Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

शिक्षामा कामै नगरी करोडौं रकम निकासा

विहीबार, २७ साउन २०७३

काठमाडौं २७ साउन / जिल्ला शिक्षा कार्यालय जाजरकोटले भौतिक पूर्वाधारतर्फको करीब साढे ७ करोड रुपैयाँ काम नै सम्पन्न नभई विद्यालयलाई निकासा दिएको छ । विद्यालय भवनअन्तर्गत आठकोठे चारओटा, ६ कोठे चारओटा, चारकोठे सातओटा, तीनकोठे १५ ओटा र दुईकोठे भवन ९ ओटा विद्यालयले आव २०७२/७३ भित्रै सक्नुपर्ने काम सकेका छैनन् । तर, ती सबै विद्यालयको खातामा रकम निकासा गरिएको कार्यालयले बताएको छ ।

शिक्षा कार्यालयका अनुसार क्रमागत चारकोठे भवनका लागि कुल ३२ लाखमध्ये पहिलो वर्ष १८ लाखका दरले चारओटा विद्यालयलाई १ करोड २६ लाख रुपैयाँ खातामा भुक्तानी गरिएको छ । त्यस्तै, ६ कोठे विद्यालय भवनका लागि कुल ४८ लाख रुपैयाँमध्ये पहिलो वर्ष १८ लाखका दरले ३ विद्यालयको खातामा ५४ लाख र आठकोठे भवनका लागि कुल ६० लाख छुट्ट्याइएकोमा पहिलो वर्ष १८ लाखका दरले चारओटा विद्यालयमा ७२ निकासा भएको हो ।
यी क्रमागत सबै भवनका लागि शुरूमा ५० प्रतिशत पेश्की दिइएको र उक्त पेश्की फछ्र्योट नहुँदै थप ५० प्रतिशत भुक्तानी दिइएको छ । त्यस्तै, दुईकोठे र तीनकोठे भवन असार मसान्तभित्रै सक्नुपर्नेमा अधिकांशले काम सकेका छैनन् । तर, दुईकोठे भवनका लागि साढे तेह्र लाखका दरले ९ ओटा विद्यालयलाई १ करोड २१ लख ५० हजार र तीनकोठेका लागि साढे १९ लाखका दरले १५ ओटा विद्यालयको खातामा २ करोड ९२ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको पाइएको छ।

यसैगरी बाह्य वातावरण शीर्षकअन्तर्गत ४ लाखका दरले कामै नगरेका १५ विद्यालयलाई ६० लाख रुपैयाँ निकासा गरिएको छ । त्यस्तै, छात्रा शौचालयका लागि दुईओटा विद्यालयलाई ८ लाख रुपैयाँ निकासा गरिएको छ । तर, ती विद्यालयहरुले अझै काम सम्पन्न गरेका छैनन् ।

निर्माणाधीन अधिकांश भवनमा मापदण्डविपरीत र गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यामबहादुर बुढाले बैङ्कमा रकम निकासा गरिसकेपछि खाता रोक्न नमिल्ने बताए । कार्य सम्पन्न प्रतिवेदन र बिल नउठाएसम्म भुक्तानी दिन नमिल्ने भन्दै उनले आन्तरिक लेखा परीक्षण गर्दा कडाइका साथ हेर्न निर्देशन दिने उल्लेख गरे ।

विद्यालयको खातामा निकासा गरे पनि रकम भुक्तानी नदिएर खाता रोक्का गरेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । यता, जिल्ला शिक्षा कार्यालयले भने भौतिक पूर्वाधारको कार्यक्रम परेका २ सय ६२ विद्यालय मध्ये ९० ओटाको बैङ्क खाता रोक्का गरिएको बताएको छ ।

५५ ओटा विद्यालयले असार मसान्तसम्ममा काम नसेकपछि बजेट फिर्ता हुन नदिन यस्तो कदम चालिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । यी सबै कामका लागि जिल्लाका ५५ विद्यालयको खातामा ७ करोड ३४ लाख रुपैयाँ निकासा गरेर बैङ्क खाता रोक्का गरिएको उनले जानकारी दिए । लामो समयको नाकाबन्दी, निर्माण सामग्रीको अभाव आदि कारणले समयमा काम सम्पन्न हुन नसकेको हुँदा जिल्लामा आएको बजेट किन फ्रिज गर्ने भनेर विद्यालयहरूले काम सम्पन्न गरेपछि भुक्तानी दिनेगरी खातामा रकम निकासा गरिएको जिल्ला शिक्षा अधिकारी सिंहले दाबी गरे ।

जिल्ला शिक्षा कार्यालयले ती विद्यालयको खाता रोक्का गरिदिन भन्दै नेपाल बैङ्क लिमिटेडमा पत्र पठाएको बताइएकोे छ । ६ महीनाअघि नै विद्यालय भवनलगायत भौतिक पूर्वाधार निर्माणका लागि कार्यालयसँग सम्झौता गरिएको भए पनि विद्यालयको उदासीनता र लापरबाहीले समयमा काम सम्पन्न हुन नसकेको बताएको छ ।

विद्यालयमा हुने राजनीतिक खिचातानी, विद्यालय व्यवस्थापन समितिभित्रको विवादका कारण निर्माण समिति गठनमा ढिलाइ आदि कारणले थप समस्या देखिने गरेको जिल्ला स्तरीय शैक्षिक सुधार सञ्जालका सदस्य राजेन्द्रविक्रम शाहले बताए । कामै नगरेर विद्यालयको खातामा रकम निकासा गर्ने गलत प्रवृत्तिका कारण गतवर्ष नै काम सक्नुपर्ने केही विद्यालयले अझै काम सम्पन्न नगरेको उनले जानकारी दिए । ‘जिल्ला शिक्षा कार्यालयका इञ्जिनीयर जगत आरसीले काम नभएका विद्यालयको बिल नउठाएको जानकारी दिँदै भने, ‘काम भएपछि बिल उठाउने र त्यसपछि मात्र खाता फुकुवा गरिनेछ  ।’

आकाश तारा बयकले अभियानमा लेखेको खबर ।

प्रतिक्रिया