Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

नेविसंघमा फेरि सूची विवाद

शुक्रबार, २८ साउन २०७३

काठमाडौं २८साउन / नेपाल विद्यार्थी संघको जारी महाधिवेशनमा फेरि सूची विवाद निस्किएपछि बिहीबार पनि बन्दसत्र सुरु हुन सकेन । प्रतिनिधि विवाद भागबण्डाको आधारमा बुधबार विहानै मिलाइए पनि थप गरिएका प्रतिनिधिका सूची प्राप्त नभएका कारण बन्दसत्र सुरु हुन नसकेकोनिर्देशन समितिका संयोजक प्रकाशरण महतले बताए ।

प्रतिनिधि विवाद मिलाउन कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समर्थक विद्यार्थी समूहलाई २ सय १५ र नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्मालाई १ सय १० प्रतिनिधि थप दिनेगरी समझदारी बुधबार भएको थियो ।

उक्त समझदारी अनुसार सिटौला र शर्मा समूहका विद्यार्थी नेताहरुले प्रतिनिधिको सूची नबुझाएपछि बिहीबार सुरु हुने भनिएको बन्दसत्र र अन्तिम मतदाता नामावली प्रकाशित गर्ने प्रकृया अघि बढ्न नसकेको हो । यता सिटौला पक्षीय विद्यार्थीले पौडेल समूहले पुरानो मतदाता सूचीलाई परिवर्तन गरी आफू अनुकुल प्रतिनिधि ल्याउन खोजेको बताउँदै त्यसलाई नरोकेसम्म सूची नदिने अडान लिएको छ ।

अधिवेशन नभई भागबण्डाका आधारमा आएका ११ जिल्लाका प्रतिनिधि खारेज गरी विधिवत् अधिवेशन गराउनुपर्ने माग गर्दै सिटौला र शर्मा पक्षीय विद्यार्थी समूह आमरण अनशनमा बसेका थिए । उनीहरुले उठाएका माग सम्वोधन गर्न सिटौला र शर्मा समूहलाई थप महाधिवेशन प्रतिनिधि दिने समझदारी भएको हो । समझदारी भए पनि सिटौला र शर्मा समूहले आफ्नो विश्वासका विद्यार्थी प्रतिनिधि जुटाउन हम्मे परेका कारण समस्या आएको निर्देशन समितिकै अर्का एक सदस्यले बताए । महतले रोकिएका सवै प्रकृया शुक्रबार अघि बढ्न सक्ने बताए । 'समझदारी अनुसार थप प्रतिनिधिको सूची प्राप्त नभएकै कारण अन्तिम नामावली प्रकाशित हुन सकेन'महतले भने,'शुक्रबार विहान जसरी पनि प्रकृया अघि बढाउने तयारीमा छौ ।'

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया