Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षक माग्दै विद्यार्थी आन्दोलित, प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र

विहीबार, २७ साउन २०७३

- दिपक अनुरागी / कपिलवस्तु - विषयगत शिक्षकको अभाव तत्काल हटाउनु पर्ने लगायतका माग सहित कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवाका विद्यार्थी आन्दोलित भएका छन् । आफुहरुको माग प्रति क्याम्पस प्रशासनले वेवास्ता गरेको भन्दै विद्यार्थीले क्याम्पस प्रमुखको कुर्चि समेत जलाईदिएका छन् । सबै संकायमा बिषयगत शिक्षकको ब्यवस्था, स्नातकोत्तर कक्षा र बिज्ञान संकायको नियमित पढाई, क्याम्पस मै परीक्षा केन्द्र कायम हुनु पर्ने तथा क्याम्पस ब्यवस्थापन समितिको यथाशीघ्र निर्वाचन हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले क्याम्पस प्रशासन मार्फत् प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र पठाएका छन् ।

लामो समय देखि क्याम्पसमा पठनपाठन नियमित नभएको, विषयगत शिक्षकको अभाव लगायतका माग आफुहरुको भएको विद्यार्थी नेता निशान खड्काले बताए । क्याम्पस ब्यवस्थापन समिति र क्याम्पस प्रशासनले नियमित पठनपाठन संचालन गर्न ध्यान नदिएको विद्यार्थीको आरोप छ । पटक पटक राखेको माग प्रति कुनै सुनुवाई नगरेकोले बाध्य भई आन्दोलनमा उत्रनु परेको विद्यार्थी दुर्गा नारायण मिश्र बताउँछन् ।

क्याम्पस प्रमुख बिष्णु देव यादव धेरै दिन घर बिदामा बस्ने र क्याम्पसमा हुने पढाईका बारेमा खासै चासो नदिएकाले पनि समस्या बढदै गएको बिद्यार्थीको आरोप छ । सहायक क्याम्पस प्रमुख नवराज तिवारीले बिद्यार्थीको मागका बिषयमा आफुलाई अझै सम्म स्पष्ट रुपमा थाहा नभएको दाबी गरे । आफूहरुले निकै पहिले प्रमुख यादवलाई अवगत गराएको मागका बारेमा सहायक क्याम्पस प्रमुख सहित अन्य प्राध्यापकहरु समेत अनविज्ञ हुँदा विद्यार्थी झन् धेरै शाक्रोशित भएका छन् । विद्यार्थीको मागबारे प्रध्यापकहरु भने मौन छन् ।

क्याम्पस ब्यवस्थापन समितिको निर्वाचन बिगत ७ बर्ष देखि हुन सकेको छैन । लामो समय देखि समितिको बैठक समेत बसेको छैन ।

प्रकाशित मिति २०७३ साउन २७ गते

प्रतिक्रिया