Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

जिशिअले कुटे कर्मचारी, विद्यालयमा हुने निकासा रकम विवाद

शनिबार, २२ साउन २०७३

काभ्रे - विद्यालयलाई दिने अनुदान रकमका बारेमा जिल्ला शिक्षा अधिकारी र कर्मचारी विचको विवाद हातपात सम्म पुगेको छ । उक्त विवादमा जिशिअ दिपेन्द्र गुरुङ्ले शाखा अधिकृत बालकृष्ण सिंखडालाई कुटपिट गरेको भन्दै कर्मचारी ट्रेड यूनियनले घटनाको भत्सर्ना गर्दै दोषिलाई कारवाही गर्न माग गरेको छ । शुक्रबार स्थलगत निरिक्षणमा गएको जिशिअ गुरुङ् सहितको टोलीले  धनेश्वर प्रावि बनेपा र मण्डलीदेवी प्रावि धुलिखेलको अनुगमन गरेको थियो । अनुगमन सकेर फर्के पछिको छलफलमा भएको चर्काचर्की हातपात सम्म पुगेको हो ।

यूनियनका काभ्रे अध्यक्ष राजकुमार हुमागाईद्धारा शनिबार जारी विज्ञप्तिमा कार्यालय प्रमुख जस्तो जिम्मेवार पदधिकारीले आफू मातहतका कर्मचारी माथि गरेको निन्दनीय कार्य भएको भन्दै कारवाही गर्न माग गरिएको छ ।

धनेश्वर प्राविमा गतबर्ष ९ जना मात्रै विद्यार्थी भएकोमा यो बर्ष २६ जना रहेको जिशिकामा पेश गरिएको विवरणमा उल्लेख छ । यस्तै मण्डलीदेवी प्राविमा गत बर्ष २६ जना रहेकोमा यस बर्ष ८ जना मात्रै विद्यार्थी रहेका छन् ।

विद्यालयलाई बार्षिक ११ हजार रुपैंया निकासा हुनु पर्नेमा एक चौमासिकको १६ हजार रुपैंया निकासा भईसकेको निरिक्षणमा फेला परेको थियो । जिशिकामा पेश गरेको विवरण र स्थलगत निरिक्षणमा फेला परेको तथ्यका विचमा गढबढी देखिएको भन्दै जिशिअ गुरुङ्ले सिंखडालाई विना तथ्य किन रकम निकाशा गरेको भन्दै प्रश्न गरेका थिए ।

'धेरै रकम निकासा हुनु पर्नेमा थोरै र थोरै रकम निकासा हुनु पर्नेमा किन धेरै रकम भन्दै जिशिअ साप कड्किनु भयो' सिंखडा भन्छन्, 'गत बर्षको रकमको कुरा पो हो यो, अहिले त नयाँ आर्थिक बर्ष भर्खर शुरु भएको छ, अव मिलाउँला नी भन्दा भन्दै कुटि हाल्नु भयो ।'

केही दिन देखि गुरुङ्को गतिविधि अप्रत्यासित खालको देख्दै भोग्दै आएको सिंखडा बताउँछन् । जिशिअ गुरुङ् घटनालाई अतिरञ्जित बनाएको भन्दै कार्यालय मातहतका कर्मचारीले गरेका कामका बारेमा उठेका प्रश्न माथि भएको छलफललाई अनावश्क रुपमा उछालिएको बताउँछन् ।

'म अनुगमनबाट फर्कनासाथ कार्यालयको ढोकैमा के फेला पर्यो त डाक्टरसाप भन्दै सिंखडा जीले सोध्नु भो, तपैंको कामका बारेमा प्रश्न उठेको छ के हो ? सही तथ्य जानकारी गराउनु भनें, भित्रै बसेर कुरा गरौं भन्नु भो, उहाँकै कार्यकक्षमा बसेर कुरा भयो' गुरुङ् भन्छन्, 'उहाँ पनि कडा मिजासको मान्छे म पनि उस्तै, चर्का चर्कि नै पर्यो, धकेला धकेल पनि भयो, मेरो नङ् अलिकति लामो रहेछ कोतर्यो, म त खेलाडी पनि हो, मैले कुटेकै भए त जे पनि हुन सक्थ्यो नी ।'

घटना पछि आफूहरुले अंकमाल समेत गरेर छुट्टिएकोले घटनालाई अतिरञ्जित किन गरेको हो ? आफूले बुझ्न नसकेको गुरुङ् बताउँछन् ।

लम्जुङ् स्थायी घर भएका गुरुङ् २ बर्ष अघि मुस्ताङ्बाट र धादिङ्का सिंखडा २ बर्ष अघि जाजरकोटबाट सरुवा भएर काभ्रे आएका हुन् ।

प्रकाशित मिति २०७३ साउन २२ गते

प्रतिक्रिया