Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षा दिवसमा ५ सय १४ जना पुरस्कृत हुने, सबै भन्दा धेरै शिक्षक

शुक्रबार, २८ साउन २०७३

भक्तपुर - शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका ब्यक्तिलाई पुरस्कृत गर्ने चलन अनुसार त्यस्ता ब्यक्तिको छनौटको प्रकृया शुरु भएको छ । राष्ट्रिय शिक्षा दिवस २०७३ को अवसरमा यस बर्ष शिक्षक कर्मचारी गरी ५ सय १४ जनालाई पुरस्कृत गर्ने शिक्षा विभागले जनाएको छ । जस मध्ये शिक्षक र विद्यालय ब्यवस्थापन समितिका गरी ४ सय ५० जना पुरस्कृत हुने छन् । जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा विभागका गरी ६४ जना कर्मचारीले पुरस्कार पाउने छन् ।

सामुदायिक विद्यालयमा ५ सय जना सम्म शिक्षक दरबन्दी भएका जिल्लाबाट एक जना शिक्षक, १ हजार जना शिक्षक दरबन्दी भएका जिल्लाबाट २ जना, १ हजार ५ सय शिक्षक दरबन्दी भएका जिल्लाबाट ३ जना र सो भन्दा बढी शिक्षक दरबन्दी भएका जिल्लाहरुबाट ४ जना सम्मका दरले शिक्षकको नाम सिफारिस गर्न सकिने छ ।

त्यस्तै ५ सय वटा सामुदायिक विद्यालय भएको जिल्लाबाट १ जना र ५ सय भन्दा धेरै सामुदायिक विद्यालय भएको जिल्लाबाट २ जनाका दरले शिक्षक, विद्यालयका कर्मचारी ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षासेवी, शिक्षा प्रेमीको नाम सिफारिस गर्न सकिने छ ।

२० देखि १ सय वटा सम्म संस्थागत विद्यालय भएका जिल्लाबाट १ जना र सो भन्दा बढी भए २ जना सम्म शिक्षक, कर्मचारी र ब्यवस्थापन समितिका पदाधिकारीको नाम सिफारिस गर्न विभागले निर्देशन दिएको छ ।
यसका अलावा विभागका ४ जना कर्मचारीले पुरस्कार पाउने छन् भने ७५ वटै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय कार्यालयबाट गरी अरु ४० जना कर्मचारी पुरस्कृत हुने विभागले जनाएको छ ।

सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयलाई त्यस्ता ब्यक्तिको छनौट गरी नाम पठाउन विभागले निर्देशन दिएको हो । 

पुरस्कृत गरिने प्रत्येक व्यक्तिको छुट्टा छुट्टै फारम भराई नाम सिफारिस गर्नु पर्ने छ ।

पुरस्कृत गर्नु पर्ने ब्यक्तिको नाम तयार गरी भदौ ६ गते भित्र जिल्ला शिक्षा कार्यालयले क्षेत्रीयमा बुझाउनु पर्ने छ । प्राप्त विवरण तयार गरी भदौ ८ गते भित्र क्षेत्रीय कार्यालयले विभागको शिक्षक ब्यवस्थापन शाखामा पठाउनु पर्ने गरी निर्देशन दिएको महानिर्देशक खगराज बरालले जानकारी दिए । 

यसरी सिफारिस गर्दा शिक्षक श्रोत ब्यक्तिको हकमा सिकाइ उपलब्धिमा भएको बृद्धि समेत अनिवार्य भर्नु पर्ने ब्यवस्था गरिएको विभागले जनाएको छ । शिक्षा पुरस्कार दावी गर्नका लागि सम्बन्धित ब्यक्तिले भर्ने फारम सहित विभागले निर्देशन दिएको छ ।

प्रकाशित मिति २०७३ साउन २८ गते

प्रतिक्रिया