Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

सरकारकै निकाय भन्छ : सामुदायिक शिक्षा भन्दा निजीको स्तर उच्च !

शुक्रबार, २१ साउन २०७३

भक्तपुर - सामुदायिक विद्यालयको सिकाइ उपलब्धिका लागि सरकारले शिक्षामा अत्यधिक लगानी गरे पनि सामुदायिक विद्यालयको सिकाइ उपलब्धि निजी लगानीमा सञ्चालित विद्यालयहरुको भन्दा कम देखिएको छ । शिक्षा मन्त्रालय अन्र्तगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा ३ र ५ को गणित, नेपाली र अंग्रेजी विषयमा गरेको सिकाइ उपलब्धि परीक्षणको नतिजाले यस्तो अवस्था देखाएको हो ।  यो तथ्यले सार्वजनिक शिक्षाको गुणस्तर बढाउन गरिएका प्रयास विफल भएको पुष्टि भएको छ ।

कक्षा ३ र ५ कक्षाका विद्यार्थीको सिकाइ उपलब्धिको प्रतिवेदन र त्यसको परिणामबारे शुक्रबार जानकारी दिन आयोजित कार्यक्रममा सहसचिव तथा केन्द्रका प्रमुख लेखनाथ पौडेलले उक्त जानकारी दिएका हुन् । ‘विषयगत रुपमा सिकाइ उपलब्धि तुलना गर्दा कक्षा ३ को नेपाली र गणित विषयमा क्रमशः २१ र १३ प्रतिशत र कक्षा ५ को नेपाली, गणित र अंग्रेजी विषयमा क्रमशः १८, १६ र ३५ प्रतिशतले सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीको औसत सिकाइ उपलब्धि स्तर उच्च रहेको देखियो ।’ उनले भने ।

सरकारी लगानी भए पनि सिकाइ उपलब्धि कम हुनुमा उनले गुणस्तर परीक्षण केन्द्रले शिक्षा विभाग र मन्त्रालयलाई दिएको सुझाव कार्यान्वयन नभएको मात्र नभएर शिक्षकहरु बढी जिम्मेवार रहेको बताए ।
‘शिक्षकहरु कक्षाकोठामा जान्छन्, तर के गर्छन् ? धेरैलाई थाहा नै हुन्न, यसैले शिक्षकहरु पाठ्यक्रम सहित कक्षा कोठामा जाने र पठन पाठन गर्नुपर्छ’, उनले भने, ‘ त्यसो नगर्दा हाम्रो सिकाइ उपलब्धि घट्दो छ ।’
केन्द्रका अनुसार नेपालीमा कक्षा ३ मा ५२ र कक्षा ५ मा ४६, गणितमा कक्षा ३ मा ४५ र कक्षा ५ मा ४८, कक्षा ५ को अंग्रेजी विषयमा ४७ रहेको छ ।

केन्द्रले उपत्यका अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, मध्यमाञ्चलको रामेछाप, धादिङ, रौतहट, बारा, पूर्वाञ्चलको इलाम भोजपुर, संखुवासभा, मोरङ, झापा, पश्चिमाञ्चलको तनहुँ, स्याङ्जा, नवलपरासी र मुस्ताङ, मध्यमश्चिमाञ्चलको प्युठान, बाँके, जाजरकोट, कालीकोट, सुदूरपश्चिमाञ्चलको  बझाङ, डोटी र कञ्चनपुर गरी २३ जिल्लाका कूल ७३ हजार ८ सय ७८ जना विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो । जसमध्ये कक्षा ३ का ३३ हजार ८ सय ६३ र कक्षा ५ का ४० हजार १५ जना विद्यार्थी समावेश गरिएको थियो ।

प्रकाशित मिति २०७३ साउन २१ गते

प्रतिक्रिया