Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

अज्ञात रोग देखिएपछि विद्यालय बन्द

विहीबार, २७ साउन २०७३

काठमाडौं २७ साउन / विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ ।

कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । मङ्गलबार तीनजना छात्रा एक्कासि बेहोस भएकामा बुधबार १५ जनाजति छात्रा बेहोस भएको स्थानीयवासी अभिभावक दिनेश सिंहले जानकारी दिनुभयो ।

एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्, उहाँले भन्नुभयो – “छात्राहरुमा अनौठो प्रकारको रोग देखापरेपछि बुधबार विद्यालय बन्द गरिएको छ ।” छात्राहरुमा के कारणले त्यस्तो समस्या देखियो भन्ने थाहा हुन सकेको छैन ।

यसैबीच, दार्चुला जिल्लाको खण्डेश्वरीमा रहेको खण्डेश्वरी उच्च मावि क्षति मार्मामा बुकमाण्डौँ नामक गैरसरकारी संस्थाले ५०० किताब हस्तान्तरण गरेको छ ।

विभिन्न विषयका पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको खण्डेश्वरी उच्च माविका प्राचार्य करवीरसिंह बोहराले जानकारी दिनुभयो ।

‘एक हात एक पुस्तक’ अभियानअन्तर्गत पुस्तक वितरण गरिएको बुकमाण्डौँका अध्यक्ष सुमन खतिवडाले जानकारी दिनुभयो । सुदूरपश्चिममा पहिलोपटक दार्चुलाको दुर्गम गाविसमा पुस्तक वितरण गरिएको उहाँले बताउनुभयो ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया