Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

मेडिकल कलेज मुद्दामा छानबिन गर : बार

शुक्रबार, १८ भदौ २०७२

काठमाडौं १८ भदौ / मेडिकल कलेज र काउन्सिलको मुद्दा सम्बन्धमा अदालतले फैसला गर्दा आर्थिक चलखेल भएको भन्ने प्रकरणमाथि स्वतन्त्र छानबिन गर्न नेपाल बारले माग गरेको छ ।

एक मेडिकल कलेजका अधिकारीले ‘मेडिकल काउन्सिलको मुद्दा अदालतमा पैसा दिएर मिलाउँदै आएको र दारीवाल पूर्वप्रधानन्यायाधीशलाई दुई करोड दिएको’ भन्ने अडियो टेपको बेहोरा सञ्चारमाध्यममा सार्वजनिक भएकाले त्यसमाथि छानबिन गर्न आग्रह गर्दै बारले बिहीबार विज्ञप्ति जारी गरेको हो ।

‘प्रकाशित सामग्रीले स्वतन्त्र न्यायपालिकाको गरिमा र जनआस्थामा समेत प्रश्न खडा गरेको र यो विषयमा सार्वजनिक रूपमा प्रश्नहरूसमेत उठेकाले उक्त प्रकरणको स्वतन्त्र र विश्वसनीय छानबिन गरी यथाशीघ्र निष्कर्षमा पुर्‍याउन नेपाल बार एसोसिएसन सम्माननीय प्रधानन्यायाधीशज्यू र न्यायपरिषद्का सदस्यज्यूलगायत सम्बन्धित सबै सरोकारवाला निकायहरूसमक्ष अनुरोध
गर्न चाहन्छ ।’

मेडिकल कलेजको सम्बन्धन र सिट संख्या निर्धारणसम्बन्धी विषयमा परेका विवादहरूमा ‘सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश, न्यायाधीशहरू र कानुन व्यवसायी समेतले गैरआचरणयुक्त क्रियाकलाप गरेको’ भन्ने सम्बन्धमा आफ्नो गहिरो ‘चासो, सरोकार र ध्यानाकर्षणसमेत भएको’ बारले जनाएको छ ।

जति पनि पैसा तिरेर पढ्ने भारतीय र नेपाली विद्यार्थीको एजेन्ट बनेर छद्म ढंगले गरिएको टेप रेकर्डमा युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख ध्रुव पौडेलले अदालतमा पैसा खुवाएर मुद्दा जित्ने गरेको बताएको समाचारमा उल्लेख छ । ‘एकजना दारीवाल पूर्वप्रधानन्यायाधीशलाई दुई करोड घूस खुवाइएको’ त्यसमा उल्लेख छ ।

उक्त प्रकरण सार्वजनिक भएको भोलिपल्ट परिषद्को बैठक बसेर यसबारे छानबिन गर्ने अनौपचारिक छलफल सदस्यहरूबीच भएको थियो । ‘सम्बन्धित मुद्दाका मिसिल र तथ्य प्रमाण जुटाउने काम भइरहेको छ,’ एक सदस्यले भने, ‘केही दिनमै हामी बैठक बसेर त्यसबारे कसरी छानबिन सुरु गर्ने भन्ने छलफल हुनेछ ।’

भ्रष्टाचार भएको थोरै मात्रै सूचना पाए आफू कुनै कसर बाँकी नराखी अनुसन्धान र कारबाहीमा उत्रने भन्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफ्नो कार्यकालको सुरुको दिन असार २३ गते पत्रकार सम्मेलन गरी स्वतन्त्र न्यायपालिकाको छवि सुधार्न केही ठोस योजनाका साथ अघि बढ्नेसमेत बताएका थिए ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया