Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

विद्यालय बगाएपछि खुला आकासमा पढाइ

बुधबार, २६ साउन २०७३

काठमाडौं २६ साउन / जाजरकोटको लहँ–४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकासमा पढाइ गर्न बाध्य छन् । गत असार दोस्रो साता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकासमा पढ्न बाध्य भएका हुन् ।

बाढीले विद्यालयका दुई भवन, चर्पी, खानेपानी ट्याङ्की बगाएपछि खुला आकासमा पढाउनु परेको प्रधानाध्यापक बलबहादुर रावलले बताउनुभयो । बाढीले विद्यालय क्षेत्र बगरमा परिणत भएको छ । यही बगरमा विद्यार्थीलाई राखेर पढाउन बाध्य छौँ, उहाँले भन्नुभयो । पानी पर्दा र चर्को घाम लागेपनि पढाइ बन्द गर्नुपर्ने बाध्यताबीच फेरि बाढीपहिरो आउने हो कि भन्ने डर पनि लागिरहन्छ, उहाँले उल्लेख गर्नुभयो ।

“पठनपाठन सञ्चालन गर्नका लागि अन्यत्र ठाउँ पनि छैन । यस बगरमा टहरो बनाउन पनि सकिएको छैन । विद्यालयमा न चर्पी छ, नत खानेपानीको व्यवस्था छ,” उहाँले भन्नुभयो । बाढीले विद्यालयको सम्पूर्ण भौतिक संरचनाको नाम निसाना नै राखेन, रावलले भन्नुभयो ।

विद्यालयमा बस्ने ठाउँ नहँुदा विद्यार्थी विद्यालय आउन छाडेका छन् । पहिरोको जोखिम भएकाले बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिभावक तिलबहादुर रावलले बताउनुभयो ।

विद्यालय भवन नहुँदा पिपलचौरका छ दर्जन विद्यार्थी पठनपाठनबाट वञ्चित भएकोे उहाँले उल्लेख गर्नुभयो । ५ कक्षासम्मको पढाइ सञ्चालन हुने विद्यालयका बालबालिका बगरको चिसो बालुवा र माटोमा बसेर पढाइ गर्दा बिरामी पर्ने गरेको प्रधानाध्यापक रावलले बताउनुभयो ।

बाढीले बगाएको विद्यालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालय, अन्य सङ्घ संस्थालगायतमा अनुरोध गर्दा पनि कतैबाट पनि सहयोग नभएको उहाँले गुनासो गर्नुभयो ।

स्थानीय गुर्से खोलामा आएको बाढीेले पिपलचौर गाउँका २६ घरपरिवार पहिरोको जोखिममा परेका छन् । लहँ गाविस भवन जोड्ने सडक र नलसिंहगाड पहुँच सडक खन्दा जथाभावी फालेको माटोका कारण बाढी पहिरो आएको प्रधानाध्यापक रावलले बताउनुभयो ।

बाढीले विद्यालय भवन बगाएर रु ७० लाखको क्षति पु¥याएको प्रधानाध्यापक रावलले उल्लेख गर्नुभयो ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया