Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

कलेज जाँदा बन्दुक बोक्न पाइने !

बुधबार, १९ साउन २०७३

काठमाडौं १९ साउन / ह्युस्टन: संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा कुनै पनि सार्वजनिक विश्वविद्यालयमा विद्यार्थीले बन्दुक बोकेर जान पाउने भएका छन् । 'क्याम्पस क्यारी ल' नामक कानुन सोमबारदेखि लागू भएपछि यस्तो अनुमति मिलेको हो ।

उक्त कानुन सन् २०१५ मा पारित भएको थियो । यस कानुनले २१ वर्ष उमेर भएका विद्यार्थीले बन्दुक लिएर जान पाउने छन् । उनीहरूले सार्वजनिक विश्वविद्यालय एवं विश्वविद्यालयमा ह्यान्ड गन लिएर जान पाउने छन् ।
खेलकुद भइरहेका क्षेत्र र रासायनिक प्रयोगशाला भएका इलाकामा भने उनीहरूले अनुमति पाउने छैनन् । निजी विद्यालय र दुई वर्ष पढाइ हुने सामुदायिक कलेजमा भने दुई वर्षपछि मात्र विद्यार्थीले हतियार लिएर जान पाउने छन् । यो कानुन 'क्लक टावर नरसंहार'को ५० औं वार्षिकीका दिन पारेर लागू गरिएको हो ।

अस्टिनस्थित टेक्सस विश्वविद्यालयमा सन् १९ ६६ अगस्त १ तारिखमा एक विद्यार्थीले ४९ जनामाथि गोली प्रहार गरेका थिए । तीमध्ये १६ जनको मृत्यु भएको थियो ।

इन्जिनियरिङका २५ वर्षीय छात्र चाल्र्स विटमनले विश्वविद्यालय हातामा रहेको क्लक टावरको २८ औं तलामा चढेर त्यहाँबाट विद्यार्थी र कर्मचारीमाथि गोली प्रहार गर्न सुरु गरेका थिए । अमेरिकाका ८ वटा राज्यमा विद्यार्थीहरू बन्दुक लिएर कलेज जान पाउँछन् ।

यसअघि टेक्ससमा सन् १९९५ मा विद्यार्थीले हतियार बोकेर हिँड्न पाउने नियम व्यवस्था गरिएको थियो । त्यसमा उनीहरू फुटपाथ, सडक र पार्किङ क्षेत्रमा मात्र बन्दुक लिएर जान पाउँथे । अमेरिकामा मृत्यु जाने गरी हाल भएका अधिकांश गोलीकाण्ड कलेज परिसरमा हुने गरेका छन् । सन् २००७ मा भर्जिनिया टेक विश्वविद्यालयका एक छात्रले ३३ जनको गोली हानी हत्या गरेका थिए ।

त्यस घटनामा २३ जना गम्भीर घाइते भएका थिए । यसैगरी सन् २००६ मा नर्दर्न इलिनोइस विश्वविद्यालयमा एक पूर्वछात्रले कक्षामा गोली चलाउँदा ५ जनाको हत्या गरेका थिए ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया