Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

कोरियाले समावेशी शिक्षामा सहयोेग गर्ने

आइतबार, २३ साउन २०७३

काठमाडौं २३ साउन / बहुअपाङ्गता भएका बालबालिकाका निम्ति कोरियाले सहयोग गर्ने भएको छ । त्यसनिम्ति शिक्षा विभागले विशेष टास्क फोर्स गठन गरी आवश्यक प्रक्रिया अघि बढाउन महानिर्देशक खगराज बरालले बताएका छन् । ‘हामी मित्र राष्ट्रहरुको सहयोगमा अघि बढै आएका हौं,’ बरालले भने, ‘बहुअपाङ्गता भएकाहरुका निम्ति समावेशी शिक्षाको कार्ययोजनालाई चाँडै टास्क फोर्स गठन गरेर प्रक्रिया अघि बढ्ने छ ।’

शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र कोरियाको चाङहोङ नेसनल युनिभर्सिटीले संयुक्त रुपमा आयोजित ‘विशेष आवश्यक तथा समावेशी शिक्षाको गुरु योजनाको प्रस्तावित खाका’ विषयक दुई दिने कार्यशालाको समापन गर्दै शनिबार उक्त विचार व्यक्त गरेका हुन् । चाङहोङ युनिभर्सिटी र त्रिविबीच भएको सम्झौताअनुसार विशेष प्रकृतिका बालबालिकालाई पढाउन विशेष शिक्षक जनशक्ति उत्पादनका निम्ति बीएड् र एमएड्मा बहुअपाङ्गता सम्बन्धी नयाँ विषयको पठनपाठन थालिएको छ । अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना’अन्तर्गत त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत सुरु गरिएको कार्यक्रमको स्थायित्व र अपाङ्गता भएका बालबालिकाको शिक्षालाई लिएर गोष्ठीको आयोजना गरिएको हो ।

चाङहोङ युनिभर्सिटीका प्राध्यापक दाय योङ जङले अपाङ्गता कुनै व्यक्ति र परिवार विशेष समस्या होइन, यो प्राकृतिक हुने उल्लेख गर्दै कोरिया सरकारले आफ्नो अपाङ्ग नागरिकलाई सवल र सक्षम तुल्याएको बताए । ‘नेपालमा पनि छिटो विकासका लागि कोरियाको नमुना कार्य अघि बढाउन सकिन्छ,’ सहकार्यका थालनी भइसकेको र आफू नेपालको शैक्षिक प्रवद्र्धनमा जीवन बिताउन चाहेको उल्लेख गर्दै प्राध्यापक जङले भने, ‘छिटो गर्नु भएमा विशेष शिक्षाका निम्ति कोरियन सहयोग नियोग कोइकामार्फत् तत्काल सहयोग गर्ने घोषणा गर्न चाहन्छु ।’ त्यसअघि कोरियाको नेसनल इनस्टिच्युट अफ स्पेसियल एजुकेसनकी निर्देशक सिओनोक नोहले विशेष शिक्षाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

‘शिक्षा ऐनमा भएको व्यवस्था र संविधानले किटान गरेको सात संघीय प्रदेशमा कस्ता र कतिवटा यसखाले शिक्षालय तथा जनशक्ति चाहिन्छ भन्ने किटान हुनुपर्छ,’ विभागमा महानिर्देशक बरालले भने, ‘सबै केन्द्रमा राखेर सम्भव छैन । मित्र राष्ट्रको सहयोगसँगै हामीले यसतर्फ पहल गर्नेछौं ।’ करिब दुई दशकदेखि नेपालका अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सुधारका प्रयास हुँदैआएको छ । तथ्यांकअनुसार मुलुकमा ५ लाख १३ हजार ३ सयभन्दा बढी अपाङ्गता भएका बालबालिका रहेका छन् । त्यसमध्ये ७४ हजार अपाङ्गता भएका बालबालिका विद्यालयमा भर्ना पाएका छन् । सरकारले तीमध्ये ४० हजार जनालाई मात्र छात्रवृत्ति, अपाङ्गताको प्रमाणपत्र प्रदान गरेको छ । प्रमाणपत्रका आधारमा नि:शुल्क ब्रेल पुस्तक, शैक्षिक सामग्री, सांकेतिक भाषा प्रशिक्षण दिने गरेको विभागका उपनिर्देशक गणेश पौडेलले जनाएका छन् ।

शिक्षाविद् प्राध्यापक बासुदेव काफ्लेले सन् १९९१ मा सुरु गरेको आधारभूत शिक्षा परियोजनाबाट विशेष शिक्षा लागू गरेको तर सरकारले प्रभावकारी कार्यान्वयनमा ध्यान पुर्‍याउन नसकेको जनाए ।  ‘अपाङ्गता भएका बालबालिकालाई बाहिर राख्दा जति खर्च हुन्छ, त्यसलाई स्कुलमा राख्दा कम खर्च हुने अध्ययनले देखाएको छ,’ अवधारणापत्र प्रस्तुत गर्दै काफ्लेले भने, ‘समावेशी शिक्षाको आवश्यकता पहिचान गरी नीति तथा कार्यक्रमसमेत बनेको अवस्थामा लक्षित वर्गसम्म पुग्ने अवसरलाई सरकारले स्वामित्व लिन जरुरी छ ।’

गोष्ठीमा सहभागी राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन घिमिरेका अनुसार अपाङ्गता सात प्रकारका हुन्छन् । हालसम्म शारीरिक, सुस्तमनस्थिति, सुस्त श्रवण र दृष्टिविहीन गरी चार प्रकारका अपाङ्गता भएकाहरुका निम्ति ३४ विद्यालय छन् । सबै किसिमका अपाङ्गता भएकाहरुलाई सक्षम तुल्याउन खालका शिक्षा र अन्य कार्यक्रममा पहुँच पुग्न नसकेको जनाइएको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित खबर

प्रतिक्रिया