Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

वार्ता भयो, कुरा मिलेन

शुक्रबार, १८ भदौ २०७२

काठमाडौं १८ भदौ / सरकारी टोलीसँगको वार्ता असफल भएपछि डा. गोविन्द केसीले ११औँ दिन पनि अनशन जारी राखेका छन् । अन्य विषयमा सहमतिनजिक पुगे पनि मेडिकल कलेजको सम्बन्धनका विषयमा कुरा मिलेन ।

सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले बिहीबार दिउँसो साढे तीन बजे वार्ता थालेका थिए । उनले मन्त्रिपरिषद्को सामाजिक समितिले केही विषय निर्णय गरिसकेको र केही विषयमा मन्त्रिपरिषद्बाटै निर्णय गराउनसमेत सकिने बताएका छन् ।
तर, डा. केसीका तर्फबाट वार्तामा सहभागीले मेडिकल कलेज सम्बन्धनबारे सामाजिक समितिले गरेको निर्णय आफूहरूलाई मान्य नहुने बताएका थिए । ‘अरू विषयमा खासै समस्या थिएन । तर, प्रमुख विषय मेडिकल कलेज सम्बन्धनको विषयमा नै सरकारको नीति अस्पष्ट भयो,’ केसीका पक्षबाट वार्तामा सहभागी डा. जीवन क्षेत्रीले भने, ‘हामीले यसलाई स्पष्ट गर्नुस् भन्यौँ । तर, उहाँसँग पनि पूरा अधिकार थिएन सायद । त्यसैमा कुरा अड्कियो ।’

मेडिकल कलेजको सम्बन्धनका विषयमा माथेमा कार्यदलका अनुसार हुनुपर्ने माग रहे पनि सरकारी पक्ष नमानेपछि वार्ता विनानिष्कर्ष टुंगिएको क्षेत्रीले बताए । सरकारका प्रतिनिधि प्रा.डा. पोखरेलले वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताए । ‘धेरै विषयमा छलफल भयो, वार्तामा सहभागी साथीहरू सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरूले डा. केसीसँग सल्लाह गरेर निर्णय गर्ने भन्नुभएको छ । अब सम्भवत: कुरा मिल्छ ।’

वार्तामा सहभागी अर्का सदस्य नेसनल रेजिडेन्स डाक्टर्स एसोसिएसनका अध्यक्ष डा. रामचन्द्र सापकोटाले बिहीबारको वार्तामा सुरुवात राम्रो भए पनि उल्लेखनीय प्रगति नभएको बताए । ‘केही विषय र विकल्पबारे छलफल त भयो, तर नयाँ प्रगति भने देखिएन,’ उनले भने, ‘वार्ताको कुरा हामीले डाक्टर केसीलाई पनि जानकारी गरायौँ, तर उहाँ पनि सहमत हुनुभएन ।’

वार्तामा कुनै सहमति नभएपछि डा. केसीले अनशनलाई निरन्तरता दिएका छन् । उनको स्वास्थ्य अवस्था भने दैनिक बिग्रँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । केसीले भने माग पूरा नहुँदासम्म अनशन जारी राख्ने बताएका छन् ।

डिन कार्यालयमा बिहीबार भएको वार्तामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पोखरेल, डिन प्रा.डा. राकेश श्रीवास्तव, माथेमा कार्यदलका सदस्य प्रा.डा. भगवान कोइराला, डा. केसीका तर्फबाट प्रा.डा. जगदीश अग्रवाल, डा. वाइपी सिंह, डा. जीवन क्षेत्री, डा. रामचन्द्र सापकोटा तथा अस्पतालका निर्देशक प्रा.डा. दीपक महरा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झालगायत सहभागी थिए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया