Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

नयाँ शिक्षा मन्त्री चयनमा ढिलाई हुनुका भित्रि कुरा

मंगलबार, २५ साउन २०७३

- श्रीधर पौडेल काठमाडौं आफूले चाहेको मन्त्रालय नपाएको झोंकमा अन्तिम समय सपथ ग्रहणमा नगएका काँग्रेस नेता अर्जुन नरसिंह केसीलाई शिक्षा मन्त्री बनाउने लविङ्का कारण नयाँ शिक्षा मन्त्रीको नियुक्तिमा ढिलाई भएको छ । यस अघि आफ्नै पार्टिबाट मन्त्री हुँदा भएको विवादित छविलाई सुधार गर्न पनि यसपटक काँग्रेसले छाड्न नहुने भन्दै लविङ् गर्नेहरुमा शिक्षा मन्त्रालयका काँग्रेस निकट केही उच्च कर्मचारीनै जुटेपछि ढिलाई भएको हो  । यही समूह केसीलाई मन्त्री बनाउन लागि परे पछि सोमबार भएको दोश्रो चरणको मन्त्रीपरिषद् विस्तारमा पनि शिक्षा मन्त्रीको टुङ्गो नलागेको श्रोतको दावी छ ।

काँग्रेस सभापति शेरवहादुर देउवा क्याम्पकी हस्ति भनेर चिनिने चित्रलेखा यादव विवादमा परिन् । त्यस पछि माओवादीका गिरिराजमणि पोखरेल तुलनात्मक रुपमा स्वच्छ छविका भनेर चिनिए । उनले लामो समय अड्केर बसेका नीतिगत निर्णयहरु गरेका कारण पनि उक्त ख्याती पाए ।

पढ्नुहोस् : शिक्षा मन्त्री र उनको नौ महिने कार्यकाल

त्यसैले यतिखेर शिक्षा मन्त्रालय छाड्नै नहुने भन्दै केसीका पक्षमा लविङ्मा जुटेका मन्त्रालयका केही कर्मचारीलाई राष्ट्रिय परीक्षा बोर्डका काँग्रेस निकट कर्मचारीले समेत साथ दिएको श्रोतले दावी गरेको छ । तिव्र राजनीतिक दाउपेच र प्रभावले ग्रस्त तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्का कर्मचारी बोर्डको गठन संगै आफ्नो प्रभाव कम भएको ठहर सहित यो लविङ्मा जुटेका हुन् ।

बोर्डमा पदाधिकारी सहित सदस्य सचिव समेत खाली भएको अवस्थामा आफू अनुकूल मन्त्री बनाउन सकियो भने पुरानै हालिमुहाली कायम गर्न सकिने उनीहरुको दाउ रहेको श्रोतको दावी छ ।

गत साउन २० गते पहिलो चरणमा नै केसीलाई मन्त्री बनाउने काँग्रेसको तयारी भएपनि गृह मन्त्री नपाएको झोंकमा केसीले सपथ नै बहिष्कार गरेका थिए ।

यस अघि पनि शिक्षा मन्त्री भएका केसी जनतासंग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयमा बसेर काम गर्ने ईच्छा भएको भन्दै बार्गेनिङ् गरिरहेका छन् । उनको जनतासंग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयमा काम गर्ने ईच्छा र काँग्रेस निकट कर्मचारीको स्वार्थ मिसाउँदा कुरो मिल्ने निस्कर्ष सहित शुरु नयाँ जोड घटाउले शिक्षा मन्त्रालय चपेटामा परेको छ ।

भर्खरै लागू भएको नयाँ शिक्षा ऐन कार्यान्वयन गर्न कतिपय विषयमा मन्त्रीकै निर्णय आवश्यक भए पनि उक्त कार्य अलपत्र परेको छ । जसको पछिल्लो उदाहरण परीक्षा बोर्ड नै बनेको छ ।

पढ्नुहोस् : गठन भएको ३९ औं दिनमै खाली भयो परीक्षा बोर्ड, नतिजा प्रकाशनको काम प्रभावित

सत्ता बाँडफाँडका बेला माओवादीको भागमा परेको शिक्षा मन्त्रालयमा यतिखेर आएर दावी गर्न नहुने भन्दै काँग्रेस भित्र कुरो नमिल्दा पनि सोमबारको विस्तारमा पनि देशले शिक्षा मन्त्री नपाएको हो ।

सहमति अनुसार माओवादीको भागमा परेका बाँकी मन्त्रालयमा संघीय मामिला तथा स्थानीय, ऊर्जा, सूचना तथा सञ्चार, कानुन र शिक्षा रहेका छन् ।

माओवादी केन्द्रले आफ्नो पार्टिबाट शिक्षा मन्त्रीको नाम टुङ्ग्याएको छ । यस अघि हितराज पाण्डे र धनीराम पौडेल मध्ये एक जनालाई शिक्षा मन्त्री बनाउने भनिए पनि आन्तरिक समिकरण मिलाउँदा पौडेललाई शिक्षा र पाण्डेलाई स्थानीय विकास मन्त्री बनाउने तयारी भएको माओवादीका एक जना नेताले जानकारी दिए ।

यस अघि मन्त्री भएकालाई नदोहोर्याउने पार्टिको निर्णय संगै चर्चा भएर पनि यस अघिका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको सट्टा उक्त खेमा बाटै पौडेलाई चयन गरिएको ती नेताले बताए । पोखरेल र पौडेल एकताकेन्द्र पृष्ठभूमिका भएकोले मात्रै हैन यी दुई नेता विचको केमेष्ट्रि धेरै कोणबाट मिल्छ  ।

यी दुई नेताको सम्बन्ध विद्यार्थी संगठन देखिनै थियो । आफू केन्द्रिय अध्यक्ष भएको बेला चितवन जिल्ला अध्यक्ष रहेका पौडेललाई पोखरेलले केन्द्रिय समितिमा मनोनित गरेका थिए । त्यसैले आफू जान नपाए पछि आफ्नै समूहबाट पौडेललाई पठाउन पोखरेलले तिब्र लविङ् गरेका ति नेताले बताए ।

यदी अहिले सम्मको गठजोडमा कुनै फेरबदल नभएमा पौडेल र पोखरेलको सम्बन्धको संयोग ३२ वर्ष पछि पुन एक पटक शिक्षा मन्त्रालयमा पटाक्षेप हुने सम्भावना बढि रहेको ती नेताले बताए । चितवनका पौडेल समानुपातिक कोटाबाट सांसद भएका हुन् ।

प्रकाशित मिति २०७३ साउन २५ गते

प्रतिक्रिया