Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

उपकुलपतिलाई ताला तगारो

विहीबार, १७ भदौ २०७२

काठमाडौं १७ भदौ / नौ दिनअघि नियुक्त भएका पाँच विश्वविद्यालयका उपकुलपतिले तालाबन्दीका कारण कार्यकक्षबाटै काम सुरु गर्न पाएका छैनन्। केन्द्रीय कार्यालयमा विभिन्न संगठनले तालाबन्दी गरेकाले उनीहरू सम्पर्क कार्यालयमा हाजिर हुने गरेका छन्।

सत्ता साझेदार नेकपा एमालेस"ग सहमति नगरी प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशील कोइरालाले सातमध्ये पा"च विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका थिए। तर सरकारले विगतकै प्रवृत्तिलाई निरन्तरता दिँदै राजनीतिक कोटामा नियुक्त गरेको भन्दै विभिन्न दलनिकट संघ/संगठनले अवरोध गरेकाले उपकुलपतिहरूले काम थाल्न पाएका छैनन्।

कुलपति कोइरालाले एकलौटी रूपमा कांग्रेस पक्षधरलाई चार विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेको भन्दै एमालेनिकट प्रगतिशील प्राध्यापक संगठन र मधेसी दलनिकट लोकतान्त्रिक प्रध्यापक संघले पाँचवटै विश्वविद्यालयमा छुट्टाछुट्टै तालाबन्दी गरेका छन्।

विश्वविद्यालयहरूको मुख्य गेटमै तालाबन्दी गरिएकाले उपकुलपतिहरूले आआफ्नो कार्यालयमा प्रवेश समेत गर्न पाएका छैनन्। यसले विश्वविद्यालयमा ठूलो शैक्षिक क्षति भइरहेको विश्वविद्यालयका प्राध्यापकहरूले बताए।

त्रिभुवन विश्वविद्यालयको मुख्य गेटमा प्रगतिशील र लोकतान्त्रिक प्राध्यापक संगठनले ताला लगाइदिएकाले उपकुलपति, रजिस्ट्रार, रेक्टर, विज्ञान र मानविकी डिन कार्यालयका पदाधिकारीको कामकारबाही पनि प्रभावित भएको प्राध्यापक योगेन्द्रनारायण बडबडियाले बताए। बडबडिया त्रिवि प्रध्यापक संघका सभापति पनि हुन्।

प्रधानमन्त्री सुशील कोइरालाले भदौ ७ गते कांग्रेस कोटाबाट चार र माओवादी कोटाबाट एक विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका थिए। कांग्रेस कोटामा त्रिभुवन विश्वविद्यालयमा तीर्थराज खनियाँ, नेपाल संस्कृत विश्वविद्यालयमा कुलप्रसाद कोइराला, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भूषण श्रेष्ठ र पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास उपकुलपति नियुक्त गरेका थिए। कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा भने एमाओवादीनिकट ईश्वरीप्रसाद ढकाल नियुक्त भएका हुन्।

अन्तिम समयमा भागबन्डा नमिलेर एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनले उम्मेदवारको नाम कुलपतिलाई बुझाएको थिएन। उपकुलपतिको नियुक्तिकै दिन संगठनले विश्वविद्यालयहरूको मुख्य र उपकुलपति कार्यकक्षमा तालाबन्दी गरेको छ।

'पहिला कांग्रेसस"ग त्रिवि लिनेले तीनवटा विश्वविद्यालय लिने र बा"की चारवटा अर्कोेले लिने सहमति भयो। तर कांग्रेसले एकलौटी रूपमा त्रिविसहित चारवटा लियो,' संगठनका अध्यक्ष यादव लामिछानेले भने, 'सहमतिविपरीत उपकुलपति नियुक्ति गरेपछि हामी बाध्य भएर तालाबन्दीमा गएका हौं।' उनले सहमतिअनुसार नियुक्ति नभएसम्म तालाबन्दी जारी रहने बताए।

त्रिविका नवनियुक्त उपकुलपति खनिया" हाल बल्खुमा रहेको जनप्रशासन क्याप्पसमा आउजाउ गरिरहेका छन्। 'उपकुलपतिहरूलाई बस्ने ठाउँसमेत नभएर नवनियुक्ति उपकुलपतिहरू बाहिरै बसेर दिन काटिरहेका छन्,' बडबडियाले नागरिकसँग भने, 'उपकुलपति नियुक्ति गर्नेले बौद्धिक चोरी भन्ने विषय बुझेकै छैनन्। सत्ताधारीको मन जित्ने उपुकलपति हुँदा रहेछन्।'

त्रुटिपूर्ण नियुक्ति प्रक्रियाका कारण विश्वविद्यालयको शैक्षिक सुधारसमेत हुन नसकेको उनको ठहर छ। यसअघि हीराबहादुर मजर्हन उपकुलपति नियुक्त हुँदासमेत प्राध्यापकहरूले पटकपटक गरी चार महिना तालाबन्दी गरेकाले शैक्षिक तथा प्रशासनिक कामकारबाही प्रभावित बनेको उनले सुनाए। उनले विश्वविद्यालयमा भित्रिएको राजनीतिका कारण पठनपाठन र मूल्यांकन समयमा हुन नसकेको जनाए।

कृषि तथा वन विज्ञानका उपकुलपति नवनियुक्ति ईश्वरीप्रसाद ढकालले राजनीति टीका लगाएर नियुक्त हुँदा प्राध्यापकहरूको मर्यादामा समेत ठेस पुग्ने गरेको जिकिर गरे। माओवादी प्राध्यापक संगठनले आफूलाई सिफारिस गरेकाले नियुक्ति पाउँदा खल्लो महसुस भएको उनले बताए। 'उपकुलपतिमा मेरो नियुक्ति माओवादीनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले गरेर भएको हो,' ढकालले नागरिकसँग भने, 'तर वनविज्ञान विश्वविद्यालयमा ३४ वर्षदेखि अध्यापन पेसामा गरेको मेहनत माओवाटीको टीका लागेपछि सिद्धिएको जस्तो महसुस भएको छ।

उनले प्राध्यापकहरूले बानेश्वरमा रहेको सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय दुवैमा तालाबन्दी गरेकाले सम्पर्क कार्यालयको एउटा कोठामा पदबहाली गरेको सुनाए। उनले प्राज्ञिक क्षेत्र धरासायी हुनुमा राजनीतिक नियुक्ति नै मूल कारण भएको पनि बताए।

'विदेशतिर उपकुलपति पद निकै प्रतिष्ठित मानिन्छ। नियुक्ति पनि प्राज्ञिकहरूको बायोडाटा, विश्वविद्यालय हाँक्न सक्ने उसको कार्ययोजना र उसले गरेको अनुसन्धान तथा प्रशासनिक अनुभव हेरिन्छ,' उपकुलपति ढकाललेे नागरिकसँग भने, 'तर हामीकहाँ टीके प्रवृत्ति रहेकाले उपकुलपति नियुक्त हँुदा समेत गर्व गर्न सकिन्दैन।'

दलले नियुक्ति गरेपछि पदाधिकारीहरू विश्वविद्यालयको हितमा नभई दलको हितमा लाग्ने प्रवृत्ति हावी हुनाले विश्वविद्यालयको गरिमा जोगाउन नसकेको उनको भनाइ छ।

उपकुलपति ढकालले कुलपति तथा प्रधानमन्त्रीले आन्दोलनरत प्राध्यापकहरूलाई सहमतिमा ल्याएर ताला खुलाई काम गर्ने वातावरण मिलाउन माग गरेका छन्। उनले कार्यकक्षमा तालाबन्दीका कारण शैक्षिक, आर्थिक तथा प्रशासनिक काम ठप्प बनेको बताए।

त्रिवि विज्ञान तथा प्रविधि संकायकी डिन चिरिकशोभा ताम्राकारले प्राध्यापकहरूले विश्वविद्यालयको मूलगेटमै तालबन्दी गर्दा विद्यावारिधि दर्ता, अनुसन्धानकार्य, सम्बन्धन तथा भर्नाको कार्यक्रमसमेत ठप्प बनेको जनाइन्।

नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको गरी आधा दर्जनभन्दा बढी तालाबन्दी छन्। उपकुलपति कोइरालाले विश्वविद्यालय प्रवेशसमेत गर्न नपाएको जनाए। 'घरै बसेर सरकारी सेवा सुविधा उपभोग गर्नुको विकल्प नै छैन,' उनले भने।

उपकुलपतिलाई काम गर्ने वातावरण तयार गर्न नसकेर सरकारले आलोचना खेप्नुपरेको नेपाल राष्ट्रिय प्राध्यापक संगठनका महासचिव पूर्ण लामिछानेले जनाए।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्त भएकी भूषण श्रेष्ठले काम गर्न नपाएकोमा दुखेसो पोखिन्। 'आन्दोलन चलिरहेको छ, कार्यकक्षमा प्रगतिशील प्राध्यापक संगठनको तालाबन्दी पनि छ,' उपकुलपति श्रेष्ठले भनिन्, 'कागजात विश्वविद्यालयमै छन्। सरकारले नियुक्ति गरेर हामी उपकुलपति भएका हौं। ताला खुलाएर सरकारले काम गर्ने वातावरण तयार पार्नुपर्छ।'

प्रगतिशील प्राध्यापक संगठनले विश्वविद्यालयमा उपकुलपति नियुक्तिको विरोध गर्दै तालाबन्दी गरेपछि एमालेले नेता माधवकुमार नेपालको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ। 'यो समितिले ताला खुलाई आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने कार्य गर्ने भनिएको थियो,' संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाले भने, 'तर समीतिले समेत तालाबन्दी गर्नेलाई नै सहयोग गरिरहेको छ।'

नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया