Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

एक वर्षमा साढे ३२ हजार विद्यार्थीले लिए नो अब्जेक्सन लेटर

बुधबार, १९ साउन २०७३

काठमाडौं १९ साउन / विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् । जसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ ।

शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन (सिएमएफएस) अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ ।

मुद्रा सटही गर्ने क्रम बढ्यो
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ११ महिनाभन्दा यस वर्ष १२ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले विदेश अध्ययन गर्न जानेहरूका कारण मुद्रा सटही गर्ने क्रम बढिरहेको जानकारी दिए । अघिल्लो एक वर्षमा सटही भएबराबरको रकम यो वर्ष ११ महिनामै सटही भएको छ ।

अस्ट्रेलिया, जापान र अमेरिका प्रमुख गन्तव्य
शिक्षा मन्त्रालयमा गत आर्थिक वर्ष साउन महिनाबाहेकको ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै विद्यार्थीले अस्ट्रेलिया, जापान र अमेरिकालाई प्रमुख गन्तव्य बनाएका छन् । ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । जापानका लागि पाँच हजार चार सय ९१ र अमेरिका अध्ययनका लागि चार हजार सात सय २६ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका छन् ।

कुन महिनामा कति ‘नो अब्जेक्सन लेटर’ ?
सबैभन्दा बढी गत जेठ महिनामा चार हजार सात सय ९८ वटा ‘नो अब्जेक्सन लेटर’ जारी भएको थियो । शिक्षा मन्त्रालयका अनुसार आव ०७२-०७३ को साउन महिनामा दुई हजार नौ सय २१, भदौमा पाँच ८५, असोजमा दुई हजार तीन सय ६०, कात्तिकमा एक हजार तीन सय ९१, मंसिरमा तीन हजार एक सय २५, पुसमा तीन हजार दुई सय १३, माघमा एक हजार नौ सय ८९, फागुनमा तीन हजार पाँच सय ७९, चैतमा दुई हजार दुई सय तीनजनाले ‘नो अब्जेक्सन लेटर’ लगेका थिए । त्यसैगरी, ०७३ वैशाखमा दुई हजार चार सय ५७, जेठमा चार हजार आठ सय ९८ र असारमा तीन हजार सात सय ६७ जनाले मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लगेका छन् ।

भारतमा अध्ययन गर्नेले पनि अनुमति लिन थाले
भारतमा उच्च शिक्षा अध्ययन गर्न जानेहरूले पनि ‘नो अब्जेक्सन लेटर’ लिने क्रम बढ्दो छ । भारतमा अध्ययन गर्न जाने संख्या ठूलो भए पनि अहिलेसम्म ‘नो अब्जेक्सन लेटर’ लिने नगरेका कारण यकिन तथ्यांक आउन सकेको छैन । कुनै महिनामा पाँच सयको हारहारीमा भारतमा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएको पाइएको छ ।

संख्या बर्सेनि बढ्दो
विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या प्रत्येक वर्ष बढ्दो छ । ०६८/०७९    मा १० हजार तीन सय २४ रहेकामा यो संख्या बढ्दै ०६९/०७० मा १६ हजार पाँच सय चार, ०७०/०७१ मा २८ हजार एक सय २६, ०७१/०७२ मा ३० हजार ६ सय ९६ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका थिए । आव ०७२/०७३ मा यो संख्या बढेर साढे ३२ हजार पुगेको छ ।

‘ठूलो संख्यामा विद्यार्थी बाहिरिँदा मुलुकलाई असर’

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल विदेश अध्ययनका लागि जानु नराम्रो नभए पनि ठूलो संख्यामा बाहिरिँदा यसको असर पर्ने बताउँछन् । नेपालका विश्वविद्यालयले हाम्रा विद्यार्थीले चाहेको विषय अफर गर्न नसकेका हुन् वा अरू नै कुनै कारण छ, यस विषयमा अध्ययन गर्नुपर्ने उनले बताए । सुरुमा जापानमा अध्ययन गर्न जानेहरूले जापानिज भाषा सिक्ने गरेका छन् । अस्ट्रेलियामा जाने धेरै विद्यार्थीको विषय म्यानेजमेन्ट भएको र त्यसमा पनि एकाउन्टिङ रहेको छ । अमेरिका जानेको रुचि म्यानेजमेन्ट र इन्जिनियरिङ छ । कतिपय विद्यार्थी वाइन प्रोडक्सनदेखि इभेन्ट प्रोग्राम म्यानेजमेन्ट विषय अध्ययनका लागि जाने गरेका छन् ।

भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर ।

प्रतिक्रिया