Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

निजी विद्यालय बन्द गरिने

विहीबार, २७ साउन २०७३

काठमाडौं २७ साउन / दर्ता भएर पनि सञ्चालनमा नआएका २७ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय ललितपुरले बन्द गराउने भएको छ । कागजी रूपमा सञ्चालनमा देखिए पनि निष्क्रिय रहेका विद्यालय बन्द गराउन लागिएको हो ।

जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले भने, ‘कार्यालयले अनुसन्धान गर्दा अनुमति लिएर पनि सञ्चालनमा नआएकाहरूमा प्रावि, निमावि र मावि तीनै तहका विद्यालय छन् ।’

पहिले अनुमति लिएका सञ्चालकले पछि कुनै दिन सञ्चालन गर्ने वा बेच्ने उद्देश्यले विद्यालय ‘होल्ड’ गरिरहेका हुन् । कार्यालयले गत मङ्सिरबाट स्रोत व्यक्ति परिचालन गरेर अनुगमन शुरू गरेको थियो । शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयलाई गत असारभित्रै विद्यार्थी सङ्ख्या शून्य भएका विद्यालय बन्द गराउन निर्देशन दिएको थियो ।

कारबाहीको सिफारिशमा परेका २७ विद्यालयमध्ये सातओटाले नियमित रूपमा सञ्चालनमा रहेको दाबी गरेका छन् । ‘सरोकारवालासँगको छलफलपछि आगामी भदौ १ गते ती विद्यालयको नाम सार्वजनिक हुनेछ,’ पुरीले भने, ‘प्याब्सन, एनप्याब्सनलगायत सरोकारवालासँग अझै एक चरण छलफल हुनेछ ।’

विद्यालयले नियमित रूपमा विवरण बुझाए/नबुझाएको, कर चुक्ता भए÷नभएको, व्यवस्थापन समितिको गठन भए÷नभएको, जिल्लास्तरीय वा प्रवेशिका परीक्षामा सहभागी भए/नभएको हेरेर त्यसका आधारमा विद्यालय सञ्चालनको अवस्था पत्ता लगाइएको कार्यालयले बताएको छ ।

अभियानमा प्रकाशित खबर ।

प्रतिक्रिया