Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

‘अर्ली ग्रेड रिडिङ’ कार्यक्रम सुरु, १० लाख विद्यार्थी लाभान्वित

सोमबार, २४ साउन २०७३

- हरिसुन्दर छुकां / काठमाडौं– नेपालका विद्यार्थीहरुको पठन सिप दक्षिण एसियामै कमजोर रहेको तथ्य बाहिरिएपछि सरकारले प्रारम्भिक सिकाइ सिप सिकाइ कार्यक्रम (अर्ली ग्रेड रिडिङ प्रोग्राम) सुरु गरेको छ ।सो कार्यक्रमबाट विभिन्न जिल्लाका १० लाख विद्यार्थी लाभान्वित हुने सरकारको भनाइ छ ।

प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पठन सिपमा उल्लेख्य सुधार गर्ने उद्देश्यका साथ यसै शैक्षिक सत्र २०७३ देखि सुरु गरेको ‘अर्ली ग्रेड रिडिङ’ कार्यक्रमले सोको संख्या बराबरका विद्यार्थीहरु लाभान्वित भएका हुन् ।
यसका लागि नेपाल सरकार र अमेरिकी सरकारबीच भएको सम्झौता अनुसार काम भइरहेको छ । ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को नयाँ पञ्चवर्षीय कार्यक्रमअन्तर्गत यो वर्षबाट नमूनाका रुपमा ६ वटा जिल्लामा अर्ली ग्रेड रिडिङ कार्यक्रम सञ्चालन भएको छ ।’ शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भने ।

मन्त्रालयका अनुसार युएसएडको ५ करोड ३८ लाख डलर सहयोगमा सञ्चालित उक्त कार्यक्रम एक वर्षअघि नै सञ्चालनमा आए पनि यो वर्षबाट मात्र विद्यालय तहमा लागू भएको हो ।

मन्त्रालयका अनुसार यो शैक्षिक सत्रबाट नमूनाको रुपमा काठमाडौं उपत्यकाको भक्तपुरसहित कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरी गरी ६ वटा जिल्लामा यो कार्यक्रम लागू भएका छन् ।

नेपालको पहिलो राष्ट्रव्यापी अर्ली ग्रेड रिडिङ मूल्याङ्कनले कक्षा २ मा अध्ययनरत ३४ प्रतिशत र कक्षा ३ मा अध्ययनरत १९ प्रतिशत बालबालिकामा नेपाली पठन सिप अत्यन्तै न्यून रहेको तथ्य फेला परेको थियो । उक्त मूल्याङ्कनकाअनुसार अधिकांश विद्यार्थीहरूको पठन सिप अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै कम रहेको छ ।

नयाँ पञ्चवर्षीय योजनालाई रिसर्च ट्रयाङ्गल ईन्स्टिच्युट (आरटीआई इन्टरनेशनल) तथा स्थानीय साझेदारहरूले कार्यान्वयन गरी शिक्षा मन्त्रालयको नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम (इजीआरपी) लाई मार्च २०१५ देखि मार्च २०२० सम्म सहयोग गर्नेछन् । ६ जिल्लामा सघन रुपमा कार्यक्रम भए पनि यो वर्षबाट १६ जिल्लामै कार्यक्रम हुने मन्त्रालयको भनाइ छ । यसबाट १० लाख विद्यार्थीको पठन सिप सुधार्न सहयोग मिल्नेछ ।

इजीआरपी कार्यक्रम सञ्चालनको जिम्मा आरटीआई इन्टरनेशनलले पाएको मन्त्रालयले जनाएको छ । *

कार्यक्रमले खास गरी विभिन्न स्थानीय भाषाका पाठ्य तथा सिकाइ सामग्रीहरूको गुणस्तरको सुधारमा जोड दिने योजना रहेको इजीआरपीका चिफ टेक्निकल एड्भाइजर एवं शिक्षाविद् डा. विष्णु कार्कीले बताए । उनका अनुसार विद्यार्थीको पठन सिप विकासका लागि विद्यार्थीहरुको कक्षाकोठालाई सामग्री दिने, कक्षाकोठामा पुस्तक कुनाको व्यवस्था गर्नेलगायतका कार्यक्रम रहेको जानकारी दिए ।

डा. कार्कीले पठन सिपअन्तर्गत सुनाइ, पढाइ, लेखाइ र बुझाइ(बोध) ती चारवटा सिकाइका आधारहरु रहने बताउँदै नेपालको सन्दर्भमा भने केही कमजोरी देखिएको उल्लेख गरे ।

पठन सिपबारे अन्तर्राष्ट्रिय मान्यताअनुसार अङ्ग्रेजी भाषामा एक मिनेटमा ६० वटा अक्षर चिन्ने तथा अक्षर शुद्धसँग उच्चारण गर्न सक्ने हुनुुपर्छ भन्ने मान्यता छ । ‘तर, हाम्रा विद्यार्थीहरुमा प्रतिमिनेट जम्मा २८ अक्षर मात्र उच्चारण गर्न सकेको पाइयो,’ उनले थपे, ‘त्यसमाथि १५ प्रतिशत विद्यार्थीहरुले त एउटा पनि अक्षर उच्चारण गर्न सकेनन् ।’ सोही कारण इजीआरपी कार्यक्रम अनवश्यक भएकोले यो कार्यक्रम अन्तर्गत विद्यालयमा प्रशस्त पढ्ने सामग्री, चाखलाग्दा विषयका पढ्ने सामग्रीहरुको बन्दोबस्त गर्ने कार्यक्रम तय भएको इजीआरपीको भनाइ छ ।

कार्यक्रमअन्तर्गत पठन सामग्रीका अलावा पठन सामग्रीहरु विद्यालयमा कसरी प्रयोग गर्ने ?भन्ने विषयमा शिक्षक, विद्यार्थीलाई तालिम दिइसकेको, विव्यस, प्रअ, विद्यार्थीहरुलाई अभिमुखीकरण भएको र पुस्तकहरुसहितको पुस्तक कर्नर बनाउने इजीआरपीका रिजनल कोअर्डिनेटर युवराज दाहालले जानकारी दिए ।

* सच्याईएको - सं.

प्रकाशित मिति २०७३ साउन २४ गते

प्रतिक्रिया