Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षा विभागकै बजेट फ्रिज, कुनै निकाय छैनन् अछुतो

बुधबार, २६ साउन २०७३

- हरिसुन्दर छुकां / भक्तपुर गत आर्थिक वर्षमा शिक्षा मन्त्रालय अन्र्तगतका निकायहरुको लागि चालू र पूँजीगत शिर्षकमा विनियोजित रकमको ठूलो हिस्सा फ्रिज र फिर्ता भएको छ । आव २०७२/७३ मा शिक्षा विभागको मात्रै ८४ लाख ७० हजार ६ सय १० रुपैंया फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

शिक्षाका निकायको रकम फ्रिज र फिर्ता गराउने कार्यालयहरुमा भक्तपुरमा रहेका कुनै पनि शिक्षा सम्बद्ध कार्यालय अछुतो नरहेको कोलेनिका भक्तपुरका प्रमुख कोष नियन्त्रक राजेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार रकम फ्रिज र फिर्ता पठाउने कार्यालयहरुमा विभाग देखि पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय, अनौपचारिक शिक्षा केन्द्र, शैक्षिक तालिम केन्द्र(ख), शिक्षक सेवा आयोग र जिल्ला शिक्षा कार्यालय रहेका छन् ।

पूँजीगत अन्तर्गत शिक्षा विभाग सहित, परीक्षा नियन्त्रण कार्यालयको ४ लाख ११ रुपैंया, अनौपचारिक शिक्षा केन्द्रको ३ लाख, शैक्षिक विकास तालिम केन्द्र (ख) को १ लाख ३३ हजार ९ सय ६ रुपैंया फ्रिज भएको छ । यस्तै शिक्षक सेवा आयोगको १ लाख ५४ हजार ७ सय ९ रुपैंया रकम फ्रिज भएको छ । जिल्ला शिक्षा कार्यालयको १ लाख ८५ हजार २ य ५१, पाठ्यक्रम विकास केन्द्रको १ लाख ३९ हजार ३ सय ४८ रुपैंया फ्रिज भएको उनले बताए ।

ती निकायहरुलाई आर्थिक वर्ष २०७२ का लागि सरकारले चालू शिर्षकतर्फ १ अर्व ७८ करोड ३४ लाख २१ हजार ४ सय ४३ रुपैंया विनियोजन भएकोमा ५२ दशमलव ३९ प्रतिशत मात्र खर्च भएको र बाँकी रकम फिर्ता भएको छ । ती कार्यालयहरुबाट एकमुष्ट रु. ९३ करोड ४४ लाख ८ हजार ७ सय ८ रुपैंया खर्च भएको प्रमुख कोष नियन्त्रक श्रेष्ठले बताए ।

उनले पूँजीगत अन्तर्गतको ३ करोड ८ लाख ४६ हजार ९ सय ५९ रुपैंया खर्च रहेको  छ भने अझै ९७ लाख ८३ हजार ८ सय ४१ रुपैंया फ्रिज भएको बताए । कूल रकममध्ये ७५ दशमलव ९२ प्रतिशत बराबरको रकमको विभिन्न काम गरेको देखिएको छ ।

कोलेनिकाले बजेट फ्रिज हुनुमा सम्बन्धित निकायले समयमै भौतिक निर्माणको कामको लागि आवश्यक प्रक्रिया अघि नबढाउनु मुख्य कारण रहेको जनाएको छ ।

प्रकाशित मिति २०७३ साउन २६ गते

प्रतिक्रिया