Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयका सहसचिव अवस्थीको बढुवा, अवधि २ महिना बाँकी

शुक्रबार, २१ साउन २०७३

काठमाडौं - शिक्षा मन्त्रालयका सहसचिव डा.लवदेव अवस्थीको बढुवा भएको छ । अवस्थी तत्कालिन शिक्षा सचिव विश्वप्रकाश पण्डितले राजिनामा गरेसंगै मन्त्रालयका निमित्त सचिव थिए । त्यसैले उनलाई सरकारले सम्भवत शिक्षा मन्त्रालयमै पदस्थापना गर्न सक्ने देखिन्छ ।

शिक्षा ऐनको कार्यान्वयनसंगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डको उनी सदस्य सचिव समेत हुन् । २०४२ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका अवस्थी आउँदो असोज २९ गते उमेर हदका कारण अवकास हुने छन् ।

त्यसैले उनले सचिवका रुपमा झण्डै २ महिना मात्रै सेवा गर्ने छन् ।

मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले अवस्थी र राजप्रसाद सेवा खारेज पछि निजामति सेवामा आएका सहसचिव राजेश्वरमान सिंहको पनि बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रीपरिषद्को बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतमा सिफारिस गरेका राजनीतिक व्यक्तिको नाम खारेज गर्ने निर्णय गरेको छ । ओली नेतृत्वको सरकारले वैशाखको पहिलो साता विभिन्न मुलुकमा २२ जना राजदूतको नाम सिफारिस गरेको थियो । सिफारिसमा १४ जना राजनीतिक व्यक्ति तथा ८ जना परराष्ट्र मन्त्रालयका कर्मचारी थिए । सिफारिसमा परेका परराष्ट्र मन्त्रालयका कर्मचारीको संसदीय सुनुवाई भइसकेको छ । तर राजनीतिक व्यक्तिको भने सुनुवाई हुन बाँकि थियो ।

बैठकले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुका परिवारलाई एक साताभित्र प्रति परिवार १० लाख रुपैयाँ रुपैयाँ दिने, आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च बील अनुसार भुक्तानी गर्ने तथा मुद्दा फिर्ताका लागि गृह मन्त्रालयले एक साताभित्र प्रस्ताव तयार पार्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले पद्बहालीका क्रममा लिएको दलित समुदाय र कर्णालीवासीले बच्चाको जन्मदर्ता गर्दा एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने भनेर गरेको निर्णय अनुमोदन गरेको छ ।

प्रकाशित मिति २०७३ साउन २१ गते

प्रतिक्रिया