Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

विद्यार्थी तिराउँछन् शिक्षकलाई जरिवाना !

शुक्रबार, २१ साउन २०७३

- हरिसुन्दर छुकां / काभ्रे - विद्यार्थीले गल्ति गर्यो भने शिक्षकले के गर्छन् ? पक्कै पनि सजायँ गर्छन् !

शिक्षकले गरेको गल्तिमा विद्यार्थीले के गर्छन् नी ?

यसको उत्तर चाँही ठ्याक्कै दिन सकिँदैन । किनभने हाम्रो समाजमा ठूलाले गरेको गल्तिलाई देखेको नदेख्यै गर्नु पर्ने बाध्यता छ । त्यस माथि शिक्षकले गर्ने गल्तिमा औंला उठाउने हिम्मत कुन विद्यार्थीको ?

तर, काभ्रेको साँगा नासिकास्थानको महेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई न त त्यो सामाजिक मान्यताले रोकेको छ, न त गल्ति गर्ने शिक्षकका अघिल्तिर उभिएर 'सर ! तपाईले गल्ति गर्नु भो' भन्ने हिम्मत जुटाउन नै सकस परेको छ !

हो, उक्त विद्यालयका विद्यार्थी गल्ति गर्ने शिक्षकलाई ठाउँको ठाउँ जरिवाना गर्छन् ।

चौर र कक्षा कोठामा छरपष्ट हुने कागजका टुक्रा र प्लाष्टिक जन्य फोहरले कुरुप बनाएको विद्यालयलाई सफा गर्न विद्यार्थीको यो अभियान अहिले उदाहरणीय भएको छ । शुरुमा केही शिक्षकहरुले यी बच्चाहरुले के गर्लान् र ? भनी अटेर पनि गरेका थिए, तर जब अटेर गर्ने शिक्षकहरुलाई सबैसामु विद्यार्थीले जरिवाना गराए, तब विद्यालयका वातावरण नै फेरियो ।

जो कोहीले विद्यालय परिसरमा फोहर फालेमा उसलाई जरिवना हुन्छ । के शिक्षक के विद्यार्थी उक्त नियम उलंघन गर्नेले जरिवाना नतिरी सुख्खै छैन । विद्यार्थीले फोहर गरेका प्रतिपटक रु. १० र शिक्षकका लागि रु. ५० तिराउने नियम छ ।

विगत ४ वषदेखि प्राचार्य पदको जिम्मेवारी सम्हाल्दै आएका नरेन्द्र पाठकले विद्यालयको वातावरणलाई सुधार गर्न, फोहोरलाई न्यूनीकरण गर्न धेरैपटक प्रयास गरे । धेरैपटक स्टाफ मिटिङमा कुरा पनि गरे । तर विद्यालय सफा बनाउने प्रयास असफल भयो । ‘तर, जब विद्यार्थी सक्रिय भएर विद्यालयको वातावरण सुधार अभियानमा लागे, फोहोर गर्ने विद्यार्थी मात्र होइन, शिक्षकलाई पनि जरिवाना गरे तब विद्यालयको वातावरण नै फेरियो ।’ पाठक भन्छन्, ‘अहिले कहिँ पनि, कुनै पनि फोहोर देखिँदैन, न त कुनै चकलेटको खोल, चाउचाउ, बिस्कुटको खोल नै !’

विद्यार्थी नै जागरुक भएपछि पहिला कक्षाकोठादेखि चौरभरी छरपष्ट हुने प्लाष्टिक र कागजका टुक्राहरु अहिले कँही कतै भेटिँदैन । विद्यालयमा आएको परिवर्तनबाट दंग भएका प्राचार्य पाठक गमक्क हुँदै भन्छन्, ‘हामीले गर्न नसकेको काम विद्यार्थी भाइबहिनीहरुले पो गरिदिए !’

विद्यार्थीले गत जेठ २३ गते विहानी प्रार्थनाका बेला विद्यालयलाई प्लाष्टिक मुक्त विद्यालय घोषणा गरेका थिए । यसको संयोजन गर्ने जिम्मा उनीहरुले आफूहरु नै आवद्ध भएको बाल क्लबलाई दिए ।
विद्यालयमा ११ सदस्यीय सिर्जनशील महेन्द्र बाल क्लब छ । सोही क्लबका विद्यार्थीको पहलमा विद्यालयलाई प्लाष्टिकमुक्त विद्यालय बनाए पछि शिक्षकहरुले परिवर्तनका लागि विद्यार्थीलाई नै सक्रिय बनाउनुपर्ने आवश्यकता पनि बोध गरेको छ ।

विसं.२०३८  सालमा स्थापना भएको विद्यालयमा अहिले करिब ३ सय विद्यार्थी पढ्छन् ।  २० शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । विद्यालयलाई प्लाष्टिक मुक्त बनाउने अभियानमा सफल भएका उनीहरु अहिले ‘फोहोरै नगरौं’ अभियानमा पनि लागिरहेका छन् ।

उक्त अभियान अन्तर्गत उनीहरुले प्रत्येक कक्षामा फोहोर कम गर्ने र कक्षाकोठा सफा गर्ने जिम्मेवारी पनि रुटिन बनाएरै लागू गरेका छन्  । उनीहरुले विद्यालय हाता भित्र चुइँगम, चकलेट खान नपाउने नियम बनाएका छन् । यति मात्र नभएर आफूले ल्याएको प्लाष्टिक फाल्न नपाउने नियम पनि छ ।

‘आफू पढ्ने विद्यालयको वातावरण राम्रो भयो भने त्यसको फाइदा हामी आफैलाई नै हुने हो, यही भएर हामी साथीहरु क्लबको मिटिङ बस्यौं र मिटिङले विद्यालयलाई प्लाष्टिक मुक्त विद्यालय बनाउनका लागि काम गर्ने निर्णय ग¥र्यौं ।’ क्लबका अध्यक्ष आशिष ढकालले भने ।

विद्यालय मात्रै हैन अव विद्यार्थीले विद्यालय नजिकैको वातावरण सफा गर्ने तिर पनि ध्यान दिदैंछन्, त्यसैले त गेटको आडैमा उनीहरुले सूचना टाँसेका छन् !

प्रकाशित मिति २०७३ साउन २१ गते

प्रतिक्रिया