Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

गठन भएको ३९ औं दिनमै खाली भयो परीक्षा बोर्ड, नतिजा प्रकाशनको काम प्रभावित

आइतबार, २३ साउन २०७३

- श्रीधर पौडेल / काठमाडौं - गठन भएको ३९ औं दिनमा आईपुग्दा राष्ट्रिय परीक्षा बोर्ड खाली भएको छ । अर्थात् आईतबार देखि बोर्डको कार्यकारी पदमा एक जना सम्म पनि बाँकी रहेनन् । शिक्षा मन्त्रालयमा सहसचिव समेत रहेका बोर्डका सदस्य सचिव डा. लवदेव अवस्थी शुक्रबार सचिवमा बढुवा भएसंगै बोर्ड कार्यकारी विहीन अवस्थामा पुगेको हो ।

यसले गर्दा कक्षा ११ र १२ को नतिजा प्रकाशनको काममै प्रभाव पर्ने देखिएको छ । बोर्डले कक्षा १२ को विज्ञान विषयको नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुर्याए पनि कार्यकारी ब्यक्तिनै नभएको अवस्थामा सार्वजनिक गर्ने की नगर्ने भन्ने अन्यौल भएको बोर्ड श्रोतले बतायो । नतिजाको सबै काम सकेर शुक्रबारनै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर सरकारले अवस्थीलाई सचिवमा बढुवा गरेसँगै अन्तिम समयमा उक्त काम रोकिएको थियो । मन्त्रालयबाट निर्णय भएको खण्डमा आईतबारै नतिजा सार्वजनिक गर्न सकिने हालतमा बोर्ड रहेको उक्त श्रोतले बतायो । 

'रिजल्ट भनेको कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने काम जस्तो त हैन'  उक्त श्रोतले भन्यो, 'नतिजा सार्वजनिक गर्ने भए पछि कसको अध्यक्षतामा बैठक बस्ने देखि मार्कसिटमा कसले हस्ताक्षर गर्ने सम्मका कुरा जटिल देखिएको छ, यो कुरा नटुङ्गिए सम्म रिजल्ट गर्न गाह्रो भयो ।'

तत्कालिन उच्च माध्यमिक शिक्ष परिषद्का बेला निमित्त नियन्त्रक भएका सन्तोष अर्याल अहिले पनि निमित्त नै छन् । सदस्य सचिव नै नभएको बेला निमित्तले मात्रै परीक्षाफल प्रकाशित गर्न हुने की नहुने भन्ने कुरा यतिखेर जटिल बनेको उक्त श्रोत बताउँछ ।

विद्यार्थीको भविष्य र देशको शिक्षा प्रणालीसंग जोडिएका यस्ता समस्या बोर्डको गठन हुने बेला देखिनै आईपरेका हुन् । तर यस्ता समस्याका बारेमा शिक्षा मन्त्रालयले भने खासै चासो दिएको छैन । परिषद्को खारेजी संगै बोर्ड गठन भएको अवधिमा विद्यार्थीले प्राप्त गर्ने सेवाका बारेमा चासो नदिदाँ उतिखेर पनि अन्यौल भएको थियो ।

पढ्नुहोस्: २३ वर्षपछि हट्यो परिषद्को बोर्ड, विद्यार्थीले पाए हैरानी

शिक्षा ऐन प्रमाणिकरण पछि हुने शून्यताको भय

त्यस्तै अवस्था यतिखेर पनि आईपुगेको छ ।

हरेक कार्यालयमा प्रमुखको सरुवा, अवकास वा भ्रमण आदी हुँदा उसले गरिआएका सम्पूर्ण काम स्वतः निमित्तमा हतान्तरण हुने नियम भएको बताउँदै मन्त्रालयका प्रवक्ता डा.हरी लम्साल आवश्यक पर्यो भने मन्त्रालयले आन्तरिक निर्णय गर्न सक्ने बताउँदै अहिले कुनै काम नरोकिएको दावी गर्छन् ।

'आवश्यक पर्यो भने मन्त्रालयले आन्तरिक निर्णय गरेर काम अघि बढाउन सक्छ, तपैंले भने जस्तो अवस्था आएको छैन' उनले भने ।

नयाँ ब्यवस्था नभए सम्मका लागि भन्दै शिक्षा मन्त्रालयले गत असार १६ गते गठित बोर्डको अध्यक्षमा शिक्षा सचिव विश्वप्रकाश पण्डितलाई कार्यवहाक अध्यक्ष र शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीलाई सदस्य सचिवका रुपमा नियुक्ति गरेको थियो । शिक्षा सचिव पदेन उपाध्यक्ष रहने ब्यवस्था अनुसार बोर्डका पदाधिकारी नियुक्त नभए सम्मका लागि तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सचिव पण्डितलाई कार्यवहाक अध्यक्ष बनाएका थिए ।

पण्डित गत साउन ६ गते अवकास भएसंगै मन्त्रालयका निमित्त सचिव र बोर्डका सदस्य सचिव दुवै अवस्थी भएका थिए । त्यतिखेर बोर्डको कार्यवहाक अध्यक्ष पद पनि खाली नै भयो । किन भने राजनीतिक गठजोड विग्रदाँ भएको सत्ता परिवर्तनको असर बोर्डमा पनि पर्यो ।

लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहने सिफारिस समितिले गरेको सिफारिसका आधारमा बोर्डको अध्यक्ष र अन्य पदाधिकारी नियुक्ति हुने प्रावधान छ । तर यतिखेर शिक्षा मन्त्री नै नभएकाले बोर्डमा कार्यबहाक अध्यक्ष बनाउने निर्णय समेत हुन सकेको छैन ।

नयाँ शिक्षा मन्त्री आएपछि बल्ल बोर्डले सदस्य सचिव पाउने छ । र शिक्षा मन्त्री कहिले आउने हुन् भन्ने कुरा सत्ता साझेदार दलको राजनीतिक समिरण कसरी अघि बढ्छ भन्ने कुराले मात्रै तय गर्ने छ ।

शुक्रबार सचिव भएका अवस्थीलाई सरकारले मध्यमाञ्चल क्षेत्रीय प्रशासकमा पदस्थापन गरेको छ । शिक्षा मन्त्रालयको निमित्त सचिव भने अनुगमन महाशाखाका सहसचिव डिल्लीराम रिमाल भएका छन् ।

प्रकाशित मिति २०७३ साउन २३ गते

प्रतिक्रिया