Edukhabar
आइतबार, १३ असोज २०८१
विचार / विमर्श

प्रावि शिक्षक ताक्छ माथिल्लो कक्षा, उसैलाई धेरै अपमान !

शनिबार, २२ साउन २०७३

- हरीबहादुर बस्नेत  / म शिक्षक हुँ । म शिक्षक भएकै नाताले स्विकार गर्छु – हाम्रो शिक्षा ज्यादै नै कमजोर छ । हरेक शिक्षक आफ्नो विद्यालय राम्रो होस्, राम्रोसंग पढाउन पाइयोस्, धेरै मेहनत गर्न नपरोस् अर्थात् कमजोर विद्यार्थी विद्यालयमा नआओस् भन्ने नै चाहन्छ ।

क्याम्पसमा गयो, उच्च माध्यमिक विद्यालयबाट राम्रो विद्यार्थी नै आउदैंनन् भन्ने गुनासो देखिन्छ । उच्च माध्यमिक विद्यालयका सरहरुलाई सोध्यो, माध्यमिक विद्यालयबाट एसएलसी पास गरेर आएका विद्यार्थी नै राम्रा छैनन् भन्ने हुन्छ । त्यस पछि माध्यमिक तहमा सोध्यो खै ? निम्न माध्यमिक विद्यालयहरुबाट कस्तो खत्तम विद्यार्थी पठाइरहेका छन् भन्ने गुनासो छ ।

यो सबै कुराको जड भनेको त प्राथमिक तह रहेछ । हामीले कक्षा १ देखि ३ सम्मको पढाइ राम्रो गर्दै गयौं र त्यहाँको शैक्षिक स्तर सुधार्न सक्यौ भने माथिल्लो कक्षाहरु आफै सुध्रिएर जाने रहेछन् । विभिन्न अध्ययन अनुसन्धानहरुले पनि कक्षा १ देखि ३ सम्म पढ्ने बालबालिकाहरुलाई बुझायौं भने शिक्षाको गुणस्तर बढ्छ भन्ने नै देखाएको छ । 

हाम्रा सन्दर्भमा कुरा गर्ने हो भने नेपाली भाषाका आधारभुत ज्ञानहरु जस्तै कम्तिमा पनि सग्ला अक्षरहरु चिन्न सकोस्, बाह्रखरी पढ्न सकोस्, जोडिएका अक्षर पढ्न सकोस्, यिनै ३ वटा कुराहरु विद्यार्थीले सिक्न सक्यो भने उसले नेपाली पढ्न सक्छ ।

त्यस्तै गरेर गणितको विषयमा उसले १ देखि १०० सम्मका अंकहरु पढ्न सकोस्, लेख्न सकोस् र त्यस पछि सामान्य जोड घटाउ र गुणन गर्न सकोस् । त्यो भयो भने गणितको कुरा पढ्छ । त्यस्तै अंग्रेजीको हकमा पनि उसले ए बी सि डि हरु चिन्न सकोस् । सामान्य शब्दहरु बनाउन सकोस्, त्यसपछि उसले सामान्य–सामान्य वाक्यहरु बनाउन सक्यो भने त्यो अंग्रेजीमा पनि पोख्त हुन सक्छ । त्यस कारण भाषामा नेपाली, अंग्रेजी र गणित यी ३ वटा विषयमा विद्यार्थीले राम्रो गर्यो भने अरु विषयमा आफै राम्रो हुन सक्छ ।

त्यसैले शिक्षालाई गुणस्तरीय बनाउन पहिले आधारभुत तह लाई नै ध्यान दिन जरुरी देखिन्छ, हाम्रो शिक्षाको जग भनेको प्राथमिक तह हो । कक्षा १ देखि ५ सम्म हो । तर यहाँ नै बढी लार्पवाही हुन्छ । किन लापर्वाहि छ भने प्राथमिक तहको शिक्षकले प्राथमिक तहमा पढाउन मन पराउँदैन, माथिल्लो कक्षाहरु पढाउन रुचाउँछ । अहिले त डिग्री पास गरेका शिक्षकहरु प्राथमिक तहमा हुनुहुन्छ, उहाँहरु चाँही उच्च माध्यमिक विद्यालय तह ताकिराख्नु भएको हुन्छ । प्राथमिक तहमा उहाँको ध्यान नै हुँदैन । त्यस्तै प्राथमिक तहमा काम गर्ने शिक्षकहरुलाई अन्य तहका शिक्षकहरुले अपमानित नजरले हेरिरहेका हुन्छन् । यिनिहरु केहि जान्दैन्न, यिनिहरु कमजोर हुन्छन, भन्ने ठान्छन् । तर मलाई त प्राथमिक तहका शिक्षकलाई सम्मान गर्नु पर्ने ठान्छु । प्राथमिक तहका शिक्षकहरुलाई विशेष आदर गर्नु पर्ने ।

उनीहरुलाई तालिम त पर्याप्त भइसकेको छ । तर पढाउने अवसरहरु दिनु पर्यो । र, प्राथमिक तहलाई सुधार गर्नु पर्यो । अब जहाँसम्म जाजरकोट जिल्लाको सन्दर्भमा शैक्षिक स्तर सुधारको कुरा छ केही समय पहिले गृहमन्त्री ज्यूले जाजरकोटको दशेराबाट शैक्षिक सुधार वर्ष घोषणा गर्नु भयो ।

गरेपछि नहुने कुरा के नै छ र ? सबै हुन्छ । तर के छ भने सानै देखि लागेको बानी एकै पटक फालिहाल्छु भन्न चाँहि गाह्रो छ । अहिले पनि हामी के देख्दैछौ भने सदरमुकाममा महिनौ विद्यालय नगएर बस्ने शिक्षकहरु छन् । एउटै शिक्षकले ४÷५ वटा काम गरिरहेका छन् । त्यहि शिक्षक कुनै विद्यालयमा शिक्षक छ भने त्यहि शिक्षक कुनै बोर्डिङ स्कुलको अध्यक्ष भएर काम गर्दै आइरहेको छ । आफ्ना विद्यालयमा विद्यार्थी आउन् या नआउन् । तर, बोर्डिङ्मा चाँहि जाउन् भन्ने उसको चाहना हुन्छ । त्यसैले समस्या देखिएको छ ।

२० वर्षे मेरा अनुभवहरुले अर्को कुरा के देखेको छ भने, पहिले र अहिलेमा शिक्षामा फरक छ । मैले पढ्दा खेरी हाम्रा साथिहरु सिडीओ, जिशिअ, न्यायधिशका छोराछोरी हुन्थे त्यति बेला सरुवा भएर आउने सबै कर्मचारीका छोराछोरी मात्रै हैन यहाँका माननीय मन्त्रीहरु सबैले आफ्ना छोरा छोरीहरुलाई सरकारी विद्यालयमै पढाउँथे ।

त्यसले गर्दा पढाउन शिक्षकलाई पनि डर हुदाँे रहेछ, किनभने जि.शि.अ. को छोराछोरीलाई पढाउने शिक्षकले पढाएन भने त उसले आफ्नो आमा बाबुलाई भनिदिने भयो, सिडिओको छोराछोरीलाई पढाउने शिक्षकले पढाएन भने उसले पनि भनिदिन्छ । त्यसैले गर्दा पनि पहिलेको पढाई राम्रो थियो । तर, अहिले हुने खाने, बाठाटाँठा, नेता, शिक्षक, कर्मचारीका छोराछोरी सबै बोर्डिङ्मा छन् । सरकारी विद्यालयमा त निम्न र विपन्न वर्गका, पहुँच नभएका मान्छेका छोराछोरी मात्रै छन् । उनीहरु विचरा, प्रश्नै उठाउन सक्दैनन ।

जस्तो हामी गाउँतिर गयौं भने नेताका छोराछोरीहरु सदरमुकाममा पढ्छन् । एकदम हुने खानेले छोराछोरी काठमाडौं राखेको छ । अली कमजोरले नेपालगञ्ज, सुर्खेत पढाइरहेको छ । त्यहाँ भन्दा पनि कमजोरले सदरमुकाममा राखेर पढाउँछ । गाउँमा त केटाकेटी नै छैनन्, भए पनि विपन्न वर्गकै छन् ।

शिक्षक फेरि नेता छन् । शिक्षकहरु पार्टीका नेताभन्दा ठुला छन् । त्यसैले पनि सही बाटोमा ल्याउनलाई सुधार बर्ष घोषणा मात्र गरेर हुँदैन । कार्यान्वयन गर्न पनि सक्नु पर्यो । राम्रो काम गर्ने शिक्षकलाई पुरस्कारको व्यवस्था गर्नुपर्यो । प्रेरणा दिनु पर्यो । प्रत्येक विद्यालयहरुलाई नमुनाको रुपमा लिएर प्रत्येक ईलाकामा, प्रत्येक गाविसमा एउटा राम्रो प्राथमिक विद्यालय, एउटा राम्रो निम्न माध्यमिक विद्यालय बनाउनु पर्यो ।

हामीले आधारभूत तह र माध्यमिक तहका विद्यालय राम्रा बनाउन सक्यौं भने एकाएक प्रयासहरु त्यहाँबाट थालनी हुन्छन् । र, त्यसरी अगाडी बढ्न सकियो भने सफलता प्राप्त गर्न सकिन्छ ।

( त्रिभुवन उच्च माध्यमिक विद्यालय, खलंगा, जाजरकोटका शिक्षक बस्नेतसंग, यूनेस्कोको सहयोगमा एडुखबर डट कमले उत्पादन गरेको रेडियो कार्यक्रम संघीयतामा शिक्षाका लागि पत्रकार सुरेन्द्र सुमनले गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति २०७३ साउन २२ गते

प्रतिक्रिया