लागेका छन् । जितजंगले मतदाताहरुलाई आकषिर्त गर्न चियापान समेत गरेका थिए । तीनजना मध्ये एकलाई अध्यक्षको उम्मेदवार बनाउन देउवालाई सकस भएको छ । देउवा महरलाई नै अघि बढाउने सोचमा छन् । महरलाई बनाए पनि जितजंग पछि हट्ने संभावना नदेखेपछि देउवा अप्ठ्यारोमा परेका हुन् ।

यता पौडेल पनि त्यस्तै सकसमा छन् । प्यानल बनाउन शुक्रबार रातिसम्म बसेको पौडेल पक्षीय भेलाले मनोजमणि आचार्यलाई अघि बढाउने सोच बनाएको छ । तर, आचार्यलाई दीपक भट्टराई, क्षितिज भण्डारी, आनन्द त्रिपाठी, निलकण्ठ रिजालले नछाड्ने बताउँदै आएका छन् । संस्थापन पक्षले प्यानल घोषणा गरेपछि मात्रै आफ्नो टिम सार्वजनिक गर्ने पौडेल पक्षको तयारी छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया