Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

‘स्मार्ट बोर्ड' ले तान्यो विद्यार्थी

शुक्रबार, २८ साउन २०७३

काठमाडौं २८ साउन / कक्षा कोठामा आधुनिक प्रविधि (मल्टीमिडिया) र अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि सरकारी विद्यालयमा आकर्षण बढ्दै गएको छ ।

सुर्खेतका सरकारी विद्यालयले अंग्रेजी माध्यम पढाउन थालेपछि अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलबाट छुटाएर सरकारी विद्यालयमा भर्ना गर्न थालेका हुन् । कक्षा कोठामा आधुनिक प्रविधिको प्रयोग भएपछि अहिले वीरेन्द्रनगरमा रहेको अमरज्योति नमुना उच्च माविलाई विद्यार्थी थेग्न हम्मेहम्मे भएको छ ।

केही वर्ष अघिसम्म यो विद्यालयमा विद्यार्थीको संख्या उत्साहजनक थिएन । नतिजा पनि सोचेको जस्तो नहुँदा शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सोच्न बाध्य भए । विद्यार्थी जति बोर्डिङ स्कुलमा जान थालेपछि विद्यालयले अंग्रेजी माध्यममा पनि पढाइ सुरु गर्‍यो । २०६७ सालमा कक्षा ६ बाट अंग्रेजी माध्यममा पढाइ सुरु गरेको यो विद्यालयले हाल १० कक्षासम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ सञ्चालन गरिरहेको छ ।

अंग्रेजी माध्यममा पढाइ हुने र बोर्डिङमा भन्दा कम खर्च लाग्ने भएपछि अहिले यो विद्यालयमा विद्यार्थीको ओइरो लागेको छ । यो वर्ष मात्र यो विद्यालयमा दुई सयजना विद्यार्थी बोर्डिङ स्कुल छोडेर भर्ना भएका छन् ।

यस्तै विद्यालयले यो वर्षबाट कक्षा कोठामा मल्टीमिडियाको प्रयोग गरेर पढाइ सुरु गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीलाई आकर्षण गर्न विद्यालयमा इन्ट्रयाक्टिभ प्रिजेन्टेसन बोर्ड (स्मार्ट बोर्ड) मार्फत पढाउन थालिएको छ । डिजिटल प्रविधिबाट पढाइ सुरु भएपछि अहिले विद्यालयलाई विद्यार्थी थेग्नै मुस्किल भएको हो ।

नमुनाको रूपमा कक्षा ६ बाट सुरु भएको (स्मार्ट कक्षा) बिस्तारै १० कक्षासम्म लैजाने तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद उपाध्यायले बताए । ‘सुरुमा ३० जनाको मात्र एउटा सेक्सन बनाएका थियौं, अभिभावक र विद्यार्थीको दबाब थेग्न सकेनौं', प्रधानाध्यापक उपाध्यायले भने, ‘पढाइ राम्रो भएपछि विद्यार्थीको संख्या बढ्यो, अहिले सेक्सन बाँडेका छौं ।

प्रविधिले विद्यार्थीलाई बुझ्न सहज भएको छ, यो वर्ष मात्र बोर्डिङबाट दुई सय विद्यार्थी हाम्रोमा आएका छन् ।' विद्यालयमा अंग्रेजी माध्यम र स्मार्ट बोर्डको प्रयोगबाट पढाइ भएपछि विद्यालयको नतिजामा सुधार आएको उनको दाबी छ ।

स्मार्ट बोर्ड डिजिटल प्रविधि हो । यो प्रविधिमा विद्यार्थीलाई बुझ्न र शिक्षकलाई पढाउन सजिलो हुने गर्छ । कक्षा कोठाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री स्मार्ट बोर्डमा नै हुने भएकाले शिक्षक नहुँदा पनि विद्यार्थीले आफैं पढ्न सक्छन् ।

शिक्षक अशोक राई भन्छन्, ‘पहिलाभन्दा अहिले विद्यार्थीलाई बुझाउन सहज छ, स्मार्ट बोर्डको प्रयोग गरेर विद्यार्थीले इन्टरनेटमा नै विषयवस्तु खोजेर आफंै पढ्न सक्छन् । हामीले पनि धेरै विषय स्मार्ट बोर्डमै खोजेर विद्यार्थीलाई बुझाउने गरेका छौं, यसले विद्यार्थीलाई आकर्षित गरेको छ ।' विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले समयको मागअनुसार आफूहरूले विद्यालयमा डिजिटल प्रविधि भित्रायाएको बताए ।

उनले भने, ‘व्यवस्थापन गर्न सके सरकारी विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छन्, हामीले त्यो अभ्यास थालेका छौं । प्रविधिमैत्री कक्षा कोठाले विद्यार्थीको सिक्ने दरमा पनि वृद्धि भएको छ, गुणस्तरमा पनि सुधार आएको छ ।' साथै उनले जिल्लामा सरकारी विद्यालयतर्फ स्मार्ट बोर्डको प्रयोग गररेर पढाइ सञ्चालन गर्ने विद्यालयमा आफूहरू नै पहिलो भएको बताए ।

विद्यालयमा स्मार्ट कक्षा सञ्चालन भएपछि विद्यार्थी पनि खुसी भएका छन् । कक्षा ६ मा अध्यनरत छात्रा ललिता उपाध्यायले भनिन्,‘पहिलाभन्दा अहिले पढाएको बुझिन्छ, स्मार्ट बोर्डले धेरै सजिलो भयो । हामी सर नहुँदा पनि आफैं पढ्न सक्ने भएका छौं, स्मार्ट बोर्डले गर्दा इन्टरनेटबाट पनि खोजेर पढ्ने गरेका छौं ।' यस्तै सोही कक्षामा अध्यनरत छात्र पूर्णप्रसाद रेग्मीले भने, ‘यहाँ अंग्रेजीमै पढाइ हुन्छ, बोर्डिङ नै किन जानु पर्‍यो र ?

मल्टीमिडियाले पनि हामीलाई सिक्न सजिलो भएको छ, सरले पढाएको पनि राम्रोसँग बुझेका छौं ।' विद्यालयले स्मार्ट बोर्डमार्फत कक्षा सञ्चालनका लागि सुरुमा शिक्षकलाई पनि तालिम दिएको थियो । विद्यालयका शिक्षक भूपेन्द्र विसी भन्छन्, ‘स्मार्ट बोर्डले विद्यार्थीको पढाइमा रुचि बढाएको छ, यसले उनीहरू कक्षामा पनि सक्रिय हुने गरेका छन् ।'

प्रविधिमैत्री कक्षा कोठा बनाउन सके सरकारी विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढ्ने उनको भनाइ छ । यस्तै शिक्षक लोकेन्द्र सुवेदीले मल्टीमिडियाका कारण विद्यार्थीलाई विषयवस्तु बुझाउन आफूहरूलाई सहज भएको बताए ।

ललितबहादुर बुढाले अन्नपूर्ण पाुष्टमा लेखेको खबर

प्रतिक्रिया