Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

सरकारी स्कुल धमाधम बन्द

मंगलबार, २५ साउन २०७३

काठमाडौं २५ साउन / एक कक्षामा एक र दुई  कक्षामा तीन विद्यार्थी । उनीहरुलाई एउटै कक्षामा राखेर पढाउँछिन् शिक्षिका इन्दिरा केसी । तीन कक्षामा भने एउटै विद्यार्थी छैनन् ।

के गर्नु विद्यार्थी भएनन् । स्कुल जोगाउन मुश्किल भयो, केसीले भनिन्, अभिभावकले छोराछोरी अन्यत्र पठाए, घरसँगैको स्कुललाई माया गरेनन् । हेम्जास्थित दीपेन्द्र प्राविको अवस्था हो यो । २०४६ सालमा खुलेको विद्यालयका दुई भवन छन् । जग्गा जमिनसहित बेन्च, डेस्क, शिक्षण सिकाइका सामग्री पनि छन् । तर विद्यार्थी नभएपछि सरकारी भाषामा उक्त विद्यालय हेम्जाकै बालकल्याण प्राविमा गाभिने आइतबार निर्णय भएको छ ।

स्थानीय बासिन्दाको पहलमा स्कुल खुलेर राम्रै सञ्चालन पनि भइरहेको थियो, प्रधानाध्यापक भरतबहादुर थापाले भने, नजिकमा बस्ती ठूलो छ तर सबैलाई बोर्डिङको हावाले छोएर छोराछोरी पठाइदिएनन् । विद्यालयको प्रगति हुनुपर्नेमा उल्टो बन्द गर्नुपपर्ने भयो ।

ढिकुरपोखरीथित विकासज्योति प्राविको पनि हविगत उस्तै छ । यसै वर्षदेखि महेन्द्र प्राविमा गाभिने भएको छ । तीन कक्षासम्म पढाइ हुने स्कुलमा जम्मा नौ विद्यार्थी थिए । कक्षा एकमा पाँच, दुईमा तीन र तीन कक्षामा एक मात्र । तत्काल विद्यार्थी बढ्ने अवस्था पनि नदेखिएपपछि बन्द गर्नुपरेको शिक्षा कार्यालयले जनाएको छ ।

२०४६ सालको परिवर्तनपछि सामुदायिक विद्यालय खोल्ने लहरै चल्यो । तर अनुगमन । नक्सांकन भएन, न त भौतिक पूर्वाधारै हेरियो । राजनीतिक दलहरुले कार्यकर्तालाई जागिर खुवाउन पनि विद्यालय सञ्चालनमा ल्याए । शिक्षण सिकाइ गुणस्तरीय नहुँदा छोराछोरी पढाउन सहरमै बसाइ सर्नुपर्ने बाध्यता बन्दै गयो । त्यही कारण हो, कास्कीका ग्रामीण भेगका विद्यालय विद्यार्थी अभावमा धमाधम बन्द भएका छन् ।

कान्तिपुरमा लालप्रसाद शर्माले लेखेको खबर ।

प्रतिक्रिया