Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

गृहकार्य दिने शिक्षक मन पराउँदैनन् विद्यार्थी–अभिभावक

आइतबार, २३ साउन २०७३

काठमाडौं २३ साउन / गृहकार्य दिने शिक्षकलाई विद्यार्थी तथा अभिभावकले नरुचाउने एक अध्ययनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले सार्वजनिक गरेको सन् २०१५ को एक अध्ययनले यस्तो नतीजा देखाएको हो ।

विद्यार्थीमा परेको गृहकार्यको अत्यधिक बोझका कारण यस्तो नतीजा आएको हुन सक्ने भए पनि गृहकार्य दिँदा विद्यार्थीको सिकाइमा भने उपलब्धि भएको सोही अध्ययनको निष्कर्ष छ ।

दैनिक दुईदेखि चार घण्टा गृहकार्यका लागि समय खर्चिने विद्यार्थीको औसत उपलब्धि उच्च रहेको अध्ययनबाट पाइएको छ । टेलिभिजन नहेर्नेभन्दा हेर्ने विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो भएको पाइएको पनि उक्त अध्ययनले देखाएको छ, जसमा टेलिभिजन हेर्न समय खर्च नगर्ने विद्यार्थीभन्दा दैनिक टीभी हेर्ने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको देखिएको छ । दैनिक बढीमा दुई घण्टा टीभी हेर्ने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको पाइएको छ । प्रतिवेदनमा विद्यार्थीलाई टीभीमा उपयुक्त समयमा उपयुक्त कार्यक्रम हेर्ने व्यवस्थाका लागि अभिभावकले सहयोग गर्नुपर्ने सुझावसमेत दिइएको छ ।

ईआरओले देशका २३ जिल्लाका १ हजार ५ सय ४२ विद्यालयका कक्षा ३ र ५ का गरी करीब ८० हजार विद्यार्थीमाथि अध्ययन गरेको थियो । अध्ययनका क्रममा कक्षा ३ मा नेपाली र गणित विषयको र कक्षा ५ मा नेपाली, गणित र अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गरिएको थियो, जसअनुसार कक्षा ३ मा नेपाली विषयको सिकाइ उपलब्धि ५२ प्रतिशत र गणित विषयको सिकाइ उपलब्धि ४५ प्रतिशत रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । जब कि सन् २०१२ मा गरिएको अध्ययनका बेला कक्षा ३ मा नेपाली विषयको सिकाइ उपलब्धि ६३ प्रतिशत र गणितको ६० प्रतिशत थियो । त्यसैगरी सार्वजनिक प्रतिवेदनमा कक्षा ५ मा नेपाली विषयको सिकाइ उपलब्धि ४६ प्रतिशत, गणितको ४८ प्रतिशत तथा अङ्ग्रेजीको ४७ प्रतिशत रहेको पाइएको छ । सोही तहका उल्लिखित विषयमा सन् २०१२ मा क्रमशः ६० प्रतिशत, ५३ प्रतिशत र ४८ प्रतिशत सिकाइ उपलब्धि रहेको थियो ।

विद्यार्थीमा सिकाइ उपलब्धि खस्किँदै जानुले चिन्ता बढाएको ईआरओका सहसचिव डा लेखनाथ पौडेलले बताए । ‘विद्यालयमा अब पास र फेलको संस्कृति नै रहेन । यसले गर्दा पनि सिकाइ उपलब्धि खस्किन पुगेको हो ।  अब हरेक विद्यालयले सिकाइ सुधार योजना बनाउनुपर्छ,’ उनले भने । प्रतिवेदनका अनुसार पाठ्यपुस्तक, शैक्षिक सामग्री, अध्ययन कक्ष तथा अध्ययन गर्ने वातावरण पर्याप्त तथा व्यवस्थित भएका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो देखिएको छ । हिमाल, पहाड, तराई, उपत्यका र पाँचै विकासक्षेत्र समेटिने गरी गरिएको अध्ययनमा सिकाइ उपलब्धि परीक्षणले अन्य क्षेत्रको भन्दा उपत्यकाको नतीजा सबै विषयमा उच्च रहेको देखाएको छ । क्षेत्रीय हिसाबमा मध्यपश्चिमाञ्चलका विद्यार्थीको सिकाइ उपलब्धि अन्यत्रको तुलनामा कमजोर पाइएको छ भने पश्चिमाञ्चल र उपत्यकाका विद्यार्थीको स्तर राम्रो देखिएको छ ।

आर्थिक अभियानमा प्रकाशित खबर

प्रतिक्रिया