Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

नेविसङ्घको ११औँ महाधिवेशन आजदेखि

आइतबार, २३ साउन २०७३

काठमाडौं २३ साउन / नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आइतबारबाट राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सभामा सुरु हुँदैछ ।  महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष समारोहका बीच दिउँसो उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनमा सहभागी हुन प्रायः सम्पूर्ण जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक राजधानीमा आइपुगिसकेको जानकारी नेविसङ्घका प्रवक्ता यूपी लामिछानेले दिनुभयो ।  महाधिवेशन उद्घाटन समारोहका लागि सभाहलभित्र मञ्चलगायत अन्य तयारी पूरा भएको छ ।

११ वटा जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै सानेपास्थित केन्द्रीय कार्यालयमा अनशन र धर्ना लगायतका विरोध कार्यक्रम गरिरहेको असन्तुष्ट पक्षलाई कार्यक्रम उद्घाटनअघि नै सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

सङ्घको केन्द्रीय अध्यक्षका दाबेदार कुन्दन काफ्ले समूहले अनशन थालेको हो ।  अध्यक्ष पदका लागि दाबी पनि गर्ने र महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली भयो भनेर अनशन पनि बस्नु आफैँमा हास्यास्पद भएको आरोप विद्यार्थी नेताहरूले लगाएका छन् ।

सङ्घका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्दै मतदानको अपेक्षाअनुरूप जिताउन आग्रहसहितका तुल, ब्यानर, पर्चा र पम्प्लेटहरूले भृकुटीमण्डप सजिएको छ ।  काफ्ले समूहले पनि अध्यक्षमा जिताउन आग्रह गर्दै ठूल्ठूला ब्यानरहरू टाँगेको छ ।

महाधिवेशनमा सहभागी हुन विदेशबाट १० जना पर्यवेक्षक आएका छन् ।  महाधिवेशन सफलताका लागि विभिन्न देशमा क्रियाशील विद्यार्थी सङ्गठनहरूको शुभकामनाहरू पनि प्राप्त भएको प्रवक्ता लामिछानेले गोरखापत्रलाई बताउनुभयो ।  दिउँसो १ बजे सुरु हुने औपचारिक उद्घाटनपछि सोमबारबाट बन्दसत्र सुरु गर्ने कार्यक्रम छ ।

यसैबीच सङ्घका पूर्वप्रवक्ता तथा केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले नेविसङ्घलाई परिवर्तित सन्दर्भमा अब्बल बनाउन आफैँले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।  सङ्घलाई समन्वयकारी, एकताबद्ध र सक्रिय बनाउन आफ्नो आवश्यकता प्रतिनिधि साथीहरूले महसुस गरेकाले आफैँले यस्तो निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

गोरखापत्र दैनिकमा प्रकाशित खबर 

प्रतिक्रिया