Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

छोराको भन्दा छोरीको पढाइ राम्रो

शनिबार, २२ साउन २०७३

काठमाडौं २२ साउन / विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो ।

केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धि परीक्षण गरेको थियो । छोरा -छात्र) का तुलनामा छोरी (छात्रा) को औसत सिकाइ उपलब्धि राम्रो पाइएको केन्द्रका उपसचिव गोपालप्रसाद भट्टराईले बताए । कक्षा ३ को नेपालीमा छात्रको औसत उपलब्धि अंक ५१ छ भने छात्राको ५४ छ । गणितमा छात्र र छात्राको सिकाइ समान ४५ छ । कक्षा ५ मा नेपालीमा छात्राको सिकाइ उपलब्धि ४८ र छात्रको ४६ मात्रै छ । गणितमा छात्राको ५० र छात्रको ४८ छ । अंग्रेजीमा दुवैको सिकाइ उपलब्धि ४७ छ । 'लैंगिक दृष्टिले सिकाइ उपलब्धि विश्लेषण गर्दा दुवै कक्षामा छात्रको भन्दा छात्राको सिकाइ उपलब्धि तुलनात्मक रूपमा बढी देखिन्छ,' एक वर्षअघि भएको परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गर्दै उनले भने, 'यो सकारात्मक हो ।'

केन्द्रले कक्षा तीनमा २३ जिल्लाका एक हजार पाँच सय ४२ विद्यालयका ३३ हजार आठ सय ६३ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो । त्यसमा १६ हजार नौ सय ३६ छात्रा छन् । त्यस्तै कक्षा पाँचको पनि २३ जिल्लाकै एक हजार पाँच सय ४३ विद्यालयका ४० हजार १५ विद्यार्थीको उपलब्धि परीक्षण गरेको हो । त्यसमा २० हजार ८९ छात्रा छन् ।

एसएलसीमा परीक्षा दिने छात्रा बढी भए पनि सिकाइ स्तर छात्रकै राम्रो छ । यस वर्षको एसएलसीको नतिजाले पनि प्रस्ट पारेको छ । यसपालि सामुदायिक विद्यालयबाट एसएलसी दिने तीन लाख २३ हजारमध्ये एक लाख ५२ हजार छात्र र एक लाख ७० हजार छात्रा थिए ।

तर, जीपीए अंक बढी ल्याउनेमा छात्र बढी छन् । सामुदायिक तर्फबाट ३.९५ जीपीए ल्याउने एक जना मात्र छन् । ती पनि छात्र हुन् । ३.९० जीपीए ल्याउने १८ जनामध्ये ६ जना मात्रै छात्रा छन् । त्यस्तै ३.८५ जीपीए ल्याउने ४५ जनामा १५ जना मात्रै छात्रा छन् । यसले माथिल्लो कक्षामा छात्रा कमजोर रहेको देखाउँछ । नासाको पछिल्लो रिपोर्टले तल्लो तहदेखि छात्रको सिकाइ स्तर सुधार हुँदै आएको देखाएको छ ।

समग्रमा सिकाइ झन् खस्कँदो
केन्द्रले चार वर्षअघि गरेको अध्ययनमा विद्यार्थीले प्राप्त गरेको सिकाइ उपलब्धिभन्दा कम पाइएको हो । परीक्षणको क्रममा कक्षा तीनमा चार वर्षअघि नेपाली विषयको सिकाइ उपलब्धि औसत ६३ भएकोमा गतवर्षको परीक्षणमा ५२ मा झरेको अध्ययनले देखाएको छ । गणितमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकोमा गत वर्ष ४५ मा झरेको छ । कक्षा पाँचको सिकाइ उपलब्धि पनि तीन कक्षाको जस्तै कमजोर हुँदै गएको छ । केन्द्रका अनुसार कक्षा पाँचको नेपालीमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकोमा २०१५ मा ४६ मा झरेको छ । गणितमा ५३ बाट ४८ भएको छ । त्यस्तै अंग्रेजीमा सिकाइ उपलब्धि ५४ भएकोमा गत वर्षको अध्ययनमा ४७ मात्रै पाइएको छ ।

केन्द्रले कक्षा ५ पूरा गरिसकेका नेपाली विद्यार्थीहरूले गणित र नेपाली विषयमा हासिल गरेको उपलब्धि स्तरलाई अन्तर्राष्ट्रिय परीक्षणमा सहभागी कक्षा ४ का विद्यार्थीले प्राप्त गरेको उपलब्धि स्तरसँग पनि तुलना गरेको छ । यसअनुसार नेपाली विषयको सक्षमता अन्तर्राष्ट्रियस्तरका कक्षा ४ का विद्यार्थीको औसतभन्दा १.०८ ले तल छ । गणित विषयमा ०.३९१ ले मात्र माथि रहेको छ । 'यो नतिजाले नेपाली विद्यार्थीहरू भाषिक सक्षमतामा कक्षा ४ का समकक्षी अन्तर्राष्ट्रिय विद्यार्थीभन्दा झन्डै २ वर्ष पछाडि छन्,' भट्टराईले भने, 'गणितमा कक्षा ४ समान मात्र छन् भन्ने देखाउँछ ।'

उपत्यका, हिमाल, पहाड, तराई र पाँचै विकास क्षेत्र समेटिने गरी अध्ययन भएको केन्द्रले जनाएको छ । 'यो सिकाइ उपलब्धि परीक्षणले उपत्यकाको नतिजा अन्य भौगोलिक क्षेत्रको भन्दा सबै विषयमा उच्च रहेको देखाएको छ,' केन्द्रका उपसचिव गोपाल भट्टराईले भने, ' उपत्यकापछि पहाडी क्षेत्रमा विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको छ ।' उनका अनुसार उपत्यकामा कक्षा ३ मा नेपालीमा ६४, गणित ५१ रहेको छ । कक्षा ५ को नेपाली ५७, गणित ५८ र अंग्रेजी ६८ छ भने हिमाली क्षेत्रको सबैभन्दा न्यून रहेको देखिएको छ । हिमाली क्षेत्रमा कक्षा ३ मा नेपालीमा ४५ र गणितमा ३९, कक्षा ५ मा नेपालीमा ४१, गणितमा ४२ र अंग्रेजीमा ३७ मात्रै सिकाइ उपलब्धी छ ।
ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि उच्च छ । भट्टराईका अनुसार ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको उपलब्धि कक्षा ३ मा नेपालीमा ४९ र गणित ४४ छ । कक्षा ५ मा नेपालीमा ४४, गणितमा ४७ र अंग्रेजीमा ४० रहेको छ भने सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको उपलब्धि कक्षा ३ को नेपालीमा ६०, गणित ५१, कक्षा ५ मा नेपाली ५३, गणित ५५ र अंग्रेजी ६६ पुगेको छ ।

सहरी क्षेत्रको विद्यालयमा पढ्ने विद्यार्थीको सिकाइ चार वर्षअघिको तुलनामा कमजोर छ । चार वर्षअघि कक्षा तीनमा नेपालीको सिकाइ उपलब्धि ७५ रहेकोमा गत वर्ष ६० मा सीमित भएको छ । गणितमा ७१ बाट झरेर ५१ मा आइपुगेको छ । कक्षा पाँचमा पनि चार वर्षको अध्ययनले नेपालीमा सिकाइ उपलब्धि ७४ रहेकोमा सन् २०१५ मा ५३ मा सीमित भएको छ । गणितमा ६५ बाट ५५ मात्रै उपलब्धि छ । अंग्रेजीमा ७३ बाट झरेर ६६ मा आइपुगेको छ ।

गणितमा प्यूठान सबैभन्दा कमजोर
कक्षा तीनको गणितमा ११ जिल्लाका विद्यार्थीले औसत अंक पनि ल्याउन सकेनन् । केन्द्रका अनुसार ती जिल्लामा नवलपरासी, रौतहट, बाँके, मोरङ, जाजरकोट, डोटी, बझाङ, संखुवासभा, भोजपुर र प्यूठान छन् । तीन कक्षाको गणितमा सबैभन्दा बढी झापाको ५९ र काठमाडौंको ५६ छ भने सबैभन्दा कम २७ मात्रै छ । कक्षा तीनकै नेपालीमा औसत सिकाइ उपलब्धि ५२ रहेकोमा १२ वटा जिल्लाले औसत अंक पनि प्राप्त गरेका छैनन् । नेपालीमा सबैभन्दा राम्रो मुस्ताङमा सिकाइ उपलब्धि ८० छ भने सबैभन्दा कमजोर रौतहटमा ३३ मात्रै छ । कक्षा पाँचमा पढाइ र लेखाइ सबैभन्दा कमजोर छ । ललितपुरमा सबैभन्दा धेरै औसत ६० रहेकोमा जाजरकोटमा सबैभन्दा कम ३४ मात्रै छ । ११ जिल्लाले औसत अंक पनि प्राप्त गरेका छैनन् ।

१५ जिल्लाका विद्यार्थीले औसत अंक ल्याएनन्
अंग्रेजीमा पनि लेखाइ र पढाइमा कमजोर छ । २३ मध्ये आठवटा जिल्लाले मात्रै औसत अंक प्राप्त गरेका छन् । आठवटामा काठमाडौंका विद्यार्थीको अंग्रेजी सबैभन्दा राम्रो पाइएको छ । केन्द्रका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, नवलपरासी, इलाम, धादिङ र मोरङका विद्यार्थीले मात्रै औसत अंक प्राप्त गरेका छन् । अंग्रेजीमा भोजपुर सबैभन्दा कमजोर देखिएको छ । भोजपुरका विद्यार्थीले औसत २६ अंक मात्रै प्राप्त गरेका छन् । अंग्रेजीमा निजी विद्यालयमा पढ्ने विद्यार्थीको औसत उपलब्धि राम्रो भए पनि सामुदायिक विद्यार्थीको औसत उपलब्धि पनि प्राप्त नभएको उपसचिव भट्टराईले बताए । अंग्रेजीमा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि ३८ छ भने निजी विद्यालयमा पढ्ने विद्यार्थीको ७३.१ छ । केन्द्रका अनुसार सामुदायिक विद्यालयका नौ हजार आठ सय ५० र निजी विद्यालयका तीन हजार दुई सय ९६ विद्यालयका विद्यार्थी परीक्षणमा सहभागी भएका थिए ।

भट्टराईले विद्यार्थीहरूले वस्तुगतमा विषयगत प्रश्नमा हासिल गर्ने उपलब्धि न्यून रहेको बताए । 'स्वतन्त्र लेखन, कुनै विषयमा स्वतन्त्र वर्णन, कारण तथा तर्कद्वारा कुनै विचार र भनाइको पुष्टि गर्ने कार्यमा विद्यार्थीहरू कमजोर रहेको देखाउँछ,' उनले भने, 'घोक्ने र कण्ठ गर्ने विषयमा मात्रै सिकाइ राम्रो छ ।' गृहकार्य गर्ने, गृहकार्यको नियमित जाँच गर्ने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको केन्द्रले अध्ययनले देखाएको छ ।
केन्द्रका प्रमुख लेखनाथ पौडेलले विद्यालयमा भौतिक पूर्वाधार र शिक्षकमा लगानी गरे पनि कक्षाकोठामा त्यसको प्रभाव पुग्न नसकेको बताए । 'शिक्षकहरू अरूको कमजोरी देखाउँछन्, आफ्नो कमजोरी देख्दैनन्,' उनले भने, 'विद्यार्थीको सिकाइ सुधार नगर्ने हो भने जतिसुकै ठूलो कुरा गरे पनि केही हुँदैन । सिकाइ सुधार गर्न शिक्षकले सिकेको ज्ञान कक्षामा देखिनुपर्छ ।'

कान्तिपुरमा मकर श्रेष्ठले लेखेको खबर ।

प्रतिक्रिया