Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

शिक्षा मन्त्रालयकै संरक्षणमा विदेशी नागरिकको हालीमुहाली

बुधबार, १९ साउन २०७३


काठमाडौं १९ साउन / शिक्षा मन्त्रालयका अधिकारीहरूको संरक्षणमा राजधानीका तीन विद्यालयमा टर्किस नागरिक कार्यरत रहेको पाइएको छ। विद्यालयका हरेक गतिविधिमा मन्त्रालय, विभाग र शिक्षा कार्यालयका कर्मचारी सहभागी भएर संरक्षण दिने गरेका हुन्।

टर्किस शिक्षकलाई तालिम दिएको कार्यक्रममा मन्त्रालयका सहसचिव र उपसचिवहरू प्रमुख अतिथिसमेत बनेर जाने गरेको तथ्य कान्तिपुरलाई प्राप्त भएको छ। यसबाट बिजनेस भिसामा आएका टर्किस नागरिकले अनुमति बिना स्वयंसेवक शिक्षकका रूपमा काम गर्न शिक्षा मन्त्रालय र मातहतका कार्यालयले नै मौन स्वीकृत दिएको प्रस्ट हुन्छ। ‘विद्यालय निरीक्षकदेखि शिक्षा मन्त्रालयका सहसचिव तह र प्रधानमन्त्री कार्यालयलाई समेत टर्किस नागरिक गैरकानुनी रूपमा काम गरिरहेको थाहा छ,’ विद्यालयका एक शिक्षकले भने, ‘शिक्षा अधिकारीहरू त घण्टौं बसेर गोप्य वार्ता गर्छन्। गलत काम भए पनि उन्मुक्ति दिन्छन्।’

शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्यालले उक्त विद्यालय अनुमति लिएर सञ्चालन भए पनि विदेशी नागरिक राखेर सञ्चालन गर्नुको औचित्य खोजी भइरहेको बताए। ‘सरकारको अनुमति नलिई विदेशीलाई स्वंसेवकका रूपमा समेत राख्न पाइँदैन,’ यसअघि काठमाडौंका शिक्षा अधिकारीसमेत भएका उनले भने, ‘म शिक्षा अधिकारी हुँदादेखि यो विषयमा प्रश्न उठाएको थिएँ। नियमविपरीत काम गर्नेले कारबाहीको भागिदार बन्नुपर्छ।’

सन् २००२ मा बालुवाटारमा टर्किस नागरिकहरूले मेरिडियन विद्यालय खोलेका हुन्। पछिल्लो समय बौद्ध मेरिडियन र मेरिडियन प्रि–प्राइमरी विद्यालयसमेत सञ्चालन गरेका छन्। टोखामा एक सय रोपनी जग्गामा लगानी गरेका छन्। तर, उनीहरूले कागजी रूपमा नेपाली लगानीकर्ता देखाएका छन्। प्रि–प्राइमरीको सञ्चालक भने हलिल सिनार रहेको महानगरपालिकाले दिएको व्यावसायिक प्रमाणपत्रबाट पुष्टि हुन्छ।

यी तीन विद्यालयमा टर्कीबाट बिजनेस भिसामा आएका टर्किसहरू अवैध रूपमा स्वयंसेवक शिक्षकका रूपमा कार्यरत रहेको शिक्षा विभागको अध्ययनले देखाएको छ।

मेरिडियन विद्यालयमा नेपाली नागरिक लगानीकर्ता देखाए पनि भित्री रूपमा टर्किसकै लगानी रहेको प्रस्ट हुन्छ। यो विद्यालय सञ्चालन भएयता तीन जना टर्किस नागरिक प्रिन्सिलप भइसकेका छन्। विद्यालय स्रोतका अनुसार स्थापनाकालदेखि सन् २०१३ सम्म फराद डोग्रोटेकिन प्रिन्सिपल भए। फराद अहिले साउथ सुडानमा कार्यरत छन्। दोस्रो प्रिन्सिपल इब्राहिम टोमाकिन हुन्। एक वर्षमात्रै प्रिन्सिपल भएका उनी अहिले श्रीलंकामा कार्यरत छन्। उनी फर्केपछि डा. मोहमद हारुन जानले प्रिन्सिपलको जिम्मेवारी सम्हालेका हुन्।

उनी यसअघि रसिया र ताजकिस्तानमा काम गरेर नेपाल आएका हुन्। हारुन जान प्रिन्सिपल भए पनि सरकारलाई देखाउन भाइस प्रिन्सिपल प्रभुलाल साह कागजी प्रिन्सिपल बनाइएका छन्। विद्यालय स्रोतका अनुसार साहसहित तीन जना सहप्रधानाध्यापक छन्।

विद्यालयले गत वर्षसम्म ८ कक्षामा टर्किस भाषा पढाउने गरेको थियो। यो वर्षदेखि ९ कक्षामा समेत टर्किस भाषा पढाउन सुरु गरेको छ। स्रोतका अनुसार विद्यालयमा २५ जनासम्म टर्किस शिक्षक आए। ‘शिक्षा विभागले अध्ययन गरेपछि फर्कने क्रम जारी छ,’ एक शिक्षकले भने, ‘उनीहरू गणित, विज्ञान र टर्किस भाषा पढाउँछन्। नेपाल आउने टर्किसहरू सबै मुस्लिम हुन्छन्।’
बालुवाटारको मेरिडियन इन्टरनेसनल स्कुल देखावटी रूपमा नेपाली नागरिक असद मियाँको नाममा छ। ‘टर्किसहरूले कागजी प्रिन्सिपल साहलाई खर्च गर्ने अधिकार पनि दिएका छैनन्,’ एक कर्मचारीले भने, ‘उनी त खासमा विद्यालयका सहायक प्रधानाध्यापक मात्रै हुन्।’

विद्यालयको दैनिक आम्दानी टर्किस प्रिन्सिपललाई बुझाउनुपर्ने नियम छ। ‘विद्यालयको आर्थिक नियन्त्रण टर्किसबाट हुन्छ, आम्दानी र खर्च पारदर्शी छैन,’ स्रोतले भन्यो, ‘विद्यालयको खाता माछापुच्छ्रे बैंकमा छ। दैनिक कारोबार भएको रकम बैंक खातामा जाँदैन। टर्किस प्रिन्सिपलले बुझछन्। प्रिन्सिपल भनिएका साहलाई सय रुपैयाँ खर्च गर्ने अधिकार पनि छैन।’ विद्यालयका तीन जना सहायक प्रधानाध्यापकमध्ये एक जना टर्किस नै छन्।
यो विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई खाना र खाजामा हलाल गरेको मासुमात्रै खुवाइन्छ। ‘यस्तो नगर्नुस् भन्दा विद्यालयले टेर्दैनन्,’ एक अभिभावकले भने।

विद्यालय सञ्चालन गर्न भन्दै विदेशी फाउन्डेसनबाट करोडौं रुपैयाँ अनुदान ल्याउने गरे पनि पारदर्शी नभएको विद्यालयका शिक्षकहरू बताउँछन्। फाउन्डेसनले अन्य देशमा पनि यस्तै विद्यालय सञ्चालन गरिरहेको ती कर्मचारीले बताए। विद्यालयको प्रशासनिक तहमा रहेका टर्किस नागरिकलाई एक देशबाट अर्को देशमा सरुवा गर्छन्। स्वयंसेवक भनिएका शिक्षक र कर्मचारीले विद्यालयबाट तलब बुुझदैनन्। ‘उनीहरूले फाउन्डेशनबाटै तलब बुुुझ्छन्,’ स्रोतले भन्यो।

बालुवाटार आसपासको घर भाडामा लिएर नेपाल टर्किस फाउन्डेशनसमेत सञ्चालन गरिएको छ। यो संस्थाको निर्देशक हलिल सिनार हुन्। उनी तीनवटै विद्यालयको कार्यकारी निर्देशक हुन्। ‘सबै स्कुल सञ्चालन फाउन्डेशनबाट हुन्छ,’ स्रोतले भन्यो, ‘आर्थिक पाटो पनि लेखा शाखाले विद्यालयको टर्किस प्रधानाध्यापकलाई र उसले फेरि फाउन्डेनलाई बुझाउने गर्छन्।’ फाउन्डेसनमा ओल्जाई सिनार, विलाल किलिच र बालुवाटारको मेरिडियनका प्रिन्सिपल हारुन उपनिर्देशक छन्। सिनार बालुवाटारस्थित विकास श्रेष्ठको घरमा बस्दै आएका छन्। श्रेष्ठ विद्यालयका बस इञ्चार्ज हुन्। उनका भिनाजु सागर श्रेष्ठ बौद्ध मेरिडियनका सहायक प्रधानाध्यापक हुन्।

बौद्धको मेरिडियन स्कुल कागजी रूपमा नेपाली नागरिक अब्दुल खालिडको नाममा छ। ‘लगानी टर्किसकै हो,’ स्रोतले भन्यो। एक वर्षअघि खोलेको यो विद्यालय भएको भवनमा यसअघि गार्मेन्ट कारखाना थियो। ३० रोपनी क्षेत्रफलमा रहेको यो विद्यालयको अधिकांश फर्निचर र शैक्षिक सामग्री टर्कीबाटै ल्याइएको हो। ‘नेपालको नाममा यति धेरै अनुदान र फर्निचर ल्याएका छन्। तर, कसरी र कहाँ प्रयोग भइरहेको छ? कसैको वास्ता परेको छैन,’ विद्यालयका एक कर्मचारीले भने।

मकर श्रेष्ठले कान्पिुरमा लेखेको खबर ।

प्रतिक्रिया