Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षक नै गर्छन् विद्यार्थीलाई बुलिङ !

मंगलबार, २५ साउन २०७३

– हरिसुन्दर छुकां / भक्तपुर– शिक्षककै व्यवहारका कारण विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव पर्ने अध्ययनले देखाएको छ । कक्षाकोठामा अध्यापनका क्रममा शिक्षकले जानी/नजानी, रिस/आक्रोस वा आफूले भनेको नमानेको खण्डमा विद्यार्थीलाई गर्ने गाली, विद्यार्थीको नाम बिगारेर बोलाउने, हेप्नेजस्ता प्रवृत्तिले उनीहरुको सिकाइ उपलब्धिमा प्रभाव परेको देखिएको हो ।

अध्ययनले शिक्षकहरुले गर्ने त्यस्ता अनिच्छित व्यवहारले विद्यार्थीलाई नकारात्मक प्रभाव पर्ने त्यसले विद्यार्थीको समग्र सिकाइ उपलब्धिमा असर गरिरहेको खुलेको शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययनले जनाएको छ ।

केन्द्रले शैक्षिक सत्र २०७२ मा गरेको परीक्षण अन्तर्गत ‘सिकाइ उपलब्धिमा अनिच्छित व्यवहार वा हेपाइ (बुलिङ) को प्रभाव’ शिर्षकमा गरिएको अध्ययनले शिक्षक, सहपाठी र अभिभावकहरुले गर्ने बुलिङले नकारात्मक असर परेको देखिएको केन्द्रका निर्देशक एवं सहसचिव लेखनाथ पौडेलले जानकारी दिए ।

परीक्षणमा कक्षा ३ मा १ हजार ५ सय ४२ विद्यालयका ३३ हजार ८ सय ६३ जना विद्यार्थीलाई सम्मिलित गराइएको थियो । त्यसमध्ये गणित विषयमा १७ हजार ७४ जना र नेपाली विषयमा १६ हजार ७ सय ८९ जना विद्यार्थी समावेश गरिएको थियो ।

उक्त अध्ययनले कक्षा ५ मा पढ्ने कूल विद्यार्थीमध्ये ५० दशमलव ५ प्रतिशत  र कक्षा ३ का ५१ दशमलब ५ प्रतिशत विद्यार्थी बुलिङको सिकारमा पर्दै आएका देखाएको छ । ‘शिक्षकहरु जानीनजानी र जानाजानी पनि विद्यार्थीलाई बुलिङ गर्छन् भन्ने कुरा अध्ययनको निचोडबाट प्रष्ट भएको छ ।’ प्रमुख पौडेलको भनाइ छ ।

अध्ययनको निचोडले कक्षा ५ का भन्दा कक्षा ३ का विद्यार्थीले बुलिङ खप्दै आएको तथ्य पनि बाहिर आएको हो ।

‘कक्षा कोठामा विभिन्न प्रकारका बुलिङ हुने गर्दछ, ती मध्ये हामीले अध्ययनका क्रममा हेप्ने, जिस्क्याउने, पिट्ने, गाली गर्ने, नाम बिगार्ने र सामान चोर्ने गरी पाँच वुंदामा अध्ययन गरेका थियौं ।’ केन्द्रका प्रमुख पौडेलले भने ।

कक्षा ३ को गणित विषयलाई केन्द्रमा राखी गरेको अध्ययनले ४८ दशमलब ५ प्रतिशतले बुलिङ अनुभव नगर्ने बताए पनि २० दशमलव ४ प्रतिशतले पाँच वटा मध्ये एउटा, १४ दशमलवले २ वटा, ८ दशमलब ८  प्रतिशतले ३ वटा, ३ दशललव ७ प्रतिशतले ४ वटा र ४ प्रतिशतले भने पाँचवटै प्रकारका बुलिङ खेप्दै आइरहेको देखाएको छ ।

कक्षा ५ को नेपाली विषयलाई केन्द्रमा राखी गरेको अध्ययनले ४९ प्रतिशतले बुलिङ अनुभव नगर्ने बताए पनि २४ प्रतिशतले पाँच वटा मध्ये एउटा, १४ दशमलव १ प्रतिशतले २ वटा, ८ प्रतिशतले ३ वटा, २ दशललव ९ प्रतिशतले ४ वटा र १ दशमलव ७ प्रतिशतले भने पाँचवटै प्रकारका बुलिङ खेप्दै आइरहेको देखाएको छ ।

अध्ययनले आधाभन्दा विद्यार्थी विभिन्न प्रकारका बुलिङको सिकारमा पर्ने गरेको र त्यसको नकारात्मक असर सिकाइ उपलब्धिमा परिरहेको देखिएको केन्द्रको भनाइ छ ।

बुलिङ हुने/नहुने बारेमा मात्र अध्ययन गरेको बताउँदै केन्द्रले के कारणले बुलिङ हुन्छ भन्ने विषयमा भने अध्ययन गरेको छैन । ‘विभिन्न कारणले बुलिङ हुन्छ, मुख्य कुरा बुलिङको विषयमा शिक्षकले ध्यान नदिँदा बुलिङ हुने गरेको छ ।’ केन्द्रका प्रमुख पौडेलको भनाइ छ ।

प्रकाशित मिति २०७३ साउन १५ गते

प्रतिक्रिया