Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

पढ्नका लागि बैंक ऋण

विहीबार, २७ साउन २०७३

काठमाडौं - पैसा नभएकै कारण कोही पनि विद्यार्थी पढाईबाट बञ्चित हुनु नपरोस् भन्ने उद्धेश्यले हिलसाइड कलेज अफ इञ्जिनियरिङले माछापुच्छ्रे बैकको सहकार्यमा विद्यार्थीलाई ऋण उपलब्ध गराउने योजना लागू गरेको छ । बैंकको सेवा क्षेत्र भित्र पर्ने देशको जुनसुकै ठाउँका विद्यार्थी यो योजनामा सहभागि हुन सक्ने कलेजले जनाएको छ । १३ बर्षका लागि उपलब्ध हुने यो ऋण योजना अन्र्तगत विद्यार्थीले ४ बर्षको कोर्ष सकेर जागिर खान थाले पछि बाँकि ८ बर्ष भित्रमा तिर्न सक्नेछन् । बाँकी एक बर्ष विद्यार्थीलाई जागिर खोज्नका लागि आवश्यक पर्न सक्ने अड्कल काटेर छुट्याईएको हो । 

कोटेश्वरमा रहेको यस कलेजमा इञ्जिनियरिङ पढ्न ४ बर्षका लागि ८ लाख ३७ हजार ५ सय रुपैंया शुल्क लाग्छ । यो मध्ये कलेजले भूकम्प पिडीत, दलीत जनजाती, दुर्गम लगायतका क्षेत्रका लागि १ लाख रुपैंया सम्मको छात्रवृत्ति उपलब्ध गराउँदै आएको कलेजले जनाएको छ । विश्वविद्यालयलाई बार्षिक रुपमा बुझाउनु पर्ने प्रति विद्यार्थी झण्डै १२ हजार रुपैंया, सर्वेका लागि विभिन्न ठाउँमा विद्यार्थीलाई लैजाँदा लाग्ने खर्च, ४ वर्षकै लागि विद्याथीलाई आवश्यक कितावहरुको एक सेटको खर्च तथा सेवा शुल्क लगायतका खर्च बाँकी रकमबाटै ब्यवस्थापन गर्ने कलेजले जनाएको छ ।

८ प्रतिशत ब्याजदरमा प्रवाह हुने यो ऋण अन्र्तगत विद्यार्थीले ५ बर्ष सम्म ब्याज मात्रै तिर्छु भन्दा पनि पाउने छ । इञ्जिनियरिङ पढ्ने क्षमता भएका तर पैसा नभएका कारण पढ्न नपाएका विद्यार्थीलाई ध्यान दिएर यो योजना अघि सारेको कलेजका प्रवन्ध सञ्चालक गोपिकृष्ण न्यौपानेले बताए ।

'हामी शिक्षालाई कमाउ धन्दा मात्रै बनाउने सोचमा पटक्कै छैनौं, शिक्षा भनेको सेवा हो' न्यौपानेले भने 'थोरै पैसा अहिले तिरेर बाँकी पढि सकेर जागिर खान थालेपछि तिर्छु भन्ने विद्यार्थीलाई सेवा दिन हामीले बैंकसंग सहकार्य गरेर योजना अघि बढाएका हौं ।'

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर तीन बर्ष अघि खुलेको कलेजमा सिभिल तथा इलेक्ट्रिकल इञ्जिनियरिङमा पढाई हुँदै आएको छ ।

कलेजमा बिइ सिभिल तर्फ ९६ र बिइ इलेक्ट्रिकल तर्फ ४८ जनाको कोटा रहेको प्रिन्सिपल डा. केएन दुलालले जानकारी दिए । दक्ष फ्याकल्टी, आधुनिक ल्याब सहित सञ्चालित कलेजका प्रिन्सिपल दुलाल जापानबाट जल श्रोतमा पिएचडी हुन् ।

शिक्षा विभागका पूर्व महानिर्देशक समेत रहेका पूर्व गृह सचिब जनार्दन नेपाल कलेजका अध्यक्ष छन् । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष प्रा. डा. गोबिन्दराज पोखरेल, योजना आयोगकै पूर्व सदस्य डा. सुनिलबाबु श्रेष्ठ जस्ता इञ्जिनियरिङ क्षेत्रका ख्याति प्राप्त ब्यक्तिहरु सहित इञ्जिनियरिङ क्षेत्रका चर्चित विभिन्न २५ जना प्राध्यापकहरुको लगानी रहेको कलेजले जनाएको छ ।

कलेजले इन्टनसिप लगायत पढाई सकिए पछि जागिरका लागि एनसेट, विभिन्न हाइड्रोपावर कम्पनी, विभिन्न कन्स्ट्रक्सन कम्पनीहरुसँग सहकार्य गर्दै आएको दुलालले बताए । 

कलेजले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोले इञ्जिनियर बन्न बिदेश नै जानुपर्छ भन्ने मान्यता र बाध्यतालाई धेरै हद सम्म कम गरेको दावी गरेको छ । जसले गर्दा स्वदेशी मुद्रा जोगाउन पनि सफल भएको उनको दावी छ ।

प्रकाशित मिति २०७३ साउन २७ गते

प्रतिक्रिया