Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

कृषि पढ्न इजरायल जाने विद्यार्थीलाई प्राविधिक शिक्षा

शुक्रबार, २१ साउन २०७३

काठमाडौं २१ साउन / इजरायलमा कृषि पढ्न जाने नेपाली विद्यार्थीलाई प्राविधिक शिक्षा नेपालमै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । कृषि पढ्न इजरायल जाने विद्यार्थीलाई यसअघि यस्तो प्राविधिक ज्ञान दिने व्यवस्था थिएन । पहिलो पटक प्राविधिक शिक्षा उपलब्ध गराइएको हो ।

साना किसान विकास बैंक, इजरायली दूतावास तथा काठमाडौं विश्वविद्यालयको सहकार्यमा धुलिखेलमा २१ दिनको प्राविधिक शिक्षा प्रदान गरिएको हो । विद्यार्थीलाई कम्प्युटर, इजरायलमा भएको कृषि, सिँचाइ र यन्त्रीकरण, सञ्चार र अंग्रेजी भाषासम्बन्धी तालिम प्रदान गरिएको छ ।

साना किसान सहकारीसँग आबद्ध परिवारका छोराछोरीलाई गोलाप्रथाद्वारा छनोट गरी प्राविधिक शिक्षा उपलब्ध गराइएको हो । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सर्लाही, सल्यान, दाङ, डडेलधुरा, प्युठानलगायत ३४ जिल्लाका प्लस टु उत्तीर्ण गरेर स्नातक पढ्दै गरेका एक सय ३४ जना विद्यार्थीलाई प्रारम्भिक चरणको प्राविधिक शिक्षा उपलब्ध गराइएको हो । प्राविधिक शिक्षामा सहभागी भएका विद्यार्थीले जनही ३० हजार रुपैयाँ खर्च गरेर प्रारम्भिक चरणको शिक्षा प्राप्त गरेका हुन् ।

प्राविधिक शिक्षामा सहभागी सर्लाहीका शम्भु कुशवाहाले इजरायल जानुअघि प्राप्त गर्नुपर्ने प्रारम्भिक शिक्षा प्राप्त गरेको जानकारी दिए । उनले इजरायलबाट कृषि, सिँचाइ, जलवायु परिवर्तन, यन्त्रीकरण, मरुभूमिमा अपनाइने कृषि पद्धतिलगायतका प्राविधिक ज्ञान हासिल गरेर स्वदेशमा व्यवहारमा कार्यान्वयनमा ल्याइने जानकारी दिए । ‘अहिलेसम्म हाम्रो नेपालमा परम्परागत ढंगले खेतीपाती हुँदै आएको छ', उनले भने, ‘इजरायलमा सिकेको कृषिसम्बन्धी आधुनिक कृषि प्रणाली स्वदेशमा कार्यान्वयनमा ल्याएर कृषिमा केही नयाँ गर्ने उत्साह छ ।'

कास्कीका सुमन केसीले नेपालमा बर्सेनि कृषिको बजेटमा वृद्धि भए पनि परम्परागत खेती प्रणाली, सिँचाइ र जग्गा अभाव तथा पहुँचवालाको पहुँचका कारण कृषि क्षेत्रले फड्को मार्न नसकेको बताए । ‘तर इजरायलबाट फर्केर आउँदा कृषिमा आधुनिक प्रविधि भित्र्याएर व्यावसायिक कृषि गर्छु', केसीले भने ।

इजरायलका कार्यवाहक राजदूत नाडाभ सेमेजले इजरायलबाट कृषि प्रविधि पढेर फर्कने युवाको सहयोगमा नेपालमा कृषिमा नौलो इतिहास सुरु हुने बताए । उनका अनुसार इजरायल मरुभूमिको देश भएर पनि कृषिमा क्रान्ति गरेको मुलुक हो । इजरायलमा उत्पादन हुने कृषिजन्य वस्तु अफ्रिका, युरोप, जापान, अमेरिकालगायतका मुलुकमा निर्यात हुन्छ । ‘इजरायलबाट कृषि पढेर आउने विद्यार्थीले पनि वातावरण पाए भने नेपाल पनि कृषिमा निक्कै अगाडि बढ्न सक्छ', उनले भने ।

साना किसान सहकारी संस्थाको सहयोग र इजरायली दूतावासको सहकार्यमा साना किसान विकास बैंकले नेपाली युवालाई बर्सेनि कृषि प्रविधि पढ्न इजरायल पठाउने गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जलन शर्माका अनुसार इजरायल पढ्न जाने विद्यार्थीका लागि पहिलो पटक प्रारम्भिक चरणको प्राविधिक शिक्षा दिने व्यवस्था गरिएको हो ।

प्राविधिक शिक्षा प्राप्त गरिसकेका एक सय ९४ र तेस्रो लटका दुई सय ५६ विद्यार्थीलाई आगामी सेप्टेम्बर इजरायल पठाइनेछ । इजरायलमा उनीहरू कृषिसम्बन्धी १० महिने सैद्धान्तिक र व्यावहारिक शिक्षा प्राप्त गरेर नेपाल फर्कनेछन् । उनीहरूले इजरायल जान करिब एक लाख खर्च गर्नुपर्छ ।

बैंकका मुख्य प्रबन्धक झलेन्द्र भट्टराईका अनुसार इजरायल सरकारको ‘लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत सन् २०१३ देखि नेपाली युवालाई कृषि पढ्न इजरायल पठाउन लागिएको हो ।

इजराइलका आराभा, रामात नेगेभ, किन्नरेट, आस्कलन र सेदोत नेगेभ क्याम्पसमा नेपाली विद्यार्थीलाई अध्यापन गर्ने व्यवस्था मिलाइएको छ । इजरायल पुगेका नेपाली युवाले साताको एक दिन सैद्धान्तिक कक्षा लिने व्यवस्था छ । बाँकी दिन स्थानीय कृषि फर्ममा व्यावहारिक काम गर्ने व्यवस्था छ । उनीहरू नेपाल फर्कंदा कृषि प्रविधिसँगै आठदेखि १५ लाख रुपैयाँ लिएर आउँछन् ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया