Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

पत्रकारितामा लाग्न अब अलग्गै परीक्षा दिनुपर्ने

शनिबार, २२ साउन २०७३

काठमाडौं २२ साउन / के तपाईं पत्रकारिता पेसामा आउन चाहनुहुन्छ ? पत्रकारिता पेसा लामो समयदेखि अँगालिरहनु भएको छ ? यदि त्यसो हो भने अब पत्रकार बन्नका लागि निश्चित मापदण्ड तोकिएको परीक्षा पास गर्नुपर्नेछ ।  परीक्षामा उत्तीर्ण हुनेले मात्र यो पेसामा संलग्न हुन पाउनेछन् ।

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ गठन गरेर सो विषयमा अध्ययन गराएको थियो ।  सो कार्यदलले पत्रकारको योग्यता, उत्तीर्ण गर्नुपर्ने परीक्षाको मापदण्ड तथा परीक्षण कार्यविधि तयार गरेर शुक्रबार प्रतिवेदन हस्तान्तरण गरेको छ ।  सो प्रतिवेदन कार्यान्वयनमा आएपछि अब पत्रकारिता पेसामा आउन चाहने नयाँ आगन्तुक र पेसामा रहेका कार्यरत पत्रकारले समेत काउन्सिलले तोकेको निश्चित मापदण्डसहितको परीक्षा उत्तीर्ण गर्नुपर्नेछ ।

काउन्सिलले सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिनाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गत सालको फागुन १९ गते गठन गरेको थियो ।  सो कार्यदलमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका डा. कुन्दन अर्याल, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल सदस्य हुनुहुन्थ्यो ।  कार्यदलले करिब पाँच महिना लगाएर तयार गरेको प्रतिवेदन काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीलाई हस्तान्तरण गरेको छ ।
वैधानिक पत्रकारिताको स्थापना र विकास, पत्रकारितालाई पेसाको मापदण्ड अनुकूल बनाउन, पत्रकारितालाई पारदर्शी र उत्तारदायी बनाउन, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने पत्रकारिताको विकास गर्न पत्रकारको योग्यता तोक्नुपर्ने औचित्यको बारमा कार्यदलले प्रतिवेदनमा चर्चा गरेको छ ।

छिमेकी मुलुक भारतले सन् २०१३ मा पत्रकारको योग्यता तोक्न तीन सदस्यीय कार्यदल गठन गरेर अध्ययन प्रतिवेदन बनाएको थियो ।  अमेरिकाले पत्रकार हुनका लागि कम्तीमा स्नातक उत्तीर्ण गर्ने प्रावधान बनाएको छ ।  बेलायतमा ग्रेजुयट नभई पत्रकारिता क्षेत्रमा प्रवेश मिल्दैन ।  अस्ट्रेलियाले निश्चित मापदण्डको परीक्षा उत्तीर्ण गराई एकवर्षे ग्रेजुयट क्याडेटसीप हासिल गर्नैपर्ने व्यवस्था गरेको छ ।  नेपाली मिडियाले संवाददाता माग गर्दा कम्तीमा स्नातक पास माग्ने गरे पनि पत्रकार हुन सरकारी स्तरबाटै निश्चित योग्यताक्रम तोकिएको छैन ।

कार्यदलका संयोजक डा. रामकृष्ण तिमिल्सिनाले नेपाली पत्रकारिताको स्तरलाई बढोत्तरी गर्न र यो पेसालाई लोकतान्त्रिक र जिम्मेवार बनाउन पत्रकारको योग्यता तोक्न अनिवार्य रहेको बताउनुभयो ।  “पत्रकारिता मर्यादित पेसा हो, ख्यालख्यालमा गरिने पेसा होइन, यसलाई जिम्मेवार र स्तरीय बनाउन पत्रकारको योग्यता तोक्न अनिवार्य छ”, उहाँले भन्नुभयो ।  अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पत्रकार हुन निश्चित योग्यता तोकिने प्रचलन रहेको उहाँले अनुभव सुनाउनुभयो ।

कार्यदलका सदस्य डा. अर्यालले पत्रकारिता विषय लिएर डिग्री पास गरेकाले समेत पेसागत परीक्षामा उत्तीर्ण भई अनुमतिपत्र हासिल गर्नुपर्ने प्रावधान प्रतिवेदनमा सिफारिस गरिएको बताउनुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारिता आफैँमा पेसा भएकाले पत्रकारको योग्यता अनिवार्य रहेको बताउनुभयो ।  “पत्रकारितालाई कि त पेसा नै नमानौँ, जे छ त्यसरी चल्नदिउँ, पेसा मान्ने हो भने पत्रकारको योग्यता अनिवार्य हुनुपर्छ”, पन्तले भन्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीले पत्रकारितामा लाग्ने खास व्यक्तिहरू ओझेलमा रहने तर पार्टी पत्रकारिता र पित पत्रकारिता गर्नेकै हालीमुहाली भइरहेकाले त्यसको शुद्धीकरणका लागि पनि पत्रकारको योग्यता आवश्यक भएको बताउनुभयो ।

लक्की चौधरीले गोरखापत्रमा लेखेकोे खबर

प्रतिक्रिया